Comments Add Comment

कोरोनाको कारण ब्लड बैंकमा रगत अभाव : ‘रगत नपाए भक्तपुर आउनु’

भक्तपुरले कसरी बढायो निषेधाज्ञामा रगतको संकलन ?

पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो रक्तदान कार्यक्रमहरू अत्यन्त न्यून हुन थालेको छ । पहिले विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव समारोहमा रक्तदान गराउने गर्थे, रेडक्रस सोसाइटीले पनि समयसमयमा रक्तदान कार्यक्रम गराउने गथ्र्याे । तर अहिले यी सबै कार्यक्रम बन्द रहँदा कस्तो होला रगतको माग र संकलनको अवस्था ?

कोभिडको महामारीका बीच पनि सुत्केरी हुने संख्या कम भएको छैन, रगत परिवर्तन गरेर नै आफ्नो प्राण धानिरहेका डायलासिस गराउनुपर्ने विभिन्न रोगका बिरामीहरूले डायलासिस गराइरहेका छन् । तर रक्तदान गर्न चाहनेहरू पनि निषेधाज्ञा र लकडाउनका कारण बाहिर जान नसकेपछि यतिबेला बजारमा रक्तसंकलन कार्य सुस्त भएको छ ।

अस्पतालबाटै कोरोना भाइरसको संक्रमण हुन सक्ने सम्भावनाका कारण सामान्य स्वास्थ्य समस्याको उपचार गर्न आउने बिरामीको संख्यामा कमी आएको छ, सडक दुर्घटना जस्ता रगतको धेरै आवश्यक पर्ने समस्या पनि लकडाउनकै कारण कम छ । जसले गर्दा पहिलेको तुलनामा रगतको माग पनि कम छ । तर रगत संकलन अति कम भएकोले अहिले विभिन्न सहरहरूमा रगतको अभाव देखिएको रेडक्रस सोसाइटिले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीले झण्डै एक साताअघि देशभरका विभिन्न सहरहरूमा रगतको अभाव रहेको बताएको थियो । सो समाचारपछि सहरी भेगमा रगत संकलनमा केही सकारात्मक प्रयास भएको सोसाइटिले जनाएको छ । जसका कारण अहिले भक्तपुर, चितवन, पोखरा जस्ता सहरी भेगमा त्यो समस्या अहिलेलाई टरेर गएको छ ।

सोसाइटीका प्रवक्ता दिव्यराज पौडेलका अनुसार रगतको अभाव भएपछि नियमित रक्तदान गर्ने रक्तदाताहरूले यसमा इच्छा देखाएको खण्डमा मोबाइल भ्यान लिएर गएर सम्बन्धित ठाउँबाट नै रगत संकलन गरेर ल्याउने वा सो व्यक्तिलाई रक्तसंकलन केन्द्रमा नै ल्याएर रक्तदान गर्नेसम्मको काम गर्ने गरिएको जानकारी दिए । रगत संकलनको क्रममा कोरोनाबाट बच्नको लागि नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गर्ने गरिएको समेत उनले बताए ।

उनका अनुसार अहिले भक्तपुरमा रगतको कुनै समस्या छैन । ग्रामीण भेगबाट समेत संकलन गरेपछि भक्तपुरले ‘रगत नपाए भक्तपुर आउनु’ भन्ने अभियान पनि सञ्चालनमा ल्याएको छ । भक्तपुरको तुलनामा ललितपुर र काठमाडौंमा भने माग बमोजिम रगत संकलन हुन सकेको छैन ।

सुत्केरी र नियमित डायलासिस गर्नुपर्ने बिरामीहरूलाई रगत बढी आवश्यक पर्ने गरेकोभन्दै पौडेलले अहिलेको अवस्थामा देशभर दैनिक ४०० युनिट रगतको माग रहेको बताए । यसअघि दैनिक ११ सय युनिट रगतको माग हुँदा एक हजार युनिट हाराहारी मात्रै संकलन हुने गरेको थियो भने बाँकी बिरामीले आफन्त या अरू कसैसँग मागेर चलाउने गर्थे ।

सोसाइटीका अनुसार अहिले वीरगञ्ज, धरान, धनगढी, विराटनगर जस्ता सहरी भेगमा रगतको अभाव छ । यी क्षेत्रमा रगतको माग पूरा गर्न रक्तदान कार्यक्रम बढाउनुको विकल्प नरहेको उनले बताए । त्यसको लागि स्थानीय प्रशासनले पनि सहयोग गरिदिनु पर्ने रेडक्रस सोसाइटीले जनाएको छ ।

अहिले धनगढीमा दैनिक ३० युनिट रगतको माग हुने गरेको छ भने १० युनिटमात्रै संकलन हुने गरेको छ । त्यस्तै, सबैभन्दा धेरै सुत्केरीको लागि रगत आवश्यक पर्ने वीरगञ्जमा दैनिक ५० युनिट रगतको माग छ । त्यहाँ दैनिक २० युनिट मात्रै रगत संकलन हुने गर्छ ।

अहिले कुन रक्त समूहको रगत धेरै आवश्यक छ भन्ने विषयमा भने भन्न सक्ने अवस्था नरहेको पौडेलले जानकारी दिए । उनका अनुसार अहिले सबैभन्दा धेरै रगत सुत्केरीको लागि र त्यसपछि नियमित डायलासिस गर्ने बिरामी र हेमोफेलिया जस्ता समस्याको लागि रगत आवश्यक पर्ने रेडक्रस सोसाइटिले जनाएको छ ।

भक्तपुरले कसरी बढायो निषेधाज्ञामा रगतको संकलन ?

लकडाउन या निषेधाज्ञानमा रगत संकलन कार्यलाई कसरी चुस्त बनाउने भन्नेमा नमुना बनेको छ भक्तपुर रेडक्रस सोसाइटी । सोसाइटीका सभापति मनोजकुमार थापाका अनुसार जिल्ला शाखामा मात्रै अहिले १००० युनिटको हाराहारीमा रगत मौज्दात छ ।

एक साताअघिसम्म रगतको अभाव रहेको भक्तपुरले कसरी रक्तसंकलन कार्यलाई चुस्त बनायो त ? शाखाका सभापति थापा भन्छन् ‘हामीसँग विभिन्न संघसंस्थाको समेत गरेर झण्डै साढे ४ सय जनाको नामावली छ, जो नियमित रक्तदान गर्नेगर्छन् । उनीहरूमध्ये ठाउँ अनुसार एउटै ठाउँका रक्तदाताहरूलाई फोन गरेर उनीहरूकै टोलमा गएर रक्तदान गर्ने गरिएको छ । अहिले पनि दैनिक २ ठाउँमा रक्तदान गर्ने गरिएको सोसाइटीले जनाएको छ ।

थापाका अनुसार रक्तदान गर्ने ठाउँमा ६ फिटको दुरीमा रक्तदाताहरूलाई लाइनमा राखिन्छ । त्यसमध्ये रक्तदान गर्ने ठाउँमा प्रत्येक ५ जनाले एकैपटकमा रक्तदान गर्न सक्ने व्यवस्था मिलाइएको हुन्छ । रक्तदान कार्यमा खटिएका रेडक्रसका प्रतिनिधिहरूलाई पीपीईको व्यवस्था गरिएको हुन्छ भने रक्तदान गर्न आउन चाहनेलाई यातायातको समस्या भएमा उनीहरूलाई रेडक्रसको जिल्ला शाखाको गाडीले समेत ल्याउने लैजाने गर्ने गरेको थापाले बताए । उनले देशभरका शाखाले यसरी सुरक्षित ढंगले रगत संकलन गर्न सक्ने सुझाव समेत दिए ।

उनका अनुसार शुक्रबारदेखि भक्तपुर शाखाले कोरोना संक्रमण भएर मुक्त भएकाहरूको रगत संकलन गरेर प्लाज्माथेरापीको लागि प्लाज्मा संकलन समेत सुरु गरेको बताएका छन् । अब आफ्नो रक्तसमूहको प्लाज्मा आवश्यक परेको खण्डमा समेत भक्तपुर रेडक्रस सोसाइटीमा सम्पर्क गर्न सकिने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment