Comments Add Comment

अस्पतालले भर्ना नलिएपछि उपचारको माया मारेर गाउँ फर्काइए वृद्ध

२५ भदौ, विराटनगर । रक्तचाप बढेर एक्कासी बेहोस भएका खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–६ का ८१ वर्षीय वृद्ध डिगबहादुर राईलाई आफन्तले उपचारका लागि विराटनगर ल्याए ।

१९ भदौ साँझमा दिक्तेलबाट एम्बुलेन्समा हिँडेका उनीहरु राति करिब साढे ११ बजे विराटनगर आइपुगे । उपचार पाउने आसमा आएका डिगबहादुरको त्यसपछि सुरु भयो अस्पतालको चक्कर ।

आफन्तका अनुसार राईलाई पाँचवटा अस्पताल लगियो । तर कुनैमा पनि भर्ना हुन पाएनन् । भर्ना नभएपछि विराटनगर महानगरपालिका– ११ मा रहेका आफन्तको घरमा राखे । घरबाट आफन्त बिके चाम्लिङ राईले पाँच दिनसम्म अस्पताल भर्ना गराउने प्रयास गरे । तर भर्ना हुन नपाएपछि अवस्था बिग्रदै गयो । अचेत अवस्थामा नै राईलाई बुधबार बेलुका हेलिकप्टर चार्टर गरेर घर फर्काइयो ।

अस्पतालमा भर्ना गराउन नसकेपछि बुधबार बेलुका घर फर्काइएको चाम्लिङले बताए । ‘पाँचवटा अस्पतालले भर्ना गर्न मानेनन्, घरमै राखेर उपचार गर्ने प्रयास ग¥यौं’ उनले भने ‘बेहोस हुनुहुन्थ्यो, होस खुलेन्, अवस्था गम्भीर भएपछि हेली खोजेर घर पठायौं ।’ एम्बुलेन्समा घर लैजान गाह्रो हुने भएकाले हेलिकप्टर मगाएको उनले बताए ।

१९ भदौमा दिक्तेलबाट चिकित्सकले रेफर गरिदिएपछि वृद्धलाई भतिज धनकुमार राईले एम्बुलेन्समा राखेर विराटनगर ल्याएका थिए । राति करिब १२ बजे मोरङ सहकारी अस्पताल पुगे । तर अस्पतालले भेन्टिलेटर आवश्यक पर्ने भन्दै भर्ना गर्न मानेन ।

त्यसपछि विराट नर्सिङहोम, गोल्डेन अस्पताल, ग्रिनक्रस अस्पताल, म्याक्स अस्पताल र सप्तकोशी अस्पताल पुर्‍याए पनि भर्ना पाएनन् । ग्रिनक्रसने पीसीआर जाँचको रिपोर्ट माग्यो । अन्य अस्पताल पीसीआर जाँच नगरेको र भेण्टिलेटर खाली छैन भन्दै पन्छिए ।

राति १२ बजेदेखि विहान करिब ४ बजेसम्म अस्पताल घुमाउँदा भर्ना नलिएपछि आफन्तकामा राखिएको थियो ।

त्यसपछि अस्पताल भर्ना हुन पाउने आशमा पाँच दिनसम्म विराटनगरमै राखिएको चाम्लिङले बताए । ‘उपचार गराउन पाइन्छ भन्ने आश थियो । तर उपचार नपाउँदा स्वास्थ्य अवस्था खराब भयो’ उनले भने, ‘माया मार्ने अवस्थामा पुगेपछि आफ्नै पहाडघरमा पुर्‍यायौं ।’

बिरामीलाई गाउँ फर्काउने हेलिकप्टर झिकाउन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पहल गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment