Comments Add Comment

कर्णाली प्रदेशका कानुनमन्त्रीका सुरक्षा गार्डलाई कोरोना संक्रमण

मन्त्री भण्डारी होम आइसोलेसनमा

१८ भदौ, सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका सुरक्षा गार्डसहित मन्त्रालयका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भण्डारीको सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीसहित पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मन्त्रालयका पाँचजनामा संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले जानकारी दिए ।

रोकायका अनुसार दुईजना मन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एकजना सवारी चालक, एकजना मन्त्रालयको गेटमा कार्यरत सुरक्षाकर्मी र एकजना कार्यालय सहयोगी रहेका छन् ।

मन्त्रालयका सुरक्षाकर्मी, सवारी चालक, कार्यालय सहयोगी र कर्मचारीसहित २० जनाको पीसीआर परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सूचना अधिकारी रोकायले बताए ।

कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण पृष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । मन्त्री भण्डारीसहित अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment