Comments Add Comment

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ । चलचित्र हेर्ने दर्शकको स्वाद फेरिएकाले पनि अब मेकरले कथामा लगानी गर्नुपर्छ भन्ने बहस नभएको होइन ।

चलचित्र क्षेत्रको खुलेको केही महिना दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने चलचित्रको आवश्यकता पर्छ । यसका लागि दर्शकलाई हलसम्म तान्न सक्ने कलाकार, ब्यानर, निर्माता, निर्देशकको चलचित्र बजारमा आउन जरुरी छ ।
नेपाली चलचित्र क्षेत्रका ३ चकलेटी नायक अनमोल केसी, प्रदिप खड्का र पल शाह इनिसियल रुपमा दर्शकलाई हलसम्म तान्न सक्ने खुबी राख्छन् भन्ने चर्चा हुन्छ । सायद, मेकरले यी तीन नायकलाई महंगो पारिश्रमिक दिनुको कारण पनि यही होला ।

यहाँ, हामी ३ नायकको फिल्मी लाइनअपको बारेमा चर्चा गर्दैछौ ।

१. अनमोल केसीः लकडाउन अगाडि नै नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त थिए । छायांकनको अनुमती पाएसँगै यो चलचित्रको काम सुरु हुनेछ । झरना थापाले निर्देशन गरिरहेको यो चलचित्रमा उनीसँगै सुहाना थापा र सलोन बस्नेको मुख्य भूमिका छ । यसका अघिल्ला २ सिरिज सुपरहिट भएकाले चौथो सिरिजले चलचित्र बजार चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रको छायांकन सकिएलगतै अनमोल आफ्नै होम प्रोडक्शनको चलचित्र ‘पारस’मा काम गर्दैछन् । माधव वाग्लेले निर्देशन गर्ने चलचित्रलाई भूवन केसीले निर्माण गर्दैछन् । हुनत, अनमोलको होम प्रोडक्शनकै चलचित्र ‘एन्टी हिरो’को पनि घोषणा भैसकेको छ । तर, अब यो चलचित्र कहिले बन्छ पक्का छैन ।

२. प्रदिप खड्काः नायक प्रदिप खड्काको चलचित्र लाइनअप पनि बलियो छ । उनी, चलचित्र ‘प्रेमगीत ३’ रिलिजको प्रतिक्षामा छन् । छायांकनको अनुमती पाएसँगै उनले दिनेश राउतको निर्देशनमा बन्ने सामाजिक कथामा बन्ने चलचित्रमा काम गर्नेछन् । यो चलचित्रले प्रदिपको करिअरलाई नै फरक पार्ने अपेक्षा गरिएको छ । यस्तै, उनी चलचित्र ‘हुतुतु’मा पनि काम गर्दैछन् । कमेडी कथामा यो चलचित्र बन्नेछ ।

३. पल शाहः हुनत, अर्का नायक पल शाह म्यूजिक भिडियोमै व्यस्त छन् । लकडाउन खुलेपछि रिलिज भएका अधिकांश भिडियोमा पलकै अभिनय छ । उनै, पल अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको प्रतिक्षामा छ । पूजा शर्मासँग पलले जोडी वाँधेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन तथा निर्माण गरेका हुन् । यो चलचित्रबाट पलले आशा राखेका छन् । यस्तै, चलचित्र ‘हृदयभरी’ पनि निर्माण भएर प्रदर्शनका लागि तयार छ ।

सुरज सुब्बा चलचित्रका निर्देशक हुन् । पलले चलचित्र ‘हुतुतु’ पनि साइन गरेका छन् । यस्तै, उनले फागुणबाट चलचित्र ‘२ नम्बरी’को छायांकन पनि सुरु गर्नेछन् । किरण नेपाली निर्माता रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । लकडाउन अगाडि यो चलचित्रको केही प्रतिशत छायांकन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment