Comments Add Comment

६ महिनादेखि थन्किएका जहाज स्याहार्नै सकस

१ असोजबाट उडान नखुले कर्मचारी कटौती गरिने

२४ भदौ, काठमाडौं । सरकारले ११ चैतबाट देशव्यापी लकडाउन शुरु गर्‍यो । लामो दूरीका यातायात र हवाई सेवा यसै दिनबाट बन्द भए । त्यसयता ६ महिना बितिसकेको छ ।

यतिञ्जेलसम्म आफ्नो सवारीसाधन थन्क्याएर राख्दा थोत्रिएर ठूलो नोक्सानी भएको यातायात व्यवसायीहरुले बताइरहेका छन् । त्यसो भए, आकाशमा उड्ने जहाजको अवस्था के छ त ? वायुसेवा सञ्चालक संघ नेपाल -आयोन)का महासचिव तथा समिट एयरका प्रवन्ध निर्देशक मनोज कार्कीका अनुसार हवाईजहाजलाई बस तथा ट्रकलाई जसरी लामो समय यत्तिकै थन्क्याएर राख्न मिल्दैन ।

हरेक एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणको कानूनको अधिनमा रहनुपर्छ । त्यसमाथि उनीहरुलाई अन्तराष्ट्रिय नियामक निकायबाट पनि निगरानी भइरहेको हुन्छ । त्यसकारण वायुयानको साइकल अनुसार निश्चित समयमा जहाज उडे पनि वा नउडे पनि मर्मत सम्भार नियमित गर्नैपर्छ ।

वायुयानका हरेक पार्टपूर्जाको निश्चित आयु हुने कार्की बताउँछन् । वायुयानको आयुलाई उडान समयका आधारमा मापन गरिन्छ । तर, नउडे पनि निश्चित अवधि पुगेपछि पार्टपूर्जाको आयु सकिन्छ । त्यसबेला पनि अनिवार्य मर्मत गर्नुपर्छ ।

‘त्यसकारण जहाज नउड्दा पार्टपूर्जा सुरक्षित नै छन् भनेर ढुक्कले बस्ने अवस्था हुन्न,’ उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नियमित मर्मत-सम्भार वा पाइलटको लाइसेन्स नविकरण लगायतमा आवश्यक समय पुरा गर्न कतिपय कम्पनीले लकडाउनकै बीचमा पनि उडान गरेका छन् । यस्तो बेला यात्रु नबोकी उडानको अनुमति दिने गरिएको छ ।

यसबाहेक बेला बेला आउने चार्टर्ड उडानका माध्यमबाट पनि वायुसेवा कम्पनीले आफ्ना जहाजहरुलाई उडानयोग्य अवस्थामा राखिरहेका छन् । यो बीचमा हेलिकेाप्टर कम्पनीहरुले तुलनात्मक रुपमा बढी उड्ने अवसर पाएका छन् ।

पीर कर्मचारीको

जहाजलाई जेनतेन उडानयोग्य अवस्थामै राखेका वायुसेवा संचालकहरुलाई कर्मचारीको चिन्ता भने बढ्दै गएको छ । ६ महिनासम्म कम्पनीको आम्दानी नगण्य छ । तर, कर्मचारीलाई चटक्क छाड्न पनि मिल्दैन ।

कम्पनीहरु अब भने कर्मचारी कटौतीको बाध्यकारी अवस्थामा पुगिसकेको एक व्यवसायीले बताए ।

‘सरकारका मान्छेले कर्मचारीलाई के गरी पाल्नु भएको छ भनेर एक दिन पनि सोधेनन्, उडान कहिले खोल्ने हो भन्ने पनि स्पष्ट योजना छैन, अब कति दिन टिक्ने ?’ उनले भने ।

उनका अनुसार १ असोजबाट पनि उडान खुल्ने वातावरण नभए धेरै कम्पनी कर्मचारी कटौती थाल्ने तयारीमा छन् । आजसम्म ऋणधन गरेरै कर्मचारी टिकाइएको उनले बताए ।

अन्यौल दशैंका यात्रुमा 

यो बेला दशैंमा घर जाने यात्रुले अगि्रम बुकिङका लागि तछाडमछाड गर्ने समय हो । तर, यो वर्ष दशैं के हुन्छ भन्नेबारे अझै अन्यौल छ । त्यसले दशैंमा हुने सम्भावित उडानमा पनि असर परेको छ ।

महासचिव कार्की भन्छन्, ‘संसारमा एक मात्र देश नेपाल हो, जहाँ आन्तरिक उडान प्रतिवन्ध छ । धेरै देशले आन्तरिक उडानको अनुभव हेरेर अन्तर्राष्ट्रिय उडान खुलाएका हुन् ।’

उनका अनुसार उडान प्रतिवन्ध १ असोजसम्म सारेपनि त्यही दिनमा खुल्ने निश्चित नभएका कारण अहिले पनि कम्पनीहरुले टिकट काट्न सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment