Comments Add Comment
शिक्षामा कोरोना कहर–२ :

सामुदायिक विद्यालय : अनलाइन कक्षा छ, पढाइ छैन

६० लाख विद्यार्थीको भविश्य अन्योलमा !

१७ भदौ, काठमाडौं । उपत्यकामा सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले लकडाउन सुरु भएको १० दिनपछि कक्षा ११ र १२ का विद्यार्थीका लागि अनलाइन पढाइ सुरु गर्‍यो ।

७ असारबाट १ कक्षाभन्दा माथि सबैका लागि अनलाइन पढाइ सुरु गरेको विश्व निकेतनमा साना कक्षाहरूमा विद्यार्थी सहभागिता न्यून छ ।

कक्षा १ देखि ३ सम्म १०–१५ प्रतिशत मात्रै विद्यार्थी अनलाइन कक्षामा सहभागी रहेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । ३ हजार ३ विद्यार्थी अध्ययनरत यो विद्यालयमा कक्षा बढ्दै जाँदा विद्यार्थीको उपस्थिति पनि बढ्दै गएको देखिन्छ । कक्षा १० मा ४० र कक्षा १२ मा ७५ प्रतिशत विद्यार्थी सहभागी भएको कँडेलले जानकारी दिए ।

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले पनि कक्षा ८, ९ र १० का लागि अनलाइन पढाइ सञ्चालन गरेको छ । कक्षा १० का ३६ मध्ये १८ देखि २२ विद्यार्थी कक्षामा सहभागी भएको विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा ढकालले जानकारी दिए । विद्यार्थीको सहभागिता हेरेर बाँकी कक्षाका विद्यार्थीका लागि पनि अनलाइन पढाइको व्यवस्था गरिने उनी बताउँछन् ।

हरेक वर्ष उम्दा नतिजा दिन सफल विश्व निकेतन र विजय स्मारकका विद्यार्थीको सहभागिता उदाहरण मात्र हुन् । बाँकी विद्यालयमा विद्यार्थी सहभागिताको अवस्था योभन्दा फरक नभएको सम्वद्धहरू बताउँछन् ।

काठमाडौं उपत्यकाभित्रको उत्कृष्ट सामुदायिक विद्यालयहरू नै यस्तो चुनौतीको सामना गरिरहेका छन् भने देशभरिका बाँकी विद्यालयको अवस्था सहजै अनुमान लगाउन सकिन्छ ।

अभिभावक संघ, नेपालका अध्यक्ष केशव पुरी सामुदायिक विद्यालयका ५ प्रतिशत विद्यार्थी पनि अनलाइन शिक्षाको पहुँचमा नपुगेको बताउँछन् । उनी भन्छन्, ‘सरकारले बेवास्ता गर्दा ६ महिनादेखि अधिकांश विद्यार्थीहरु पढाइबाट बञ्चित छन् ।’

विद्यालयको खाली कक्षाकोठा

८० प्रतिशतसँग छैन ल्यापटप/कम्प्युटर

वर्षेनि उत्कृष्ट नतिजा दिने सामुदायिक विद्यालयमा गनिन्छ, काठमाडौंको डल्लुस्थित गीतामाता माध्यमिक विद्यालय । यो विद्यालयले नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण ‘फेसटु फेस’ पढाइ हुन नसकेपछि  दूरशिक्षा सुरु गर्नुअघि एउटा अनलाइन सर्वेक्षण गर्‍यो, जसमा विद्यालयका २ हजार २ सय विद्यार्थीमध्ये जम्मा ४० प्रतिशत मात्र सहभागी भए ।

सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतसँग ल्यापटप वा कम्प्युटर नभएको पाइएको प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठ बताउँछन् । ‘५ प्रतिशत विद्यार्थी त मोबाइल, टेलिफोन, रेडियो र टेलिभिजनको समेत पहुँचमा नभएको पायौं,’ श्रेष्ठ भन्छन्, ‘सबै विद्यार्थीलाई अनलाइन पढाइमा ल्याउन चुनौतिपूर्ण हुने हाम्रो सर्वेक्षणले देखायो ।’

त्यसै पनि अरु उपाय नभएपछि एप, जुम फेसबुक पेज, ग्रुप, भाइबर र टेलिफोनबाट पढाइलाई निरन्तरता दिएको प्रअ श्रेष्ठ बताउँछन् । ‘महामारीका बेला विद्यार्थीलाई कुनै न कुनै तरिकाले व्यस्त राख्न अत्यावश्यक भएकाले पनि हामीले यो काम थालेका हौं’, उनी भन्छन् ।

अनलाइन कक्षाका चुनौती

ल्यापटप/कम्प्युटर नभएका अधिकांश विद्यार्थीले मोबाइल डाटाबाट इन्टरनेट चलाउँछन् । डाटा लिएर ४०–४० मिनेटका दुईवटा कक्षामा सहभागी हुन १५० देखि २०० रुपैयाँसम्म खर्च हुने गरेको अभिभावकहरू बताउँछन् । यो खर्च धान्न पनि धेरै अभिभावकलाई हम्मे पर्छ ।

एकातिर इन्टरनेट महँगो छ भने सबै विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । विद्यार्थी मात्रै होइन, विद्यालयहरू नै इन्टरनेट र कम्प्युटरको पहुँच बाहिर छन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ को प्रतिवेदनअनुसार देशभरिका ३५ हजार ६०१ विद्यालयमध्ये ८८ प्रतिशतमा कम्प्युटर छैन भने ८७ प्रतिशत विद्यालय इन्टरनेटविहीन छन् । ३४.७ प्रतिशत विद्यालयमा मात्र विद्युत पुगेको छ । १२.४१ प्रतिशतमा कम्प्युटर र १२.६७ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट पुगेको छ ।

पटक–पटक नमुना विद्यालय छनोट हुन सफल विश्व निकेतन माविका प्रअ कँडेल सम्भव भएजति विद्यार्थीलाई दूरशिक्षामा जोड्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘कोरोना कहरका बेला सम्भव भए जति विद्यार्थीलाई केही न केही सिकाउने प्रयत्न गरेका हौं, छुटेका विद्यार्थीलाई पछि स्थिति सहज भएपछि पढाउँछौं ।’

निजीका विद्यार्थी सामुदायिकमा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार, २०७६ सालमा देशभरका विद्यालय तहमा ७५ लाख ५८ हजार ३८८ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये करिब ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन् ।

कोभिड–१९ पछि डल्लुको गीतामाता माविमा ७० जना नयाँ विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् । उनीहरू मध्ये ९० प्रतिशत विद्यार्थी संस्थागत विद्यालयबाट आएको प्रअ श्रेष्ठ बताउँछन् । यसअघि ३० प्रतिशत विद्यार्थी निजी विद्यालयबाट आउने गरेको उनले बताए ।

त्रिपुरेश्वरको विश्वनिकेतन मावि र डिल्लीबजारको विजय स्मारकमा पनि निजीबाट विद्यार्थी आउने क्रम जारी छ । विजय स्मारकका प्रअ ढकाल कोरोनाले गर्दा राजधानीमा रोजरोटी गुमाएका केही अभिभावक काठमाडौं नफर्कने सूचना पाएको बताउँछन् ।

यो पनि पढ्नुहोस बोर्डिङ शिक्षकको पीडा : तलब माग्दा जागिरबाटै निष्कासन

मन्त्रालयको जिम्मेवारी

कोभिड–१९ संक्रमण जारी रहे पनि शैक्षिक सत्र खेर जान नदिन दूरशिक्षामा जोड दिनुको विकल्प छैन । यसका लागि अनलाइन, रेडियो, टेलिभिजन, टेलिफोन आदिबाट पढाउन सकिन्छ ।

आशिंक रुपमा विद्यालय सञ्चालन, अनलाइन–अफलाइन पढाइ, नयाँ मितिमा शैक्षिक सत्र सुरु, पाठ्यक्रमको संक्षेपीकरण जस्ता विकल्पमा जान सकिने विज्ञहरू बताउँछन् ।

यसका लागि शिक्षा मन्त्रालय स्पष्ट खाका बनाउनपर्ने हुन्छ । दूरशिक्षाका लागि आवश्यक साधन स्रोतमा पनि सहयोग गर्नुपर्ने देखिन्छ ।

विजय स्मारक माविका प्रअ ढकाल इन्टरनेट र जनशक्ति प्रशिक्षणमा सरकारको साथ आवश्यक रहेको बताउँछन् । ‘सरकारले प्रत्येक विद्यालयमा इन्टरनेट सुविधा दिनुपर्छ,’ उनी भन्छन्, ‘शिक्षकहरूलाई अनलाइन कक्षा, परीक्षा सञ्चालन, अनलाइनबाट प्राप्ताङ्क अंकन जस्ता विषयमा छोटो तालिम पनि दिनुपर्छ ।’

शिक्षकहरूले इन्टरनेट, ल्यापटप वा स्मार्टफोन नभएका विद्यार्थीलाई साथीकोमा गएर पढ्न सुझाव दिएका छन् । कतिपय विद्यालयले घरबेटीसँग इन्टरनेटको पासवार्ड माग्न पनि सहजीकरण गरेका छन् । तर कोभिड–१९ ले गर्दा विद्यार्थीलाई साथीकहाँ गएर पढ्ने र घरबेटीको सहयोग लिन पनि सहज नभएको शिक्षकहरूको अनुभव छ ।

सरकारले गत आर्थिक वर्षमा शिक्षाका लागि १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो वर्ष कुल बजेटको ११.६४ प्रतिशत अर्थात १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

तर, शिक्षाका लागि विनियोजित बजेट उत्पादनशील क्षेत्रमा खर्च नहुँदा सामुदायिक विद्यालयका विद्यार्थी मर्कामा परेको अर्थविद्हरू बताउँछन् । अर्थविद् डा. विश्व पौडेल सरकारले शिक्षा क्षेत्रको पैसा अनुत्पादक काममा लगाउँदा सामुदायिक विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्न नसकेको बताउँछन् ।

विजयस्मारक माविका प्रअ डिल्लीप्रसाद शर्मा, विश्वनिकेतनका प्रअ हेरम्बराज कँडेल र गीतामाताका प्रअ हरिकृष्ण श्रेष्ठ ।

‘सरकारले आवश्यकताअनुसार विद्यार्थीलाई इन्टरनेट र ल्यापटपको व्यवस्था गर्नुपर्छ, यसका लागि सहुलियतमा ऋणको व्यवस्था गर्न सकिन्छ,’ डा. पौडेल भन्छन्, ‘अति आवश्यक विद्यार्थीका लागि सरकारले ल्यापटपको व्यवस्था गरी दिनुपर्छ ।’

कोदालो र कम्प्युटरलाई जोडौं

विश्व निकेतन माविले लकडाउनपछि सबै अभिभावकलाई टेलिफोन गरेर विद्यार्थीको अवस्थाबारे जानकारी लिएको छ । कक्षा शिक्षकहरूमार्फत तीन–तीनपटक प्रत्येक अभिभावकसँग छलफल गरेको प्रअ कँडेल बताउँछन् ।

‘कोरोनाले गर्दा विद्यार्थीहरू तपाईँ अभिभावकसँगै छन्, यस्तो बेलामा घरमै भान्सामा खाना बनाउने, सरसफाइ गर्ने, करेसाबारीमा काम गर्न सिकाउनुस् भनेका छौं,’ कँडेल भन्छन्, ‘विद्यार्थीलाई हामीले दिएको प्रोजेक्ट वर्कसँगै घरमा ज्ञानगुनका कुरा सिक्नु भनेका छौं ।’

कोभिड–१९ संक्रमित नभएका र विद्यार्थी संख्या न्यून भएका विद्यालयहरू विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने शिक्षाविदहरू बताउँछन् । करिब १५ हजार विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी छन् । दुरशिक्षा सम्भव नहुने स्थानमा सिकाइ केन्द्र बनाएर सुरक्षित तरिकाले सा–सानो समूहमा पढाउन सकिने उनीहरूको सुझाव छ ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला कोरोनाबाट सुरक्षित ठाउँहरुमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताउँछन् । ‘महामारीको बहानामा शैक्षिक सत्र खेर फाल्न पाइँदैन’,  उनी भन्छन्, ‘सरकारले नेतृत्व लिएर मौलिक पढाइमा जोड दिने हो भने कोरोनासँग लड्दै पढाइलाई निरन्तरता दिन सकिन्छ, सक्नुपर्छ ।’

हेर्नुहोस् भिडियो

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment