Comments Add Comment

सिरहा कारागारका १७ महिला कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

दुई आश्रित बालबालिकामा पनि संक्रमण

२६ भदौ, जनकपुरधाम । सिरहा कारागारका थप १७ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका निमित्त प्रमुख बविता कुमारी महतोका अनुसार शुक्रबार आएको नतिजा अनुसार १७ जना महिला कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार दुई जना आश्रित बालबालिकामा पनि संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार कारागारमा रहेका १८ जना महिला कैदीबन्दी मध्ये १ महिलाको रिपोर्ट मात्रै नेगेटिभ आएको छ ।

यसअघि यस कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको थियो । बुधबार आएको रिपोर्टमा ५९ जना कैदीबन्दीमा एकैसाथ कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्दै परीक्षण गराउन थालिएको छ ।

१ सय ५० जना कैदी बन्दी राख्ने क्षमता भएको यो कारागारमा अहिले ५ सय ९६ जना कैदी बन्दी छन् ।

स्थानन्तरण गरे लगत्तै संक्रमण पुष्टि

कारागारमा यसअघि कोरोना पोजेटिभ देखिएका पुरुष कैदीबन्दीलाई फराकिलो ठाउँमा राख्न भन्दै कारागार प्रशासनले महिला ब्लक खाली गरेको थियो । कारागार प्रशासनले बिहीबार राति १८ जना महिला र २ जना आश्रित बालबालिकालाई उदयपुर, सप्तरी र मोरङ कारागारमा स्थानन्तरण गरेको थियो । स्थानन्तरण गर्नुअघि कारागार प्रशासनले उनीहरुको स्वाब संकलन गरेको थियो ।

तर, ती ठाउँमा पुर्‍याएपछि शुक्रबार साँझ उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि ती सबैलाई पुनः फिर्ता बोलाउन लागिएको कारागार प्रमुख महतोले बताइन् ।

‘एउटा बस नै रिजर्भ गरेर उनीहरुलाई उदयपुर, सप्तरी र मोरङ्ग पठायौं,’ महतोले भनिन्, ‘तर रिपोर्ट पोजेटिभ आएपछि सोही बसमा पुनः बसाएर सबैलाई यहीं बोलाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment