Comments Add Comment

समीक्षा- खोज्दै हिँड्दा आफैंलाई !

के तपाईंले आफूलाई कहिल्यै खोज्ने प्रयास गर्नुभएको छ ? अर्थात् आफैंसँग निमग्न भएर आफ्नो अस्तित्वको खोजी गर्नुभएको छ ? सुरूमै भन्छु, म समीक्षाको तुलो लिएर निमेषको कविता जोख्न गइरहेको छैन । बरू म त मनमा लागेका पाठकीय हलचलका कुरामात्रै भन्न गइरहेकी छु ।

निमेषराज सापकोटाको कवितासंग्रह ‘खोज्दै हिँड्दा आफैँलाई’ पढेपछि आफूलाई खोज्ने प्रयासमा छु । निमेषका कविता पढ्दा तिर्खाएको व्यक्तिले पानी पाएजस्तो महसुस गरेको छु । धेरै पढिने, धेरै लेखिने तर चर्चा नगरिने विधा कविता हो । कविताबाट बग्दैबग्दै अनुभूतिको महासागरमा पुगेको महसुस गर्ने धेरै छन् । तर कविता आफैँमा महासागर हो । एउटा सिंगो उपन्यासले बताउन नसकेको कुरा एउटा सानो कविताले बताइदिन सक्छ ।

‘खोज्दै हिँड्दा आफैंलाई’ संग्रहमा यस्ता धेरै कविता पाइनेछ जसले तपाईंलाई बालककालदेखि बुढ्यौलीसम्मको यात्रा गर्न बाध्य बनाउँछ ।

तिमीले त बिर्सी पनि सक्यौ होला

म भने सम्झिरहन्छु अझै पनि

कति मसिना कुराहरूले दुखेको थियो हाम्रो मन

र कति मसिना कुराहरूले

अलग बनाएको थियो हामीलाई ।

‘मसिना कुराहरू’ भन्ने शीर्षकको कवितामा कविले मसिना कुराहरूलाई गरिएको वेवास्तालाई अक्षरहरूमार्फत उनेका छन् । रंगहरू, स्वादहरू बदलिरहने जिन्दगीको क्षणभंगुरतालाई प्रेम गर्ने व्यक्तिलाई यो कविता विशेष मनपर्छ भन्ने मेरो दाबी छ ।

सिमाना पौडेल

म त्यसैले त मौन छु अघिदेखि

जिन्दगीलाई जति तर्साए पनि

जति धम्काए पनि

जति लोभ्याए पनि

कुनै बहानामा अडिएन

मरेर कहिल्यै नफर्किएका

कैयौं अनुहारहरूजस्तो…।

यो संग्रहको एउटा मात्रै कविताले तपाईंलाई छोयो भने तपाईंले जिन्दगीको क्षणभंगुरतालाई बुझिहाल्नुहुन्छ । उनको प्रत्येक कवितामा जिन्दगीको सुख, आनन्द आफैँभित्र बाहेक अन्त कतै छैन भन्ने भेटिन्छ । आफैँलाई खोज्दै हिडेका कविले कवितामा

आफूलाई सुन्दर तरिकाले उतारेका छन् ।

उनी कवितामा कतै हराएजस्ता लाग्न सक्छ । कतै उनी एक्लै फतफताइरहेझैँ लाग्न सक्छ । उनी कहिले उपदेश दिइरहेका झैँ लाग्न सक्छ । कहिले बुढेसकालका हजुरबुवाको कथाहरू ध्यानस्थ मुद्रामा सुनिरहेजस्तो लाग्न सक्छ । समग्रमा कवितामा बाल्यकालदेखि युवावस्थाका उतारचढावहरू र आफूलाई भेट्नको लागि यात्रारत मनुष्यको कविता लाग्न सक्छ ।

तपाईंले जे सोचेर कविता पढ्नुहुन्छ, उस्तै स्वरूपमा भेट्नुहुन्छ । कविताको कुनै आकार हुँदैन । ठ्याक्कै यही बुझ्नुपर्छ भन्ने हुँदैन । तपाईंलाई एकछिन एकथोक लाग्न सक्छ, अर्को मनस्थितिमा अर्को । आशावादी खोज्नेले आशाको दियो बलिरहेको देख्न सक्छ भने निराशाको स्थितिको मान्छेले जिन्दगीको दियो निभ्न लागेको देख्न सक्छ । यो कविता संग्रहमा भएका कविताका विशेषताहरू यिनै हुन् । कवितासँग गाँसिएका अनुभुतिहरू पोख्न पाउँदा मलाई मीठो खानेकुरा बाँडेर खाएको महसुस भइरहेको छ ।

‘डर’ भन्ने कवितामा कविले बुवाले आफूप्रति गरेको अविश्वास र प्रेम पोखेका छन् । प्रेम गरिरहेकाहरूलाई कविताभरि प्रेमले नुहाइदिन्छन् । बिछोडिएकाहरूले पढे भने राहतको सास फेर्छन् । म यो कुरा ढुक्कले भन्न सक्छु ।

कवि सुमन पोख्रेलले भन्नुभएको थियो, ‘कविता आफैंमा राम्रो, नराम्रो हुन्न । मन पर्ने र मन नपर्ने हुन्छ ।’

हो कुनै कविताहरू पट्यारलाग्दा पनि छन् । आफैंमा लामा र जिन्दगीका सबै रहस्य बोकेर उकालो चढिरहेजस्ता ।

एउटै कवितामा सबैथोक भरेर कविले आफूलाई हलुका पार्ने प्रयास गरेका छन् । तिनै कविता पढ्दा पाठकलाई भने भारी गह्रुङ्गो लाग्न सक्छ । तर भारी गहु्रङ्गो हुँदैमा मिल्काइहाल्न पाए भन्ने खालको हुँदैन । जिन्दगीका अर्थहरू खोज्दै हिँड्नेहरूलाई कविताले केही हदसम्म रहस्य बताउन सक्छन् । तर, तपाईंले कवितामार्फत आफैँलाई खोज्नुपर्नेछ, तब मात्र कतै न कतै आफैँलाई पाउनुहुन्छ ।

एक ठाउँ यी कविले आफूलाई यसरी परिभाषित गरेका छन्  :

म बन्दै छु,

भत्कँदै छु..

बन्दै छु..

स्पष्ट र स्थिर भएको दिन घाटमा हुनेछु ।

आफूले बाँचिआएको समाजसँग पनि उनको कविताले विद्रोह गरेको छ । उनले ढाँचामा चलिरहेको समाजलाई प्रश्न गरेका छन् । सोच्छु- कवि निमेषराज सापकोटाले कवितामार्फत आफैँलाई भेटे कि भेटेनन् ? तर पढ्नेहरूले भने आफूलाई र बाँचिआएको समाज भेट्नेछन् ।

राम्रो कुरा सधैँ बाँड्नुपर्छ भन्ने लागिरहन्छ । ‘कविताहरू पढेर सुन्दर लाग्यो भने मलाई पनि सेयर गर्नुहोला’, अक्सर साथीहरूलाई म भनिरहेको हुन्छु ।

मान्छेसँग कसैसँग दुखका भारी हुन्छन् । कसैसँग दुःखका भकारी हुन्छन् । दुःखका भारी हुनेहरू आफ्नै थाप्लोमा दुखका भारीहरू बोकेर हिँडिरहन्छन् । दुखको भकारी हुनेहरू भकारी रुँगेर बस्छन् । कवि निमेषराज सापकोटा आफ्नो दुखको भारी बोकेर हिँडिरहेका छन् र कतै बिसाएर स्वतन्त्र हुने विश्वासमा यात्रारत छन् । कवितामार्फत हामीले उनका दुःखका भारीहरू कति भारी छन् भन्ने पनि थाहा पाउँछौ ।

समग्रमा भन्नुपर्दा, आत्मसमीक्षा गर्नको लागि र आफैंलाई खोतल्नको लागि यो कवितासंग्रहले तपाईंलाई अवश्य नै झक्झकाउँनेछ । वृद्धावस्थाको तस्विर देखाएर तर्साउनेछ । संसार छाड्नुपर्दाको छटपटी देखाउनेछ । सुन्दर ‘सर्ट मुभी’जस्तै मनमोहक छन् निमेषका कविता, जसले म र मजस्तै कविताप्रेमीलाई सहजै छुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment