Comments Add Comment

प्याजमा कालोबजारी : २४ घण्टामै प्रतिकिलो १३० रुपैयाँ पुर्‍याइयो

३१ भदौ, काठमाडौं । भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ । कालीमाटी तरकारी बजारमा करिब २४ घण्टाको फरकमै प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् ।

मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पुर्‍याइएको छ ।

प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ । केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको गुनासो आएपछि बजार अनुमगन थालिएको बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

सोमबार बजारमा ३५ टन प्याज आए पनि मंगलबार प्याज नभित्रिएको उनले बताए । बिगतको प्याजको आयात हेर्दा नेपाली बजार प्याजका लागि भारतमै निर्भर देखिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ । दुई महिनामा ३४ सय टन प्याज बजार भित्रिदा जम्मा तीन टन मात्रै नेपाली प्याज आएको उनको भनाइ थियो ।

बजारमा प्याज पाइनै छोड्यो : व्यापारी

भारतले प्याज निर्यात रोकेपछि नेपाली बजारमा प्याज पाइन छोडेको कालीमाटीका व्यापारीहरुको तर्क छ । भारतबाट आउन छोडेपछि बजारमा प्याजको अभाव भएको कालीमाटीका आलु–प्याज व्यापारी दधिराम उप्रेतीको दाबी छ । ‘हिजोबाट प्याज आउन छोड्यो, बजारमा प्याज पाइएको छैन,’ उप्रेतीले भने । मागको तुलनामा बजारमा अभाव भएपछि केही व्यापारीले महँगोमा प्याज बिक्री गरेको हुन सक्ने उनको भनाइ छ ।

अर्का प्याज व्यवसायी वृजभुषण मल्लिकले भने बजारमा प्याज नै नभएको र भएको प्याज बिक्री गर्दा बढी मूल्य नलिएको दाबी गरे । ‘थोकमा ८० रुपैयाँमा बिक्री भएको एक सय पुगेको छैन, बजारमा प्याज एक दम कम छ,’ मल्लिकले भने ।

भन्सारमा भारतले रोकेपछि लोड गाडी पनि नेपाल आउन नपाएको उनको भनाइ छ । नेपाली प्याज बजारमा नभएको र भारतकै भर पर्दा समस्या परेको उनले सुनाए । दुई महिनाअघि धेरै प्याज भित्रिदा १८ रुपैयाँ किलोमा पनि बिक्री गर्न नसकिएको प्याज अहिले चरम अभाव भएको मल्लिकको भनाइ छ ।

‘अप्रेसन प्याज अभियान’ सुरु

यता वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु भएको जनाएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जनाएको छ ।

मंगलबार नै कालीमाटीका ६ वटा पसलमा अनुगमन गरिएको वाणिज्य विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । ‘प्याजको मूल्य वृद्धिविरुद्ध गुनासो आएपछि आज अनुमगन गरेका छौँ, ६ वटा पसललाई पूर्जी काटिएको छ,’ निर्देशक आचार्यले भने ।

तीन वटा खुद्रा र तीनवटा थोक पसलमा गरिएको अनुगमनमा ४५ रुपैयाँमा किनिएको प्याजलाई एक सय १० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको उनले बताए । प्याजको मूल्यवृद्धि विरुद्ध नियमित अपे्रसन घोषणा नै गरेर विभाग लागेको आचार्यले बताए ।

यो पनि पढ्नुहोस बढी मूल्यमा प्याज बिक्री गरेको अभियोगमा एक व्यवसायी पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment