Comments Add Comment

प्रदेश ५ मा दशैं–तिहारपछि कोरोना संक्रमण बढ्ने डर

पर्याप्त आईसीयू बेड र विशेषज्ञ डाक्टरको अभाव मुख्य समस्या

निषेधाज्ञाको समयमा रुपन्देहीको बुटवल ।

३१ असोज, बुटवल । प्रदेश ५ मा साउन १८ गते २३१ जना कोरोना भाइरसका सक्रिय संक्रमित थिए । क्वारेन्टिन र आइसोलेसन सेन्टरहरू खाली हुँदै थिए । तर भदौ २८ गते रातिसम्मको तथ्याङ्कले सक्रिय संक्रमित संख्या बढेर दुई हजार १२७ पुगेको देखायो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा मंगलबारसम्म कुल संक्रमितको संख्या आठ हजार ३४९ पुगेको छ । प्रदेशका १२ वटै जिल्लामा सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ५० पुगेको छ । संक्रमण मुक्त हुने एकहप्ताअघिको औसत दर ७६ प्रतिशतबाट घटेर ३२ भदौमा ७३ प्रतिशतमा झरेको छ ।

पछिल्ला दिनहरूमा कडा लक्षण भएका संक्रमित बढेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार २० प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण देखिएका छन् । गर्भवती र डायलासिस गराइरहेका मिर्गौलाको बिरामीमा संक्रमण फैलिएको छ ।

प्रदेश सरकारले समुदायस्तरमा कोरोना फैलिएको घोषणा नगरे पनि धेरैजसो संक्रमित ट्राभल हिस्ट्री नभएका छन् । सुरुमा भारतलगायतका मुलुकबाट फर्केकाहरूमा देखिएको संक्रमण अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिसमेतमा फैलिएको छ ।

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको रुपन्देही, बाँके, कपिलवस्तुलगायत जिल्लामा विद्यालय, ठूला होटेल र सार्वजनिक यातायातबाहेक सबै व्यवसाय र निजी सवारी साधन चलेका छन् । बजारमा चहलपहल बढेको छ । जनजीवन पुरानै अवस्थामा फर्केको देखिन्छ । तर स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना भएको देखिँदैन ।

जबकी, सोमबार साँझसम्म रुपन्देहीमा १८, कपिलवस्तुमा ८ र बाँकेमा ७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

‘थर्ड वेभ’को डर

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल दशैं–तिहारलगत्तै कोरोना संक्रमण बढ्ने जोखिम देखिएको बताउँछन् । साउन तेस्रो हप्ताको सुरुमा सक्रिय संक्रमितको संख्या घटे पनि त्यसपछि बढेर सेकेन्ड वेभ आएजस्तै दशैं–तिहारपछि संक्रमणको थर्ड वेभ (तेस्रो लहर)  आउने देखियो,’ उनले भने ।

चाडपर्वमा स्वाभाविक रूपमा बढ्ने मान्छेको जमघटलाई सरकारले बल प्रयोग गरेर रोक्न नमिल्ने र जाडो मौसम पनि सुरु हुने भएकाले भाइरस संक्रमण फैलिने जोखिम आकलन गरिएको मन्त्री बरालले बताए । ‘दशैं–तिहारपछि सक्रिय संक्रमितको संख्या पाँच हजार पुग्न सक्ने आकलन गरेर प्रतिकार्य योजना बनाएका छौं, उनले भने, ‘अब आईसीयू र आइसोलेसनको बेड संख्या २५–२५ सय पुर्‍याएर एकैपटक पाँच हजारको उपचार गर्ने तयारीमा छौं ।’

अहिले प्रदेश ५ का १२ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या भएको रुपन्देही ‘रेडजोन’मा परेको छ । त्यसपछि क्रमशः कपिलवस्तु र बाँकेमा बढी संक्रमण देखिएको छ ।

आईसीयू अभाव मुख्य समस्या

कोरोना संक्रमितहरूमा श्वासप्रश्वास र निमोनियाको मुख्य समस्या देखिने गरेकाले उनीहरूलाई तत्काल आईसीयू बेडमा राखेर अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ । तर पर्याप्त आईसीयू बेड नहुँदा कतिपय संक्रमित उपचार नपाएरै मृत्युको मुखमा पुगेका छन् ।

प्रदेश ५ सरकारले सञ्चालन गरेका चारवटा कोरोना विशेष अस्पतालमध्ये धागो कारखानामा १६, भीम अस्पतालमा ५, बाँकेको खजुरामा ८ र दाङको बेलझुण्डीस्थित अस्पतालमा ५ गरी जम्मा ३४ वटा आईसीयू बेड छन् ।

लक्षण र अन्य स्वास्थ्य समस्यासहितका संक्रमित बढेसँगै सरकारले आइसोलेसन अस्पतालहरूको क्षमता र जनशक्ति बढाउने निर्णय त गरेको छ तर कार्यान्वयन कहिले हुने भन्ने बारे टुङ्गो छैन ।

प्रदेश सरकारले बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा २० वटा आईसीयू बेड थप्ने निर्णय गरेको छ । त्यसपछि अक्सिजन आवश्यक पर्ने संक्रमितले तत्कालै उपचार पाउने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताउँछन् । त्यहाँ अहिले ३६ वटा आईसीयू बेड छ ।

त्यस्तै, भैरहवाको भीम अस्पतालमा १३ एचडीयू बेड, केन्द्रीय आयुर्वेद बेलझुण्डीमा १७ एचडीयू बेड र भेरी अस्पताल बाँकेमा आईसीयू ५ बेड र ३० एचडीयू बेड थप्ने सरकारले निर्णय गरेको छ ।

विज्ञापन गर्दा पनि आउँदैनन् डाक्टर

संक्रमितको उपचारमा खड्किएको अर्को मुख्य समस्या एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनको अभाव हो । मन्त्रालयका सूचना अधिकारी डा. पौडेलका अनुसार अहिलेसम्म सरकारी अस्पतालका डाक्टर र कतै मेडिकल कलेजले अल्पकालीन रूपमा पठाएका डाक्टरबाट आईसीयू बेडमा भर्ना भएका संक्रमितको उपचार भइरहेको छ ।

मन्त्री बराल भन्छन्, ‘आईसीयू उपकरण र बेड त पैसाले किनेर थप्न सकिएला तर एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनहरू आवेदन खोल्दा पनि आएका छैनन्, यो ठूलो समस्या भएको छ ।’

उनका अनुसार अहिले कम्तीमा ८ जना एनेस्थेसिस्ट र ३० जना एमडी गरेका कन्सल्टेन्ट फिजिसियन चाहिएको छ । त्यसका लागि दोस्रोपटक विज्ञापन गर्न लागेको उनले बताए । चारवटा कोरोना विशेष अस्पतालका लागि प्रदेश सरकारले ५८३ जना जनशक्ति नियुक्त गर्न र ती जनशक्तिलाई तीन महिनाका लागि तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ तलबभत्ता निकासा समेत गरेको मन्त्री बरालले बताए ।

सरकारले गफ मात्र गर्‍यो : प्रतिपक्ष

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार अकर्मण्य बनेको आरोप लगाउँदै आएको छ ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया कोरोना नियन्त्रणमा प्रदेश सरकार पूरै दिशाहीन र योजनाविहीन देखिएको बताउँछन् ।

‘प्रदेश सरकारले ६ महिना गफ मात्रै गरेर बितायो’, उनी भन्छन्, ‘रोकथाम र उपचारको लागि सरकारले पाएको समय ठूलाठूला गफ गरेर बिताउँदा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment