Comments Add Comment

अनुशासित हुन बैंकलाई गभर्नरकाे आग्रह

२३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) लाई अनुशासित भएर काम गर्न आग्रह गरेका छन् । मंगलबार ‘क’, ख’ र ‘ग’ वर्गका सीईओहरुसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् ।

उनले तरलतासँग नआत्तिन आग्रह गरे । राष्ट्र बैंकले मंगलबार नै जारी गर्ने एकिकृत निर्देशनका विषयमा छलफल गर्न बैंकका सीईओहरुसँग गभर्नर अधिकारीले जुम मिटिङ डाकेका थिए । छलफलमा बाणिज्य बैंकहरु मात्रै होइन विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागिता थियो । अधिकांश बैंकका सीईओहरु आफै सहभागी थिए भने कतिपयका डेपुटी सीईओहरु थिए ।

छलफलमा सबैलाई बोल्न समय भने दिइएन । ‘क’ वर्गका बैंकहरुको तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल, ‘ख’ वर्गका बैंकहरुका तर्फबाट डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकाल र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुको तर्फबाट वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले आफ्नो धारणा राखेका थिए ।

सबैले औंल्याएको प्रमुख समस्या कोभिडका कारण उत्पन्न परिस्थिति नै थियो । कर्जा लगानी ठप्प हुँदा निकै समस्यामा परेको उनीहरुले सुनाए । तरलता धेरै थुप्रिएको विषयमा सीईओहरुले गभर्नरलाई अब के गरौं भनेर सोधेका थिए ।

‘आज आउने एकिकृत निर्देशनले बैंकलाई पनि केही सहजता प्रदान गर्नुपर्ने अध्यक्षज्यूहरुको धारणा थियो,’ विकास बैंकका एक सीईओले भने, ‘बैंकहरु पनि बच्नु पर्छ, आफूले बचेर नै अरुलाई बचाउनु पर्छ भन्ने तीनै जना अध्यक्षको भनाई थियो ।’

तीनै जना सीईओहरुले एक प्रकारको बैंकको मात्रै नभई समग्र बैंक तथा वित्तीय संस्थाकै हित हुनु पर्ने किसिमको सुझाव दिएको उनले बताए । छलफलमा वित्त कम्पनी संघका अध्यक्ष तुलाधरले पनि फाइनान्स कम्पनीको मात्रै नभएर समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा फस्न दिन नहुने धारणा राखेका थिए ।

सीईओहरुको कुरा सुनिसकेपछि गभर्नर अधिकारीले तरलताको विषयलाई लिएर धेरै चिन्ता गर्न नहुने बताए । यस्तो महामारीका बेला तरलता अभाव हुनुभन्दा पर्याप्त भएकै राम्रो हुने उनको धारणा थियो ।

‘अहिले अधिक तरलता नभएको भएन झन गाह्रो हुने थियो’ अधिकारीले भने, ‘आत्तिनु पर्दैन, यसको समाधान चाँडै हुन्छ ।’ गभर्नर अधिकारीले अनुशासित भएर काम गर्न बैंकहरुलाई निर्देशन दिए । बैंक–बैंकबीच अस्वस्थ प्रतिस्पर्धा नगरी सौहार्दपूर्ण र अनुशासित व्यवहार हुनुपर्नेमा उनको जोड थियो ।

बैंक–बैंकबीच ऋणी तानातानको विषयमा बाहिर चर्चा भएपछि गभर्नर सीईओहरुसँग रिसाउछन् कि भन्ने आशंका पनि थियो । तर, उनी नरमरुपमै प्रस्तुत भएको अर्का सीईओ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment