Comments Add Comment

पर्सामा प्रहरी कार्यालयबाहिर राहत लिन आउनेको भिड

कोरोना र घामले भन्दा भोकले मरिने भो !

१८ भदौ, वीरगञ्ज । भदौको चर्को घाम, कोरोनाको हट स्पट वीरगञ्ज । बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा जाने बाटोमा मानिसहरुको ठूलो भिड लाग्यो । मानिसहरुले हातमा नागरिकता बोकेका छन्, केहीले नागरिकताको फोटोकपी गराउँदैछन् र निवेदन पनि लेखाउँदैछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले राहत वितरण गर्दैैछ भन्ने हल्ला फैलिएपछि मानिसहरु यहाँ आएका छन् । तर भिड बढी भएपछि प्रहरीले बिहीबार राहत वितरण गरेन । मानिसहरु त्यसै तितरबितर भए ।

१२० दिन लामो लकडाउनपछि जनजीवन सामान्य हुँदै थियो । तर कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढेपछि पर्सामा साउन १० गतेदेखि निरन्तर निषेधाज्ञा छ ।

निषेधाज्ञा सुरु भएको झण्डै डेढ महिनापछि दिन लागिएको राहत लिन आउनेमा अधिकांश महिला थिए । अत्याधिक भिड भएपछि प्रहरीले सम्झाएर हटाउन खोज्दा उनीहरुले मान्दै मानेनन् ।

चर्को घाम छ, कोरोनाको महामारी छ, भिड गर्दा रोग सर्ने जोखिम हुन्छ भनेर प्रहरीले सम्झाउँदा उनीहरुको एउटै जवाफ थियो ‘कोरोना र चर्को घामले हैन भोकले मरिन्छ ।’

कसरी गुजारा गर्ने ?

बारा घर भई वीरगञ्जको रानीघाट बस्ने कैमुद्दिन अन्सारी गाडी चलाउँथे । कोरोना महामारीका कारण उनले ५ महिनादेखि काम गर्न पाएका छैनन् । काम नगरेपछि पैसा आउने कुरै भएन । घरमा पत्नी र १२ महिनाको बच्चा छ । भाडामा बसेका उनलाई साहुलाई भाडा बुझाउने कसरी भन्ने चिन्ता पनि उत्तिकै छ । राशन आइसकेको छ, फारम भरेपछि राहत पाइन्छ भन्ने सुनेपछि उनी भिडमा मिसिए ।

उनले भने ‘२० किलो चामल, ३ किलो दाल, एक किलो नुन बाँडेको छ भन्ने सुनेर आएको थिएँ, तर धेरै भिड भएपछि प्रहरीले रित्तै हात फकाइदियो ।’

श्रीमतीलाई शल्यक्रियामार्फत सुत्केरी गराउँदा लिएको ३० हजार रुपैयाँ ऋणको ब्याज समेत बुझाउन नसकेको अन्सारीले गुनासो गरे ।

साविर हुसैनले घण्टाघरमा ठेलामा चिया बेचेरै भएपनि आत्मनिर्भर जीवन बिताइरहेका थिए, तर अहिले कहाँ राहत बाँडेको छ भनेर खोज्नुपर्ने भएके छ । ‘५ महिनादेखि चिया बेच्न पाएको छैन, आम्दानी नहुँदा कसरी जीवन चलाउने ?’ उनले भने ‘ऋण गरेर खाइरहेको छु, अरुको भरमा कतिदिन चल्छ ?’

वीरगञ्ज महानगरपालिका–११ रानीघाटकी शिला देवीको ७ जनाको परिवार कोठा भाडामा लिएर बसेको छ । अहिले परिवारमा कसैको आम्दानी छैन । त्यसैले उनी चर्को घामको परवाह नगरी आइन् ।

‘छोरा काठमाडौंमा टिकट काट्ने काम गर्थ्यो, लकडाउनपछि गाडी चलेको छैन । हामी ज्यालादारी गरेर गुजारा चलाउँथ्यौं’ उनले भनिन् ‘घरबेटीले एक महिनाको पनि भाडा छुट गरेन । आम्दानी नभएपछि कसरी गुजारा चलाउने ?’

वीरगञ्जमा ईरिक्सा चलाउँदै आएका महम्मद आलमले रिक्सा किन्न बैंकबाट लिएको ४ लाख रुपैयाँ ऋणको मासिक १५ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ । रिक्सा थन्क्याएर राखेको ५ महिना बितिसकेको छ । किस्ता त विस्तारै तिरौंला भन्ने छ तर परिवारको छाक कसरी टार्ने ? थोरै राहत पाएपनि केही दिनका लागि गुजारा टर्छ भनेर उनी पनि भिडमा आइपुगेका छन् ।

‘कर्जा लिएर कति खानु, थोरै राहत पाए पनि केही दिनको छाक टर्छ भनेर आएको थिएँ’ उनले भने ‘राहत होइन झण्डै प्रहरीको लाठी खानुपर्ने अवस्था भयो ।’

राहत दिइएन, नागरिकता संकलन

जिल्ला प्रशासन कार्यालय पर्साले भदौ १२ गते जारी गरेको निषेधाज्ञामा अति गरिब, विपन्न दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गर्ने उल्लेख गरेको थियो ।

त्यसअनुसार चामल, दाल, नुन, तेल, जस्ता खाद्य सामाग्रीको थैली तयार गरी वितरणको प्रबन्ध महानगरपालिकाले मिलाउने भनिएको थियो । तर वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले राहत सामाग्री महानगरपालिकाले उपलब्ध गराए पनि वितरण प्रशासनले गर्नुपर्ने धारणा राखे ।

बिहान राहतका लागि जिल्ला प्रहरी कार्यालय पर्सा तर्फ अघि बढेको भिडलाई प्रहरीले तितर बितर पारिदियो । राहतको आशमा ज्यान जोखिममा राखेर भिडमा उभिएका कतिपय निराश भएर फर्किए । पछि घण्टाघरबाट ४० जनाको नागरिकता संकलन गरियो । नागरिकता दिनुस् परिवारको स्थिति बुझेर राहत प्याकेज घरमा पुर्‍याउँछौ भनेपछि ४० जनाले मात्रै नागरिकता दिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले चुलो नै नबल्ने अवस्थामा पुगेका नागरिकलाई राहत दिन खोजेको बताए ।

‘बाहिरबाट केही समान जुटाएका थियौं, केही समान हामीसँग पनि थियो । सबैलाई मिलाएर अति गरिब चुल्हो नै नबल्ने अवस्था भएकालाई सामाग्री दिन खोजेका हौं’ उनले भने ।

तर राहत वितरण हुँदैछ भन्ने हल्ला चलेछ नियन्त्रण नै गर्न नसक्ने भिड जम्मा भएपछि बिहीबार राहत वितरण नै भएन । ‘घण्टाघरमा केहिको नागरिकता र सम्पर्क नम्बर लिएका छौं । औचित्यता र आवश्यकताको आधारमा वितरण गर्छौ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment