Comments Add Comment

युवा विदेशिन थाले, काठमाडौंबाट दैनिक ५० बढी श्रम स्वीकृति

प्रदेश एक बाहेक ६ वटै प्रदेशका श्रम कार्यालयमा काम सुचारु 

३१ भदौ, काठमाडौं । ६ महिनाअघि लकडाउन सुरु गर्दा अब विदेशबाट ह्वारह्वारी युवाहरु नेपाल फर्कने विश्लेषण हुने गरेको थियो । अहिले दशैंको मुखमा यातायात र कार्यालयहरु खुल्ला हुन थालेपछि विस्तारै युवाहरु विदेशिने क्रम सुरु भएको छ ।

पश्चिम नेपालबाट भारततर्फ जानेहरुको लर्को देखिन थालेको छ भने खाडी मुलुकमा जानका लागि श्रम स्वीकृति गर्नेहरु विस्तारै बढ्न थालेका छन् ।

काठमाडौंको ताहचलस्थित श्रम कार्यालयको तथ्यांक हेर्दा औसतमा दैनिक ४०/४५ जनाले श्रम स्वीकृति लिन थालेका छन् । नयाँ श्रम स्वीकृति लिनेहरु दैनिक ५/७ जना छन् भने वैधानिकता मिलाउनेहरु ५/७ जना छन् । यो सबै जोड्दा दैनिक ५०/५५ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिन थालेका छन् ।

यो तथ्यांक काठमाडौंको मात्र हो । प्रदेश कार्यालयबाट पनि श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ । अहिले प्रदेश १ बाहेक ६ वटै प्रदेशका श्रम कार्यालयहरु खुलिसकेका छन् ।

अरुबेला वैदेशिक रोजगार कार्यालय ताहचल निकै भीडभाड हुने ठाउँ हो । तर, मंगलबार यहाँ खासै भीड देखिएन । कार्यालयकी निर्देशक -उपसचिव) मुक्ता बास्कोटाका अनुसार लकडाउनकै बीचमा कार्यालय खुलेका कारण पहिलेको जस्तो भीड अहिले छैन ।

कहिलेकाहिँ बिहान अलि भीड देखिए पनि केहीबेरमै काम सकिने उनले बताइन् । ‘अहिले धेरैबेर लाइन लाग्नुपर्दैन, काम छिट्टै हुन्छ,’ उनले भनिन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल प्रदेश १ बाहेक अन्य प्रदेशका श्रम कार्यालयहरुमा समस्या नरहेको बताउँछन् । तर, प्रदेश १ मा भने कार्यालय नै नखुल्दा सेवाग्राहीहरुले सास्ती पाएको दाहालले बताए ।

बिराटनगरको कार्यालय नखुल्दा सेवाग्राहीको दुःखेसो

सुनसरीको राजाबास निवासी मनोज श्रेष्ठ युएईबाट फर्किएको ६ महिना भयो । चैतमै  काममा फर्किने गरी बिदामा नेपाल आएका उनी ६ महिनादेखि यतै थुनिएका छन् । सरकारले पुनः श्रम स्वीकृति खुलाएको दुई महिना नाघिसक्यो । मनोजको काम अहिलेसम्म बनेको छैन ।

मंगलबार वैदेशिक रोजगार कार्यालय, ताहचलमा श्रम स्वीकृतिका लागि पुगेका मनोजले अनलाइनखबरसँग भने, ‘कम्पनीले चाँडो आइज भनेर बोलाएको बोलायै छ ।’

श्रम स्वीकृति लिनका लागि मनोज दुईपटक बिराटनगरस्थित श्रम कार्यालयमा पुगेका थिए । पटक-पटक फोन गरे । ‘आज खुल्छ, भोलि खुल्छ भन्दाभन्दै लामो समयसम्म कार्यालय खुलेन’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले निजी गाडीमा काठमाडौं आएर लाइनमा बसेको छु ।’

इनरुवा घर भएका तुफेल अन्सारी पनि ७ महिनाअघि कतारबाट बिदामा घर फर्किए । २ महिनाको बिदामा  आएका उनी लामो समय काममा जान पाएनन् । सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गर्दा पनि बिराटनगरबाट उनले स्वीकृति पाउन नसकेको गुनासो गरे ।

त्यसैगरी लामो समय पर्खिँदा पनि बिराटनगरको श्रम कार्यालय नखुलेपछि अर्का छिमेकी दिल साहद पनि तुफेलसँगै काठमाडौं आए । काठमाडौं आउँदा उनले गाडीभाडावापत ८ हजार खर्चिनु परेको दुःखेसो सुनाए ।

सामान्य अवस्थामा ८ सय रुपैयाँमा गाडीमा आउन सकिने बाटोमा निकै चर्को शुल्क तिरेर यात्रुहरु यसैगरी काठमाडौं आउन बाध्य छन् । सरकारले लामो दुरीका यातायात बन्द गरेका बेलामा यात्रुहरु यसरी ठगिएको महिनौं बितिसक्यो । तर, सरकारले कहीँ पनि अनुगमन गरेन । बल्ल विहीबारदेखि लामो दुरीका बस चल्ने तयारी भइरहेको छ, त्यही पनि ५० प्रतिशत महंगो भाडामा ।

सप्तरी घर भएका शत्रुघन महतो कतारबाट ६ महिनाअघि बिदामा घर फर्किएका थिए । उनले पनि मंगलबार काठमाडौंबाटै पुनः श्रम स्वीकृति लिए । शत्रुघन भने प्रदेश कार्यालयमा जानुभन्दा सिधै काठमाडौं जान्छु र यतैबाट उड्छु भन्ने सोचेर राजधानी आएको बताउँछन् ।

यसैवीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले श्रम कार्यालय विराटनगरका प्रमुख (उपसचिव) प्रेम सञ्जेलले कोरोनाको कारण देखाउँदै कार्यालय खोल्न नमानेको बताए । केन्द्रबाट गरिएका कुनै पनि निर्देशनहरु सञ्जेलले नटेर्ने गरेको महानिर्देशक दाहालको आरोप छ ।

प्रदेश १ बाहेक अन्य ६ वटा प्रदेशमा भने काम शुरु भइसकेको दाहालले बताए । ‘वहाँलाई कतिपटक पत्राचार गरिएको छ, मैले पनि फोन गरेको छु’ दाहालले अनलाइनखबरसँग भने, ‘तर वहाँ कार्यलय खोल्ने पक्षमा हुनुहुन्न । ताप्लेजुङबाट मानिसहरु महंगो भाडा तिरेर आउनुपर्छ, कोरोना लाग्यो भने को जिम्मेवार हुन्छ भन्दै किन खोल्नु भन्नुहुन्छ ।’

यसबारे बुझ्न खोज्दा प्रदेश १ को श्रम कार्यालयका हाकिम प्रेम सञ्जेलसँग फोन सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment