Comments Add Comment

विनास निम्त्याउने विकास

सामाजिक सञ्जालमा भाइरल भएको दैलेखको महाबु गाउँपालिका-४ गीता चौरमा निर्माण गरिएको सडक ।

यो बर्ष बाढी पहिरोका घटना मिडिया तथा सामाजिक सञ्जालमा दरदर्ती छाए । यस्ता प्राकृतिक विपत नेपालका लागि नौलो होइन । पूर्खाहरू यसका भुक्तभोगी थिए । यो प्रविधियुक्त परिवेश र भुमण्डलीकरणको युगमा हामी पनि यसबाट जोगिन सकेका छैनौं ।

पहाडी इलाकामा निर्माणाधीन तथा निर्मित सडकले बाढिपहिरोको जोखिमलाई प्रवर्द्धन गरेको देखिन्छ । बाटोघाटो विकासको माध्यम हुन् । बिडम्बना ! यी सडकहरूले विकासभन्दा पहिला विनाश भित्र्याउँदै गरेको हिजोआजका घटनाले दर्शाउँछ ।

विकासभन्दा महत्वपूर्ण कुरा सुरक्षित जीवन हो । जनताका ज्यान भलले बगाएर, माटोले पुरेर ल्याइएको विकास कसैलाई मान्य छैन । वन्यजन्तुका बासस्थान र मानव घरबारलाई जोखिममा पारेर गरिएको विकास कदापि दिगो हुन सक्दैन ।

विकास भनेर अवैज्ञानीक तरिकाले हतार-हतार सडक बनाउनु अज्ञानता हो । सडक मार्गको कारणले भविश्यमा गाउँलेहरूले सुखभोग गर्न पाउलान्, तर भावी सन्ततिलाई सुख दिलाउने नाममा वर्तमान पिँढीले सास्ती खेप्न पटक्कै हुन्न ।

हाम्रा सडकहरू के कति कारणले बाढीपहिरोका कारक बनेका छन् ? समाधानको उपाय के हुनसक्छन् ? यि बिषयमा संक्षिप्त टिप्पणी गर्नु यस लेखको प्रमुख आशय हो ।

बाढीपहिरोको मुल कारक अविरल वर्षा नै हो । डाँडापाखाका प्राकृतिक संरचना खस्कनु, भत्किनु पहिरोका स्वरुप हुन् । जलमार्गमा बहाव बढ्दा र अवरोध पैदा हुदा बाढी बिनाशकारी बन्छ । सडकहरूले कसरी पहिरोलाई निम्त्याउन सक्छन् भनेर बुझ्नुभन्दा पहिला पहाडी जलाधार क्षेत्रमा बर्षेझरी कसरी संचार हुन्छ, त्यो बुझन जरुरी देखिन्छ ।

मनसुनको प्रारम्भिक दिनहरूमा वर्षाको पानी सिधैं जमिनले सोस्छ । यसरी सिँचन भएको पानीले भूमिगत जलभण्डारको भरण गर्छ वा भूमिगत दरार भएर नजिकैको खोलानालामा मूल फुटाउँछ ।

जलाधार इलाका वनजङल र घाँसे मैदानले ढाकिएको छ भने वर्षाको पानी, खोलानालासम्म पुग्न पाउँदैन । वनस्पतिका पात, हाँगा र जराका सन्जालले पानीलाई अड्काउँछ । त्यसैगरी वास्पीकरण भएर पानी वायुमण्डलमा उत्सर्जन हुन्छ ।

प्रकाश संश्लेषणद्वारा वनस्पतिले खाना बनाउन पनि पानी प्रयोग हुन्छ । यस्तो प्राकृतिक प्रकृयाले वर्षातको पानीको निश्चित परिमाणलाई स्वतः विलीन गराइदिन्छ । यस्ता विविध कारणले मनसुन सुरुभएको निश्चित अवधिसम्म जमिनको सतहमा पानी नबग्न सक्छ ।

वर्षाको निरन्तरतासँगैं पानीले पूर्ण रुपमा भिजेको कपासको डल्लो जस्तो जमिन पूर्णतः संत्रिप्त बन्छ । अर्थात् जमिनले पानी ग्रहण गर्न सक्ने क्षमतामा ह्रास आउँछ । परिणाम्, जमिनको सतहमा पानी बग्न थाल्छ । भिरालो जमिनमा पानी गतिशील भएर तलतिर बग्दै गर्दा जब यसले खनिएको बाटो भेट्छ, तब बाढी पहिरो निम्त्याउने सम्भावना बढ्छ ।

प्रायः सुख्खा याममा पहाडका फेदीदेखि थाप्लासम्मै डोजरले दुई-तीन मिटर चौडा सडक खनिएको हुन्छ । त्यसैगरी भित्तातिर चार-पाँच मिटर कोपरिएका हुन्छ । भित्ता खन्दा माथि उल्लेखित दरार उदाङ्गति बन्न सक्छन् । त्यस्ता ठाउँमा माटो, बालुवा, ढुङ्गालाई खुकुलो पारेर छाडिन्छ । जब वर्षात निरन्तर हुन थाल्छ, खुकुलो भित्ताहरू बग्न थाल्छन् ।

भेलको घनत्व सङ्ग्लो पानीको भन्दा अधीक हुन्छ । भेलको घनत्वमा बृद्वसंगै गुरुत्वबल बढ्छ । भेल जती तलतिर बग्दै जान्छ, त्यसको गतिमा तीब्रता आउँछ । ढिलो कुदेको भन्दा रफ्तारमा कुदेको गाडीको शक्ति धेरै भएजस्तै तीब्र गतिले ओरालो बगेको भेलमा शक्ति थपिदै जान्छ । त्यस्तो शक्तिशाली भेलले भेटे जति संरचनाहरुलाई ध्वस्त पार्दै पहिरोको रुप लिन्छ । र, मानवीय धनजनको क्षति हुन्छ ।

यसरी सडकको कारणले जानसक्ने पहिरोलाई कसरी न्युन गर्ने त ? सडक खनेर मनसुन आउन अघिनै पिच गरिहाल्नु पर्छ । सडक खनेर पिच नगर्नु भनेको घर बनाएर छत ढलान नगरी राख्नु जस्तै हो । धुले सडकमा तुरुन्तै अलकत्र बिच्छ्याउँदा छुरिले चिरेको मानिसको छातीमा मलमपट्टी बाँधे जस्तै हुन्छ ।

एस्काभेटरले खोस्रेर छाडेको बाटोमा ढलनिकास गरिएको हुँदैन । तसर्थ पिचको साथसाथै भेल तर्काउने नाली पनि खनि हाल्नपर्छ । यसका लागि इन्जिनियर र जलविद्सँग परामर्श गर्न पर्छ । जलविदले वर्षातको प्रगाढताको आधारमा पानीको परीमाण र गतीको आँकलन गर्छन् ।

त्यसैगरी इन्जिनियरले उपयुक्त निर्माण सामग्री प्रयोग गर्दै चाहिने आकार प्रकारको ढल, नजिकैको खोलानालातिर सुरक्षित तरिकाले निस्कासन हुनेगरी बिछ्याउँछन् । सडक खनेर यस्ता अतिरिक्त संरचनाको ब्यवस्था नगर्नु भनेको घर बनाएर भान्साकोठा र पाइखाना नबनाउनु जस्तै हो ।

घर बनाउँदा सर्बप्रथम इन्जिनियरद्वारा नक्सा कोरिन्छ । अनी डकर्मि, सिकर्मी , ईलेक्टि्रसिएन, प्लम्बर लगायतका प्राविधिक जुटाएर जग, भित्ता र छत बनाएर प्लास्टर, रङरोगन तथा बिजुली-पानी जडान गरिन्छ । सडक निर्माणमा पनि यस्तै होसियारी र विधि अत्यावश्यक हुन्छ ।

यद्यपि, अहिलेको बाढिपहिरो संकट सडक खनाइ कै कारणले मात्र हो भनेर भन्न मिल्दैन । जलवायु परिवर्तनले गर्दा पनि यो प्रकोप बढेको हुन सक्छ । जलवायु परिवर्तनको प्रभावले वर्षाको आकार-प्रकारमा धेरै परिवर्तन आएको छ । छोटो समयावधी भित्र मुसलधारे वर्षा हुन थालेको छ ।

एक महिनामा पर्न पर्ने औसत वर्षा हिजोआज दुइचार दिनमै हुन थालेको छ । कहिलेकाही लामो अवधी सम्म सम्पूर्ण जलाधार क्षेत्रमा निरन्तर वर्षा भैरहन सक्छ । एकदुई बर्ग माइल क्षेत्रमा सघन वर्षाद हुन सक्छ । यसरी वर्षामा देखिने अनियमितता जलवायु परिवर्तनद्वारा सिर्जित प्रभावका उदाहरण हुन् ।

२०७२ को विनासकारी भुकम्प र तत्पश्चातका परकम्पनले भुगर्भमा परेको असर सबैमा बिदितै छ । यसपटक बाढिपहिरोमा संख्यात्मक वृद्वि र अत्यधिक छतीमा त्यो भुकम्प पनि कारक भएको अढ्कल काट्न सजिलै सकिन्छ । पहाडको आवरणमा नदेखिए पनि भित्र भुकम्पले पारिदिएका भङ्गाला र चिराहरू कति हुँदा हुन् कति ।

सडक सिर्जित पहिरोको जोखिमलाई कानुनी तरिकाले पनि न्युन गर्न सकिन्छ । बालुवा, माटो, ढुङ्गायुक्त भेल पैदा भएपछि पहिरो जान्छ । निर्माण कम्पनीले यस्ता भेल उत्पन्न हुन नदिने तौरतरिका अपनाएकै हुनपर्ने वातावरणीय कानुनी व्यबस्था गरेर कडा अनुगमन गर्न नसकिने होइन ।

सडक निर्माण प्रकृयामा केही राम्रा कार्य पनि भएको देखिन्छ । सामाजिक-आर्थिक क्षेत्रमा पर्ने नकारात्मक असर न्यून गर्न ग्रामीण विकासविज्ञलाई नियुक्त गरेको पाइन्छ । पर्यावरणमा पर्ने सम्भावित असरबारे पनि योजनामा उल्लेख भएको देखिन्छ । तर, कार्यान्यन पक्ष अति नै फितलो छ ।

सडक निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन घर बनाउन तयार पारिएको नक्सा जस्तै हो । एक किलोमिटर सडक खन्दा पनि वातावरणीय मूल्याङ्कन तयार पारेर मात्र योजना अगाडि बढाईयो भने विकासका कारण सिर्जना हुने बाढीपहिरो न्युन गर्न सकिन्छ । अन्यथा यसबाट पाइने सास्ती बर्षैपिच्छे बढेर जानेछ । यो सालझै सडकले विकास होइन, विनास निम्त्याइरहने छ ।

(हितान बेलायतको वातावरण मन्त्रालयमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment