Comments Add Comment

जापानमा एक यात्रुले छक्याउँदा २१२ यात्रु होटेल क्वारेन्टिनमा

खर्च नेपाल एयरलाइन्सले ब्यहोर्नुपर्ने

१८ भदौ, काठमाडौं । बन्द भएको ६ महिनापछि सरकारले केही सीमित गन्तब्यमा मंगलबारबाट व्यवसायिक उडान खोल्यो । त्यसमध्येको एउटा गन्तब्य हो, जापानको नारिता ।

यो गन्तब्यमा बुधबार राति काठमाडौंबाट उडेको जहाजले बिहीबार साँझ २१२ जना यात्रुलाई काठमाडौं ल्यायो । नारिताबाट जहाज चढ्ने बेला प्लेनमा सबै जना पीसीआर परीक्षण गरेका यात्रु मात्र भएकाले सबै जना घर जान पाउनेमा ढुक्क थिए । सरकारी नियम पनि त्यस्तै छ ।

तर, काठमाडौं झरिसकेपछि सेनाले कसैलाई घर जान अनुमति दिएन । कारण थियो, एक यात्रुसँग पीसीआर नभएर आरटीडी मात्र गरिएको रिपोर्ट भेटिनु ।

नेपाली सेनाले नेपाल एयरलाइन्सलाई नियम मिचेको भन्दै होटल खोजेर सबैलाई क्वारिन्टिन गर्न भन्यो ।

ती यात्रु कसरी आरडीटी रिपोर्टका भरमा काठमाडौं ओलिएर भनेर सोधखोज गर्दा विमानस्थलमा गम्भीर जाँच नभएको र यात्रुले पनि आफ्नो रिपोर्ट आरडीटीको भएको नबताएको पाइएको छ ।

कमजोरी कहाँ भयो ?

नियमित उडान बन्द भएको र तत्काल व्यवसायिक उडान सम्भव नभएपछि विदेशमा तलव मात्र खुवाएर कर्मचारी राख्न उपयुक्त नदेखेपछि नेपाल एयरलाइन्सले जापानको नारितास्थित कार्यालयका कर्मचारीलाई काठमाडौं बोलाएको थियो । उनी फर्किर्एका थिएनन् ।

जापानमा नेपाल एयरलाइन्सले बुधबारको उडानको व्यवस्थापन स्थानीय जीएसएलाई दिएको थियो । नारिता विमानस्थलमा २१२ जना यात्रुलाई जहाज चढाउने बेला सबै यात्रुले रिपोर्ट देखाए ।

तर, एक यात्रुले चतुर्‍याइ गरे । ती यात्रुले आरडीटी परिक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र देखाइदिए । जीएसए र विमानस्थलका कर्मचारीले त्यसैलाई पीसीआर सम्भिmएर मान्यता दिए र जहाज चढाइदिए ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ आएका र परीक्षण नै नगरेकाका यात्रुलाई एउटै जहाजमा ल्याउन नपाउने निर्णय गरेको छ । आरडीडी रिपोर्ट बोकेर आएका यात्रुबाट अन्यलाई जोखिम हुने अवस्था मूल्यांकन गरेर सेनालो होटल क्वारिन्टिनमा राख्न निगमलाई भन्यो ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का भन्छिन्, ‘प्रमाणपत्र हेर्दा नेगेटिभ देखेपछि जहाज चढ्न अनुमति दिएजस्तो देखिन्छ, हामीले एजेन्सीलाई विश्वास गर्‍यौं, एजेन्सीले यात्रुलाई ।’

सरकारले एउटै विमानमा सबै यात्रुको पीसीआर आएको भए मात्रै घर जान दिने, नभए होटल क्वारिन्टिमा बस्नुपर्ने निर्णय गरेको छ । पीसीआर गरेका यात्रु र नगरेका यात्रुलाई एउटै विमानमा ल्याउन नपाइने नियम पनि छ ।

तर, एक यात्रु पीसीआर नगराई विमान चढेपछि २१२ जना यात्रु नै काठमाडौंमा होटेल क्वारेन्टिनमा बस्नु परेको छ ।

अब होटलसहित उनीहरुको व्यवस्थापन खर्च एयरलाइन्सको थाप्लोमा आएको छ । ‘महामारीमा सरकारले बनाएको नियम त मान्नै पर्‍यो’, खड्का भन्छिन्, यो घटना हाम्रो लागि दुर्भाग्य भयो ।’

सरकारले आफ्ना नीति र प्रावधानबारे बेलैमा विदेशस्थित नियोगबाट नेपाली रहेका स्थानमा सूचित नगर्दा समेत अलमल र गल्ती हुने गरेको निगमको गुनासो छ ।

‘महामारीको बेला छ, छिनछिनमा निर्णयहरु परिवर्तन हुन्छन्’, नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले भने, ‘तर, यात्रु साविकमा जस्तै सोचेर विमानस्थल आउँछन् ।’

एयरलाईन्सलाई दोहोरो घाटा

लामो समयदेखि व्यापार गर्न नपाएपछि संसारभर एयरलाइन्सहरु घाटामा छन् । अर्कोतर्फ यस्ता घटनाका कारण एयरलाइन्सले समस्या भोग्नुपर्ने अवस्था छ ।

केही दिन अगाडि एयर अरेवियाले पनि यही समस्या भोग्यो । सरकारको निर्णय आउनु अगाडि नै टिकट काटेका यात्रुले सारजहाँबाट आरडिटी नेगेटिभ रिपोर्ट देखाएर काठमाडौं आए ।

उनीहरुलाई विमानस्थलमै रोकिदिएको भए दुई दर्जन नेपाली घर आउन पाउने थिएनन् । जहाज रित्तै उड्नुपर्ने थियो । काठमाडौं ल्याएर अहिले उनीहरुलाई कम्पनीले होटेल क्वारेन्टिनमा राखेको छ ।

यात्रुलाई सास्ती

गत शनिबार सिंगापुरबाट सिल्क एयर चढेर आएका केही यात्रुले ‘नक्कली रिर्पोट’ ल्याएको भन्दै सबै १ सय ८० जना यात्रुलाई विमानस्थलमा खटिएको सेनाले होटेल क्वारेन्टिनमा पठायो ।

तर, अष्ट्रेलियाबाट आएका यात्रुले आफुहरुले आधिकारिक अस्पतालबाटै परीक्षण गरी रिर्पोट ल्याएको भन्दै सक्कली रिर्पोट भएको दावी गरेका थिए ।

एक यात्रुका अनुसार उनीहरुको रिपोर्टमा अस्पतालले ‘पीसीआर नेगेटिभ’ लेखेको थिएन । सिधै ‘कोभिड नेगेटिभ’ लेखेको थियो ।

विमानस्थलमा यात्रुको व्यवस्थापनमा खटिएको नेपाली सेनाले पीसीआर नलेखेको रिर्पोट नक्कली भएको भन्दै उनीहरुलाई होटेल क्वारेन्टिनमा पठाएको थियो । तर, पछि एयरलाइन्सबाट पीसीआर सक्कली भएको प्रमाणित गरी चौथो दिनमा घर पठाइएको छ ।

नियमित उडान खोल्ने निर्णय गर्दा सरकारको प्रवक्ता अर्थ, सूचना तथा संचार मन्त्री युवराज खतिवडाले विदेशबाट आउने सबै नागरिक अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन् ।

त्यसको दुई दिनपछि पर्यटनमन्त्री योगेश भट्टराईले पीसीआर नेगेटिभ भएका यात्रु सिधै घर जान पाउने तर एउटै जहाजमा परीक्षण भएका र नभएका यात्रु ल्याउन नपाउने विषय सार्वजनिक गरेका थिए । सोहीकारण अहिले यात्रुले जसरी पनि पीसीआर रिपोर्ट बनाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment