Comments Add Comment

एकै दिन थपिए ३ लाख ७ हजारभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा धेरै भारतमा

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का तीन लाख सात हजारभन्दा धेरै संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख सात हजार ९३० नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सेप्टेम्बर ६ मा तीन लाख ६ हजार ८५७ नयाँ संक्रमित फेला परेका थिए ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको कारण पाँच हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ लाख १७ हजार ४१७ पुगेको छ ।

डब्ल्यूएचओको अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै नयाँ संक्रमित भारत, अमेरिका र ब्राजिलबाट थपिएका छन् ।

विश्वभर कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या दुई करोड ८० लाख नाघिसकेको छ । जसमध्ये आधा संक्रमित उत्तर र दक्षिण अमेरिकामा फेला परेका छन् ।

यो अवधिमा भारतमा ९४ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए भने अमेरिकामा ४५ हजार तथा ब्राजिलमा ४३ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए ।

यो अवधिमा भारत र अमेरिकामा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने ब्राजिलमा ८७४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment