Comments Add Comment

अश्लील बोल्दै वडाध्यक्षले कर्मचारीलाई दिए खुट्टा काटिदिने धम्की

१७ भदौ, बुटवल । देवदह नगरपालिकाका एकजना वडाअध्यक्षले नगरपालिकाका एक कर्मचारीलाई अपशब्द प्रयोग गर्दै खुट्टा काटिदिने धम्की दिएका छन् । पालिकाका कर्मचारीहरुले ती वडाध्यक्षलाई कारवाहीको माग गर्दै विज्ञप्ति निकालेर कामकाज रोक्ने घोषणा गरेका छन् ।

तत्कालीन नेकपा एमालेका तर्फबाट देवदह नगरपालिका वडा नंं. १२ का अध्यक्ष बनेका बाबुलाल यादवले नगरपालिकाका योजना, प्रशासन तथा अनुगमन शाखा प्रमुख रमेश गिरीलाई तल्लोस्तरको गालीगलौज र खुट्टा काटिदिने धम्की दिएका हुन् ।

आफ्नो वडाको सिक्टहन स्वास्थ्य केन्द्रको प्रमुखमा वरियता मिचेर आफ्नो मान्छेलाई प्रमुख नबनाएकोमा आक्रोश पोख्दै अध्यक्ष यादवले गिरीलाई बुधबार बिहान फोनमार्फत तथानाम गाली गरेको अडियो अनलाइनखबरलाई प्राप्त भएको छ ।

अडियोमा उनले गिरीका कुरा सुन्दै नसुनी छाडा शब्दमा गाली गर्दै ‘हेल्थपोष्टमा आइज, खुट्टा काटिदिन्छु’ भनेका छन् । स्वास्थ्य केन्द्रको प्रमुखमा नियक्ति पाएका व्यक्तिलाई हाजिरी गराएर देखाउन वडाध्यक्ष यादवले चुनौति दिएका छन् ।

स्वास्थ्य केन्द्रको प्रमुखमा छैठौं तहका अधिकृतलाई नियुक्ति गरिएकोमा वडा अध्यक्ष यादवले पाँचौ तहका आफ्नो मान्छेलाई नियुक्त गर्नुपर्ने दवाव दिँदै आएका थिए । त्यसो नभएपछि उनी आफूमाथि खनिएको गिरीले बताए ।

‘स्वास्थ्य केन्द्र प्रमुखको नियुक्ति मैले गर्ने होइन, तर वडाध्यक्षले मैले गरेजस्तो गरी ज्यान लिनेसम्मको धम्की दिएर अपमानित गर्नुभयो,’ गिरीले भने ।

जनप्रतिनिधिहरुले नियमविपरीतका काम गर्न दबाव दिने र त्यसो हुन नसके कर्मचारीमाथि जाइलाग्ने गलत परिपाटी मौलाएको गिरीले बताए ।

कर्मचारीमाथिको गालीगलौज र अंगभङ्ग गरिदिने धम्कीपछि नगरपालिकाका कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवमाथि कानूनी कारवाही नभएसम्म नगरपालिकाको कामकाज ठप्प पार्ने घोषणा गरेका छन् ।

वडाध्यक्ष यादव र नगरपालिकाका प्रमुख हिरा केसीसँग यस विषयमा प्रतिक्रिया लिन पटक-पटक प्रयास गर्दा पनि दुबैजनाले फोन रिसिभ गरेनन् ।

हेर्नहोस् कर्मचारीको विज्ञप्ति –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment