Comments Add Comment

संक्रमण शून्यमा झार्न सफल रंगेली

२२ भदौ, विराटनगर । साउन पहिलो साता लकडाउन हटेसँगै मोरङमा कोरोना भाइरसको संक्रमण बढ्यो । विराटनगर महानगरपालिका सबैभन्दा धेरै प्रभावित भयो ।

साउन १९ गते रंगेली नगरपालिकामा पनि एकै पटक २२ जनामा कोरोना संक्रमण पुष्टि भयो । समुदाय स्तरमा संक्रमण फैलिएको संकेत देखिनासाथ नगरपालिकाले रंगेली बजार सिल गर्‍यो, परीक्षणलाई तीब्रता  दियो र, एक महिनामा नगरपालिकामा नयाँ संक्रमितको संख्या शून्यमा झार्न सफल भएको छ ।

मेयर दिलीप बगडिया

भदौ २१ मा एक जना पनि संक्रमित थपिएनन् । नगरपालिकाका जम्मा १२५ जना संक्रमित भएका छन् र तीमध्ये एक जनाको मृत्यु भएको छ, २ जना आइसोलेसनमा छन् भने १२२ जना डिस्चार्ज भइसकेका छन् ।

समुदायमा संक्रमण कसरी रोकियो त ? मेयर दिलीप बगडियाले भने ‘एकै पटक २२ जनामा संक्रमण देखिएपछि सुरुमा अतालियौं । तर तत्काल रंगेली बजार क्षेत्र सिल गरेर संक्रमितलाई आइसोलेसनमा राख्यौं र कन्ट्याक्ट ट्रेसिङमा जुट्यौं ।’

उनका अनुसार १९ साउनमा बजार क्षेत्रका एकै परिवारका १४ सहित २२ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३२ जनामा संक्रमण देखिएको थियो ।

उनीहरुलाई राख्ने आइसोलेसन थिएन । प्रदेश सरकारको आइसोलेसन खाली नभएपछि नगरपालिकाले आफ्नै आइसोलेसन बनायो । ‘प्रदेश सरकारले गोठगाउँमा बनाएको आइसोलेसन देखेपछि हामी पनि चलाउन सक्छौं भन्ने लाग्यो’ मेयर बगडिया भन्छन्, ‘सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग सल्लाह गरेर जनता क्याम्पसको क्वारेन्टिनलाई आइसोलेसन बनायौं ।’ प्रदेश सरकारले १५ लाख बजेट दियो, त्यसले बेड खरिद गरेपछि संक्रमितलाई समुदायबाट अलग गर्न सफल भएको मेयर बगडियाले बताए ।

सिल गरिएको क्षेत्रमा परीक्षण बढाइयो । नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डल भन्छन्, ‘पोजेटिभ देखिएका व्यक्तिलाई छुट्टै राखेकाले समुदायमा फैलन पाएन, परीक्षण व्यापक भएकाले संक्रमण नियन्त्रणमा आयो ।’

तर अहिले पनि ढुक्क भएर बस्ने अवस्था भने नभएको मेयर बगडियाले बताए । ‘संक्रमण नियन्त्रण भयो, अब देखिदैन भन्न सकिन्न’ उनले भने, ‘संक्रमण देखिएको स्थानमा सिल गरेर परीक्षण गर्छाैं, समुदायमा संक्रमण हुन दिदैनौं ।’

संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएको क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाइएका छ । सर्वसाधारण पनि सचेत भएका छन् । ‘गाउँमा नयाँ मान्छे आएको छ भने जानकारी आइहाल्छ’ बगडियाले भने, ‘पीसीआर गरेर मात्र घर पठाउछौं ।’

नगरपालिकामा ५२ हजार जनसंख्या छ । नगरपालिकाले २१८६ जनाको पीसीआर टेष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment