Comments Add Comment

कोरोना महामारीले दक्षिण एसिया क्षेत्रकै पढाइ संकटमा

३१ भदौ, काठमाडौं । कोरोना महामारीपछि युरोपको अधिकांश क्षेत्रका बालबालिका विद्यालय जान शुरु गरेका छन् । तर, विश्वका अन्य मुलुकमा भने कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध अझै नहटाइएका कारण विद्यालय बन्द छन् ।

महामारीको अवस्थामा दक्षिण एसियाली मुलुकका विद्यार्थी बढी मारमा छन् । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै गत मार्च र अप्रिलमा प्रतिबन्ध लगाउन सुरु गरिएका थिए । त्यतिबेला दक्षिण एसियाका धेरै मुलुकमा शैक्षिक सत्र भर्खर सुरु भएको थियो । तर शैक्षिक सत्र सुरु भएको ६ महिनासम्म विद्यालय बन्द छन् ।

  • भारतमा अधिकांश विद्यालय बन्द छन् । सरकारले ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई अभिभावकको अनुमति लिएर २१ सेप्टेम्बरपछि विद्यालय जान सक्ने निर्णय गरेको छ ।
  • नेपाल र बंगलादेशमा पनि विद्यालय बन्द छन् ।
  • श्रीलंकामा अगष्टमा विद्यालय खोलिएको थियो तर पुनः संक्रमण बढेसँगै विद्यालयहरु बन्द गरिएका छन् ।
  • पाकिस्तानमा चरणबद्ध रुपमा विद्यालय खोल्ने योजना अनुसार १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि संक्रमण कम भएका क्षेत्रमा कक्षा शुरु भएका छन् ।

धेरै विद्यार्थी अनलाइन कक्षाको पहुँचबाहिर

दक्षिण एसियाका धेरै देशले अनलाइन र दूर शिक्षाका माध्यमबाट पढाइ नियमित गरिरहेको दावी गरेका छन् । विद्यालय नआई घरबाटै विद्यार्थीहरुलाई लाइभ अनलाइन कक्षा वा डिजिटल पाठ्य सामग्री उपलब्ध गराइन्छ । यस्ता पाठ्य सामग्री अफलाइन तथा अनलाइन दुबै तरिकाले प्रयोग गर्न सकिन्छ ।

यद्यपि दक्षिण एसियाका धेरै मुलुकमा विश्वासिलो इन्टरनेट पूर्वाधारको अभाव छ । साथै गरीब परिवारको लागि इन्टरनेट जडान र त्यसको शुल्क तिर्न पनि समस्या छ ।

संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा दक्षिण एसियाका १४ करोड ७० लाख बालबालिकाले अनलाइन वा घरमा नै बसेर शिक्षा लिन सकिरहेका छैनन् । भारतमा सन् २०१९ मा गरिएको एक सर्वेक्षण अनुसार केवल २४ प्रतिशत परिवारमा मात्र इन्टरनेटको सुविधा छ । ग्रामीण क्षेत्रमा त केवल चार प्रतिशत परिवारमा इन्टरनेटको सुविधा छ ।

भारतको तुलनामा सञ्चार सुविधा बंगलादेशमा राम्रो छ । त्यहाँका ६० प्रतिशत विद्यार्थीले अनलाइन कक्षा लिन सक्छन् । यहाँ इन्टरनेटको गुणस्तर र विद्यालयमा अनलाइन कक्षाका लागि आधारभूत उपकरणको भने अभाव देखिएको छ ।

नेपालमा हालै गरिएको एक सर्वेक्षण अनुसार ३० हजार सरकारी विद्यालयमध्ये ३० प्रतिशतभन्दा कममा मात्र कम्प्युटरको सुविधा रहेको छ । जसमध्ये १२ प्रतिशत विद्यालयले मात्र अनलाइन पढाइलाई अघि बढाइरहेको पाइएको थियो ।

केही मुलुकले इन्टरनेटबाट चल्ने डिभाइस वा ब्रोडब्याण्ड कनेक्सनको अभावका कारण टेलिभिजन र रेडियोको सहारामा पढाइ सञ्चालन गरेका छन् । यी प्लेटफर्मको पहुँच भने धेरै क्षेत्रमा छ । भारत र बंगलादेशको सरकारी च्यानलमा दैनिक रुपमा शैक्षिक कार्यक्रम देखाइन्छ । नेपालमा पनि यस्तै तरिकाको प्रयोग गरिएको छ तर यहाँ आधाभन्दा पनि कम परिवारसँग केबल टेलिभिजनको पहुँच छ ।

विद्यालय खोल्दा संक्रमणको जोखिम

श्रीलंकामा विद्यालय खोल्दा कुनै किसिमको भौतिक दुरी पालना गर्ने र मास्क लगाउनेजस्ता सुरक्षाको उपाय अपनाइएको थिएन । केही विद्यालयले मात्र मास्क अनिवार्य गरेका थिए ।

विद्यालयमा आधारभूत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आर्थिक अभाव छ । पाकिस्तानमा पनि विद्यालय खोल्ने योजनाको विरोध भइरहेको छ । विद्यालयमा सुरक्षाको लागि आवश्यक निर्देशिका पालना गर्दा व्ययभार बढ्ने उनीहरुको तर्क छ ।

भारतमा पनि विद्यालय खोल्ने कुरालाई लिएर यस्तै चिन्ता छ । साथै जानकारहरु विद्यालय खुल्नेबित्तिकै अभिभावकहरु पनि काममा जान थाल्ने र यसले मानिसहरुको गतिविधि बढ्ने जोखिम रहेको बताउँछन् । महामारीको समयमा धेरै विद्यालयहरु अहिले वित्तीय समस्यामा परेका छन् । आर्थिक समस्याको कारण अहिले बंगलादेशमा एक सयभन्दा धेरै निजी विद्यालय बिक्रीमा छन् ।

त्यस्तै महामारीपछि विद्यालय आउने विद्यार्थीको संख्यामा पनि उल्लेख्य गिरावट आउन सक्ने अनुमान गरिएको छ । यसअघि पनि इबोला तथा अन्य आपतकालीन अवस्थापछि शिक्षा क्षेत्रमा ठूलो नोक्सानी देखिने गरेको युनिसेफका अधिकारीहरु बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment