Comments Add Comment

तिलोत्तमा औद्योगिक ग्राम निर्माण शुरु

२५ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा भौतिक पुर्वाधार निर्माण शुरु भएको छ ।

नगरपालिकाको वडा नं. १० सग्रहवामा रोहिणी नदी उकासको झण्डै १९ बिघा क्षेत्रफलमा बन्ने औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भैसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य पूरा हुने नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

पहिलो चरणको निर्माणका लागि १ करोड ९५ लाखमा ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने पहुंच मार्ग, पुल, प्रवेशद्वार, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन् । डीपीआर अनुसार रोहिणी नदी डाइभर्सनको काम समेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन ५२ करोड लागत अनुमान गरिएको छ ।

औद्योगिक ग्रामको शिलान्यास गर्दै नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने बताए । औद्योगिक ग्राममा अत्यन्त कम प्रदुषण गर्ने कम्तीमा ५३ वटा साना तथा घरेलु उद्योगहरु स्थापना हुनेछन् ।

औद्योगिक ग्राम स्थापनापछि स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरु स्थापना भई स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने नगरपालिकाकी उप–प्रमुख जागेश्वरदेवी चौधरीले बताइन् । वडाध्यक्ष व्यासमुन थारुले अतिक्रमण हुनबाट जोगाएर राखेको सार्वजनिक जमिनमा औद्योगिक ग्राम स्थापनाले स्थानीयबासी खुशी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment