Comments Add Comment

चीनको सिन्चियाङबाट आउने सामानमा अमेरिकाको प्रतिबन्ध

३० भदौ, काठमाडौं । अमेरिकाले मानव अधिकारको उल्लंघन गरेको मुद्दामा चीनको सिन्चियाङबाट अमेरिका आउने केही सामानमा प्रतिबन्ध लगाउने भएको छ । यो प्रान्तबाट आउने सामानहरु मानव अधिकार उल्लंघन गरी श्रम शोषणद्वारा बनाइने भएकाले आफ्नो मुलुकमा त्यस्ता सामग्रीको आयात रोक्ने निर्णय गरेको हो । अमेरिकाको यो प्रतिबन्ध सिन्चियाङ र अन्हुई प्रान्तबाट सामान निर्यात गर्ने पाँच कम्पनीलाई लागू हुनेछ ।

अहिलेको प्रतिबन्ध लगाइएका सामानहरुमा कपडा, कपास, कम्प्युटर पार्टस् र कपालका उत्पादनहरु रहेका छन् । अमेरिकाले अहिले यो क्षेत्रमा आधुनिक युगको दासप्रथा जारी रहेको बताएको छ । यसअघि पनि सिन्चियाङ क्षेत्रमा बस्ने अल्पसंख्याक वीगर मुस्लिमहरुमाथि चीनले ज्यादती तथा मानव अधिकार उल्लंघल गरेको भन्दै अमेरिकाले आवाज उठाउँदै आएको थियो । तर, चीनले भने अमेरिकाको आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्लो केही वर्षमा चीनले सुरक्षा जोखिमको नाममा १० लाखभन्दा धेरै मानिसलाई सिन्चियाङबाट पक्राउ गरेको अनुमान गरिएको छ । चीनले उनीहरुलाई सुधार शिविरमा राखिएको र यहाँ रोजगारीको तालिम र शिक्षा प्रदान दिने गरिएको बताउँदै आएको छ । साथै यो कदम आतंकवाद र विभाजनकारी जोखिमबाट बच्न आवश्यक रहेको बताउँदै आएको छ ।

अहिले सिन्चियाङ प्रान्तमा अहिले हजारौं बालबालिकाहरुलाई आफ्नो अभिभावकबाट टाढा लगिएको छ भने महिलाहरुलाई जबर्जस्ती परिवार नियोजन गर्न बाध्य बनाइएको आरोप चीनमाथि लागेको छ । अमेरिकाले भने अहिलेको प्रतिबन्धको माध्यमबाट अमेरिकाले चीनलाई श्रमिकमाथि अवैध, अमानवीय र शोषक व्यावहार अभ्यास सह्य नहुने सन्देश दिएको बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment