Comments Add Comment

रुसको खोपको शुरुवाती परीक्षणको नतिजा सकारात्मक

१९ भदौ, काठमाडौं । रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ ।

मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणमा खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्वरो आउनेजस्ता सामान्य साइड इफेक्ट मात्र देखिएको थियो ।

शोधकर्ताहरुले प्रतिरक्षा प्रणालीको अर्को महत्वपूर्ण पक्ष टी सेल्सको बारेमा पनि अध्ययन गरेका थिए । २८ दिनमा मानिसको शरीरमा टी सेल्सले पनि कोरोना भाइरसविरुद्ध काम गर्न शुरु गरेको अध्ययनमा पाइएको थियो ।

क्लिनिकल परीक्षणको शुरुवाती दुई चरणले खोपको सकारात्मक संकेत मात्र दिने तर यसको वास्तविक परीक्षा तेस्रो चरणको परीक्षणमा हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् । यसअघि नै रुसले आफ्नो ‘स्पुतनिक भी’ विश्वको पहिलो कोरोना खोप भएको घोषणा गरिसकेको छ ।

यद्यपि वैज्ञानिकहरुले भने आवश्यकताभन्दा छिटो खोपको घोषणा गर्नु घातक हुने भन्दै खोपको सुरक्षामाथि आशंका व्यक्त गर्दै आएका छन् ।

स्रोत : सीएनएन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment