Comments Add Comment

प्लाज्माथेरापीको लागि ७ ठाउँबाट रगत संकलन, कहाँ कति भयो जम्मा ?

नेपाल रेडक्रस सोसाइटीको संयोजनमा देशका विभिन्न स्थानमा धमाधम प्लाज्माथेरापीका लागि रगत संकलन कार्य सुरु भएको छ ।

सोसाइटीको संलग्नतामा अहिले देशका ७ ठाउँबाट कोभिड संक्रमितको उपचार सहयोगार्थ प्लाज्माथेरापीको लागि रगत संकलन सुरु गरिएको नेपाल रेडक्रस सोसाइटीका प्रवक्ता दिव्यराज पौडेलले जानकारी दिए ।

झण्डै एक सातादेखि भक्तपुर जिल्ला रेडक्रस सोसाइटीको संयोजनमा चलिरहेको रक्त संकलन कार्य बुधबारदेखि रेडक्रसको केन्द्रीय कार्यालयबाट समेत सुरु भएको प्रवक्ता पौडेलले अनलाइनखबरलाई जानकारी दिए । बुधबार ३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्माथेरापीका लागि रगत दिएका थिए ।

अहिले देशभर सात ठाउँबाट रक्तसंकलन कार्य सुरु गरिएको छ । यो रगत संकलन गरेर राख्ने नभई माग अनुसार मात्रै रक्त संकलन गर्न सुरु गरिएको हो ।

पौडेलका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुरोध बमोजिम विभिन्न संस्थासँगको सहकार्यमा रेडक्रसले यो सेवा सुरु गरेको हो ।

त्यसको लागि बुधबार नै नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एसोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता सम्पन्न भएको छ ।

सम्झौता बमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्यागलगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा प्लाज्मा बैङ्कको स्थापना गर्ने भएको छ । त्यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९ संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरूसँग समन्वयकारी भूमिका खेल्ने भएको छ । रेडक्रसका अनुसार रक्तदान गर्ने कोभिड निको भएका व्यक्तिलाई रेडक्रसले सम्मानपत्र समेत वितरण गर्ने बताइएको छ ।

पौडेलका अनुसार स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेको रक्तसञ्चार सेवाले प्लाज्माथेरापीको लागि रक्तसंकलन सुरु गरिसकेका छन् । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने निर्देशक पौडेलले जानकारी दिए ।

हालसम्म प्लाज्माथेरापीका लागि सुनसरीमा ६ पिन्ट रगत संकलन गरेकोमा चारजना कोभिडका बिरामीलाई सो प्लाज्मा उपलव्ध गराइसकिएको पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

त्यस्तै, कैलालीमा ६ जनाले रक्तदान गरेकोमा एक जनामा सो रगत चढाइएको छ, चितवनमा चार पिन्ट रगत संकलन गरेकोमा दुई पिन्ट बिरामीलाई चढाइएको छ ।

भक्तपुरमा कोभिड निको भएका तीन जनाले रक्तदान गरेकोमा तीन पिन्ट नै बिरामीलाई चढाइएको छ । भक्तपुरले सुरुदेखि नै त्यस्ता रक्तदाताले चाहेमा उनीहरूको घरमा नै गएर रक्तसंकलन गर्ने गरेको छ । नेपालगञ्जमा चार पिन्ट रगत संकलन गरिएको छ जुन भेरी अस्पतालका दुई जना बिरामी र कोहलपुरका एक बिरामीलाई रगत उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment