Comments Add Comment

तथ्यांकमा सीमित हुँदैछ संक्रमितको मृत्यु

देशमा कोरोनाको कारणले मानिस मर्ने ग्राफ उकालो चढ्दैछ । शुरूमा को मर्‍यो, कहाँ मर्यो, कसरी मर्‍यो भनेर खोजिनीति गरिन्थ्यो । तर, दिनदिनै मान्छे मर्न थालेपछि सर्वसाधारणको ध्यान जान छोडेको छ ।

मानिसको आचरण नै यस्तै हो । पहिले महत्त्व दिइन्छ । तर, त्यो घटना दिनदिनै हुन थालेपछि दिनचर्याजस्तै बन्न पुग्छ । बिडम्बना, कोरोनाको कारणले मर्ने मानिस पनि अब त्यही दिनचर्याको ओझेलमा परेका छन् ।

सरकारले अहिले कसरी मानिसको ज्यान जोगाउनेभन्दा पनि आज यतिजनाको निधन भयो, यतिजना नयाँ बिरामी थपिए भनेर तथ्याङ्क सुनाउनुबाहेक अरू केही काम गरेको अनुभूति हुन सकेको छैन ।

कोरोना रोकथाममा सरकारका सबैजसो प्रयास असफल भइसकेका छन् । विदेशको स्थितिलाई देखाएर सरकारलाई आफ्नो अकर्मण्यताको ढाकछोप गर्ने बलियो बहाना मिलेको छ । त्यसै पनि कुनै ठूला र उपलब्धिमूलक काम गर्न नसकेको सरकारलाई कोरोनाको कहर काम नगर्ने गतिलो बहाना मिलेको छ । कहिले लकडाउन भन्यो त कहिले निषेधाज्ञा, अनि आरामले बस्नको लािग आफू अनुकूलको वातावरण सृजना गर्ने काम भएको छ ।

कोरोनाको संक्रमणले मर्नेहरू एकातिर छन् भने संक्रमण नभएपनि कोरोनाकै कारणले गर्दा अन्य विभिन्न रोग र अवस्थाले ज्यान गुमाउनेको तथ्याङ्क झन् भयावह छ ।

सरकार त्यतातिर पुरै मौन छ । कोरोना बाहेकका मृत्यु सरकारका दैनिक तथ्याङ्कमा पनि नआइकनै हराउँछन् । लकडाउनले गर्दा काम नपाएर, खान नपाएर भोकै मर्नेहरू, अन्य ठूला बिरामी भएका तर कोरोनाको कारणले समयमा अस्पताल जान नपाउँदा या अस्पतालले भर्ना गर्न नमानेर उपचार नपाएर मर्नेहरूको अवस्था जटिल छ । कोरोनाको कारणले आर्थिक अवस्था धराशायी भई उदासिनतामा पुगेर आत्महत्या गरी मर्नेहरूको स्थिति झन् कहालीलाग्दो छ ।

तर यी सबै स्थितिलाई सुधार्नेतर्फ सरकार पुरै उदासिन देखिन्छ । सुरुसुरुमा अलिकति क्रियाशीलजस्तो देखिए पनि सरकार अहिले निष्क्रियजस्तै बनेर सबै कुरा समयको बहावलाई नै छोडिदिएको प्रतित हुन्छ । कोरोनाका कारणले डायलाइसिस गर्न नपाएर मर्ने मृगौलाका बिरामीको प्रधानमन्त्रीलाई के वास्ता ? उनी त दुई-दुई पटक मृगौला फेरर आरामसँग कुर्सीमा आसीन छन् ।

सत्तामा बसेकाहरू र आफ्नो र परिवारको जीवनयापनको लागि हरेकदिन काम गर्न नपर्नेहरूलाई कोरोनाले छुन सक्दैन । कुनै असावधानी या लापरवाहीले गर्दा उनीहरूलाई कोरोना लागिहाले पनि उनीहरूलाई राम्रो र सुविधासम्पन्न अस्पतालमा सबैभन्दा सक्षम चिकित्सकले सरकारी खर्चमा उपचार गर्छन् । त्यसैले हाम्रो सरकार र राजनैतिक दलका नेताहरूका लागि कोरोना श्राप हैन आशिर्वाद बनेको छ ।

धेरै देशले कोरोनालाई सफलतापूर्वक नियन्त्रण र व्यवस्थापन गर्न सकेका छन् भने नेपालले गर्न नसक्नै कुरै छैन । खालि यसको लागि इच्छाशक्ति हुनुपर्छ, आँट गर्नुपर्छ

कोरोनाकै कारणले गर्दा उनीहरूले केही काम नगरी घरै बसेर आराम गर्ने मौका पाएका छन् । न तलब सुविधा कटौति हुन्छ न त जनताले दोष लगाउन नै पाउँछन्, त्योभन्दा राम्रो के हुन सक्छ र ? अर्को चुनाव आउन थाल्यो भने फेरि एकपटक चर्का राष्ट्रवादका नारा लगाई जनतालाई असम्भव सपना देखाए पुग्छ । अन्धभक्त कार्यकर्ता र सोझा जनताको आँखामा छारो हाल्यो फेरि सत्तामा बाँडिचुँडी हालिमुहाली गर्यो ।

हामी सबैले देखिसकेका छौं, कोरोनालाई न त लकडाउनले रोक्यो न त निषेधाज्ञाले रोकेको छ । खोप पत्ता नलाग्दासम्म कोरोना अब कसैले रोकेर रोकिने छाँटकाँट देखिँदैन । अहिले हामीले गर्न सक्ने भनेको यसलाई कसरी कम गर्ने, कसरी व्यवस्थित गर्ने अनि देश र जनतालाई सामान्य जीवनमा कसरी फर्काउने भन्नेमात्र हो । यसको लागि जनस्तरमा चेतना, आवश्यक परिक्षण, सर्वसुलभ अस्पताल र निःशुल्क उपचारबाहेक अरू केही उपाय छैन ।

सरकारमात्र हैन सबै राजनैतिक दलका नेताहरूको रवैयापन उस्तै छ । काठमाडौं बसेर पद र सत्ताका लागि तिकडम गर्नमै उनीहरू व्यस्त छन् । उनीहरूलाई जनताको स्वास्थ्य र जनधनको मतलब छैन । जनता उनीहरूलाई काम लाग्ने पनि हैनन् । चुनावमा जनतासामू जानुपर्छ भन्ने मान्यतालाई पनि अहिलेको सत्ताधारी दलको पदलोलुप खेलले लोकतन्त्रको उपहास गर्दै मिथ्या सावित गर्न लागेको छ । जनताले चुनावमा हराए पनि मन्त्री बन्न उनीहरूलाई कसैले रोक्न सक्दैन भन्ने सन्देश दिन उनीहरू उद्दत छन्।

तर सरकार र राजनैतिक दलले चाहे भने कोरोना नियन्त्रण गर्न नसकिने हैन । अरू धेरै देशहरूले कोरोनालाई सफलतापूर्वक नियन्त्रण र व्यवस्थापन गर्न सकेका छन् भने नेपालले गर्न नसक्नै कुरै छैन । खालि यसका लागि इच्छाशक्ति हुनुपर्छ र आँट गर्नुपर्छ । यदि साँच्चै जनताको लागि काम गर्ने हो भने सबै राजनितिक दलले आफ्ना लाखौं कार्यकर्तालाई परिचालान गरेर जनतामा सचेतना जगाउने, आवश्यक स्वास्थ्य सेवा टोल-टोलमा पुर्याउने काम गर्नुपर्छ ।

अन्य रोगका बिरामीलाई परामर्श दिने, उनीहरूलाई सहज रूपमा अस्पताल पुर्याउन सहयोग गर्ने, खान नपाएकाहरूलाई खानपानको व्यवस्था गर्ने काम कार्यकर्ताले स्वयंसेवकको रुपमा गर्नुपर्छ । जनतामाझ आफ्नो शक्ति देखाउन, भ्रष्ट्राचार गरेर अकुत सम्पत्ति कामाउन मात्र सहायक हुने कार्यकर्ताको कुनै काम छैन ।

मृत्युको पीडा आफूलाई नपर्दासम्म कसैलाई थाहा हुँदैन । मृत्य एक तथ्याङ्कमात्र देख्नेहरूले जानुन् कि, आफ्नो परिवारमा मृत्यु पर्दा कति पीडा हुन्छ ! मृत्युअगाडि सबै आशाहरू निराशामा बदलिन्छन्, जीवनको मूल्य देखिँदैन, समय स्तब्ध हुन्छ, मध्यदिनको चम्किलो पनि चकमन्न लाग्छ । संसार प्रलय हुन लागेजस्तो हुन्छ । मुटु दुख्छ, गला अवरुद्ध हुन्छन्, श्वास रोकिन्छ । आँखाबाट अनायासै आँशु छचल्किन थाल्छ । जीवन व्यर्थ लाग्न थाल्छ, पीडा हुन्छ, रोदन हुन्छ, आफ्नो प्रिय पात्रलाई अब कहिले पनि भेट्न नपाइने, उसले बोलेको सुन्न नपाइने, उसले हाँसेको देख्न नपाइने कल्पनाले सताउँछ । त्यो क्षण भयभित हुन्छ, निर्दयी हुन्छ । हो, त्यस्तै हुन्छ जब आफ्ना प्रियजनको निधन हुन्छ ।

तर, सत्तामा बस्नेहरूलाई थाहा हुँदैन मृत्युको पीडा कस्तो हुन्छ भनेर ? सायद मान्छे मारेर सत्तामा पुगेकोले उनीहरूलाई जनताको मृत्यु सामान्य लाग्दो हो । सायद उनीहरूका सबभन्दा पि्रय पात्रहरूले अझै मृत्यवरण गर्न नपरेकोले उनीहरूलाई त्यसको अनुभूति हुन नसकेकोले होला, तर जब आफ्नो निकै प्रियपात्र मृत्युको मुखमा पुग्छ अनि त्यो पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।

कोरोनाको कारणले मात्र हैन, जुनसुकै कारणले होस् मृत्यु आखिर मृत्यु नै हो । कोरोनाको कारणले भएको मृत्यु भनेर सरकारले यसमा आफ्नो उत्तरदायित्व देखेको छैन तर के कोरोनाको मृत्यमा सरकारको उत्तरदायित्व छैन ? के सरकारको यसलाई कम गर्ने कर्तव्य छैन ? कोरोनाका कारणले उदासिनतामा फसेकालाई परामर्श दिने र उनीहरूलाई मृत्यबाट बचाउने सरकारको दायित्व हैन ? लकडाउनले गर्दा खान नपाएकालाई खानपानको व्यवस्था गर्ने सरकारको काम हैन ? समयमा उपचार नपाएर अन्य रोगका बिरामी अकालमै मर्नुमा सरकारको दोष छैन ?

हैन भने सरकार र नेताहरूले मृत्यलाई अङ्गालेर हेर्न सक्नुपर्छ । यो कति निर्दयी छ, कति भयावह छ, कति पीडादायी छ अनि नेतृत्वलाई थाहा हुन्छ । आफ्नो मान्छे गुमाउनु भनेको के हो भन्ने आफैंलाई परेपछि थाहा हुन्छ । काठमाडौंका सबै सुविधासम्पन्न सरकारी महलमा बसेर हरेक दिन कति मान्छे मरे, कति थपिए भनेर समाचार सुनाउने मात्र नेतृत्वको काम हैन ।

यति आम मानिसको भावना नबुझेर खालि तथ्याङ्कसँग मात्र खेल्न थालियो भने ढिलोचाँडो मृत्यु हामीसम्म आइपुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment