Comments Add Comment

ठप्प फिल्म क्षेत्र खुलाउन बोल्दैनन् फिल्मीकर्मी

असोज १ गतेबाट आन्तरिक हवाई उडान, होटल, लामो दुरीका यातायात सबै संचालनमा आउँदैछन् । योसँगै देशभर चहलपहल बढ्ने निश्चित छ । तर, सरकारले ६ महिनादेखि ठप्प रहेका यातायात, हवाई उडान, होटल खोल्ने निर्णय गर्दा चलचित्रको बिषयमा कुनै पनि निर्णय गरेको छैन । यसैले, चलचित्र क्षेत्रको यो अन्यौलता कहिलेसम्म भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

चलचित्र निर्माणका लागि निर्माताहरु तयार छन् । रिलिजका लागि तयार भएका दर्जन बढी चलचित्र रोकिएका छन् । हल व्यवसायीहरुको व्यापार ठप्प छ । हजारौ मजदुरको काम रोकिएको छ ।

चलचित्र क्षेत्र आज निर्णय गरेर भोली खुल्ने क्षेत्र पनि होइन । हल खोल्न होस् या चलचित्र छायांकनका लागि नै किन नहोस्, निर्णय लगतै संभव छैन । यसैले पनि यसका लागि चलचित्रकर्मीहरुले नै दबाब दिन आवश्यक छ ।

तर, चलचित्र क्षेत्र ६ महिनादेखि आफैमा रुमल्लिएको छ । कलाकार आलोचनाको चर्को शिकारमा परेका छन् । संघसंस्थाहरु मौन छन् । यातायात व्यवसायी हुन् या हवाई व्यवसायी, जसले निरन्तर रुपमा सरकारलाई दबाब दिइरहेका थिए । जसलेगर्दा, सरकार निर्णय गर्न वाध्य भएको देखिन्छ । तर, चलचित्र क्षेत्रले सरकारलाई कुनै दबाब नै दिएको छैन ।

चलचित्र संघका पूर्व अध्यक्ष प्रदिपकुमार उदय सरकारले दबाबको मात्र भाषा वुझ्ने गरेको तर चलचित्र क्षेत्र भलाद्मीको क्षेत्र परेको बताउँछन् । अहिले व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै विभिन्न क्षेत्रका व्यवसायीहरु सडकमा आइरहेका छन् ।
तर, चलचित्र क्षेत्रका न कुनै संघसंस्था, न कुनै चलचित्रकर्मी नै यो बिषयमा बोलेका छन् या सरकारसमक्ष दबाब दिन अगाडि बढेका छन् । जसलेगर्दा, लामो समयदेखि ठप्प रहेको चलचित्र क्षेत्रमा अन्यौलता बढेको छ ।

चलचित्र कलाकार संघ सरकारले भवन बनाउने रकम दियो भनेर मख्ख छ भने चलचित्र निर्माता संघलाई निर्वाचन लागेको छ । चलचित्र संघदेखि चलचित्र प्राविधिक संघ पनि मौन नै देखिन्छन् । यसैले, अब चलचित्र क्षेत्रलाई अगाडि बढाउने हो भने निरन्तर दबाबको आवश्यकता देखिन्छ । भारत जस्तो दैनिक ९० हजारको हारहारीमा कोरोना संक्रमित देखिएको देशमा चलचित्रको छायांकन सुरु भैसकेको छ । आउँदो महिनादेखि हल खुल्ने अपेक्षामा व्यवसायी छन् । त्यहाँ हल व्यवसायी, निर्माताहरुले निरन्तर सरकारलाई दबाब दिइरहेका छन् ।

यसैले, सुरक्षित तरिकाले काम गर्दै यो क्षेत्रलाई अगाडि बढाउन सकिन्छ । यसका लागि चलचित्रकर्मीले आवाज दिन आवश्यक छ । तर, विगत ६ महिनादेखि आफ्नै धुनमा व्यस्त चलचित्रकर्मी न त बोल्छन् न त सरकारले चलचित्र क्षेत्रलाई चासोको रुपमा नै हेरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment