Comments Add Comment

लघुकथा : हाकिम साब र म

मेरो हाकिम साब । हाम्रो अफिसर । उनी र म एउटै स्कुल पढेको । म डेढ घण्टाको बाटो हिँडेर स्कुल पुग्थेँ । उनी पन्ध्र मिनेटमै स्कुल उक्लिन्थे । म बिहानै एक डोको घाँस गोठमा फ्याँकेर निस्तो ढिँडो थुतुनोमा बुजो लगाएर खाली खुट्टा स्कुल कुद्थेँ । उनी बिहानै ओच्छ्यानमा दूध पिउँथे । उनलाई बुवाले विहानभर पढाउँथे ।

मैले बडो मुस्किलले एसएलसी पास गर्दा उनले बिए सकिसकेका थिए । मैले एसएलसी गर्दाको मेहनत उनले बिए पास गर्दा गरेको मेहनतभन्दा कम थिएन ।

बिए पास गरेपछि उनी इन्सपेक्टरमा भर्ना भए, म आफ्नो शैक्षिक योग्यता अनुसार सिपाहीमा । एउटै साल नोकरी थाल्यौँ । नोकरीको लामै अनुभव रह्यो । मैले सशस्त्र द्वन्द्वमा सुन्ने शक्ति गुमाएँ । मेरा कयौँ साथीले ज्यान गुमाए । मेरो हाकिम साबले राम्रो कमाण्डसिप गरेको भन्दै प्रमोसन र पदकहरु थापे ।

मैले बर्षौं बित्दा श्रीमतीलाई एउटा साडी किनिदिन सकिनँ । बुवाको उपचार गर्दा संचय कोषमा कति पैसा छ भनेर औँला गन्नु पर्यो । मधेश आन्दोलनमा मैले वायाँ खुट्टा नै गुमाएँ । मेरो हाकिम साबले राम्रो शान्ति सुरक्षा गरेको भन्दै गृहमन्त्रीबाट पुरस्कार थापे । त्यो बेला म अपस्तालमा उपचारको लागि छटपटिदै श्रीमतीको गहना बेच्दै थिएँ ।

हाकिम साब र म सँगै रिटायर्ड हुँदै थियौँ । उनको गला भरी फूलको माला र छातीभरी तक्मा थियो । ट्रकका ट्रक मालसामान थियो । म व्यारेकबाट निस्किदा बैशाखी र एउटा टिनको बाकस थियो । उनलाई लावा लस्करसहित घर पुर्याइदिए । त्यो बेला मेरी श्रीमती मलाई घर लैजान ऋण खोज्दै थिइन् ।

-भकुण्डे अर्भक, बागलुङ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment