Comments Add Comment

विराटनगरका मेयरको आग्रह : सरकार ! सीमामा कडाइ गरिदेऊ

विराटनगर महानगरपालिका कोरोना भाइरस संक्रमणको ‘हटस्पट’बनेको छ । एक हजार ४८६ जना संक्रमित फेला परेको विराटनगरमा संक्रमणकै कारण १८ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसन बेड अभावमा ६७९ जना होम आइसोलेसनमा छन्, जसमध्ये अधिकांश बाध्यताले घर र डेरामा आइसोलेसनमा बसेका हुन् ।

महानगरपालिकाका मेयर भीम पराजुली आफू नेपाली कांग्रेसबाट विजयी भएकाले संघीय र प्रदेश सरकारले सहयोग नगरेको बताउँछन् । समुदायस्तर फैलिएको संक्रमण र महानगरपालिकाको तदारुकताबारे मेयर पराजुलीसँग अनलाइनखबरका लागि हरि अधिकारीले गरेको कुराकानीको सम्पादित अंश ट्ठ

विराटनगरमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

समुदायस्तरमा संक्रमण देखिएको छ, तर अवस्था भयावह छैन । बिस्तारै संक्रमित घट्दै गएका छन् । हिजो पूर्ण लकडाउन गरिएको विराटनगरको अवस्था सामान्य बन्दैछ । जोखिम भने उच्च नै छ र संक्रमण नियन्त्रणमा ल्याउने हाम्रो प्रयास जारी छ ।

संक्रमण नियन्त्रणमा ल्याउन महानगरपालिकाले के गर्दैछ ?

कोरोना संक्रमितको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र सचेतनाको काम गरिरहेका छौं । कन्ट्याक्ट ट्रेसिङ, स्वाब संकलन र परीक्षणको दायरा बढाएका छौं ।

क्वारेन्टिन सञ्चालन गरिरहेका छौं । महानगर आफैंले तीनवटा होल्डिङ आइसोलेसन बनाएका छौं । महानगरको पहलमा दुईवटा निजी अस्पताल र एउटा होटलमा आइसोलेसन सञ्चालित छ । महानगरकै अगुवाइमा कोशी अस्पतालमा नयाँ पीसीआर मेसिन थपिएका छन् ।

परीक्षणको दायरा बढाएको भन्नुहुन्छ, परीक्षण दर त घट्दो छ नि ?

होइन, परीक्षण दर बढेको छ । पहिले स्वाबको रिपोर्ट आउन पाँच दिन लाग्थ्यो, महानगरपालिकाको पहलमा निजी क्षेत्रले उपलब्ध गराएको मेसिन कोशी अस्पतालमा थपिएपछि आजको भोलि आउँछ ।

हिजोआज संक्रमण पनि घट्दो दरमा छ । संक्रमणको ‘चेन ब्रेक’हुने क्रममा रहेकाले संख्या कम देखिएको हो । तर निरन्तर परीक्षण गरिरहेका छौं ।

पछिल्लो समय संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु पनि लक्षण नदेखिए पीसीआर गर्न रुचाउँदैनन् ।

पालिका, प्रदेश र संघीय सरकारबीच समन्वय कस्तो छ ?

हिजोका दिनमा राहत वितरणदेखि कन्ट्याक्ट ट्रेसिङ र कोरोना जाँचसम्म महानगरलाई सहयोग भएन । पछिल्लो समय समन्वय भइरहेको छ । कोरोना संक्रमण नियन्त्रणमा तीनै तहको समन्वय अत्यावश्यक पनि छ । मुख्यमन्त्री शेरधन राईले एक हजार बेडको आइसोलेसन केन्द्र विराटनगरमै बनाउने बचन दिनुभएको छ । समन्वय नभए संक्रमण नियन्त्रण हुँदैन ।

कांग्रेसबाट निर्वाचित मेयरलाई प्रदेश र संघले सहयोग गरेन भन्ने पनि तपाईहरुको गुनासो हो ?

हिजो सहयोग नभएकै हो । धेरै ठाउँमा सहयोग मागियो, तर पाइएन । संघ र प्रदेशको सहयोग नपाउँदा पनि विराटनगर विचलित नभई महामारीमा सकेको प्रयास गरेको छ ।

हिजो सहयोग नपाउँदा धेरै बोलियो, बोलेका कुराहरु सम्बोधन भएनन् । अब नबोली क्षमताले भ्याएसम्म काम गर्छाैं ।

विराटनगर भारतीय सीमासँग जोडिएको क्षेत्र हो । अहिले नाका बन्द छ, तर पूरै होइन । उताबाट मान्छे सहजै छिर्छन् । खुला सीमाका कारण विराटनगरमा अहिले नै कोरोना संक्रमण नियन्त्रणमा आउँदैन । भारतमा संक्रमण ब्यापक छ ।

हामीले नाका नियन्त्रणका लागि सेना परिचालन गरौं भन्यौं, संघीय सरकारले सुनेन । केन्द्रले बेवास्ता गर्दा विराटनगरमा भयावह अवस्था आयो । अब निषेधाज्ञा हटेका कारण फेरि संक्रमण बढ्ने हो कि भन्ने चिन्ता छ ।

अधिकांश संक्रमित घरमै बस्न बाध्य छन् । महानगरप्रति गुनासो धेरै छ नि ?

महानगरले चलाएका आइसोलेसन अहिले भरिएका छन् । आइसोलेसन खाली नहुँदा स्रंक्रमित घरमा बस्नु परेको हो । अहिले होम आइसोलेसनमा बस्नेहरुसँग समन्वयका लागि कर्मचारीसँगै जनप्रतिनिधिहरु सक्रिय छन् । वडा र टोलहरुमा ‘एक्सन टिम’ छ ।

तर, पछिल्लो समय बजार पनि खुलेको छ । यसले जोखिम बढाएको छ । संघीय सरकारले सीमामा कडाइ गरिदियोस् । नत्र, भारतसँग जोडिएका नेपाली सहर–बजारमा भयावह अवस्था आउनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment