Comments Add Comment

इतिहासमा भलिबल : पहिलो अन्तर्राष्ट्रिय जितको सम्झना

एसियन च्याम्पियनसिप (१९८३) मा नेपाली भलिबल टिम । तस्वीर सौजन्य : दीपक सापकोटा

१ असोज, काठमाडौं । नेपालको पुरुष भलिबल टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर छ । ३७ वर्षको इतिहासमा नेपालले जितेका अन्तर्राष्ट्रिय खेलहरु औंलामा गन्न सकिने मात्र छन् ।

पछिल्लोपटक नेपालको पुरुष भलिवल टिमले गत वर्ष अगष्टमा भएको पाँचौ एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा अफगानिस्तानलाई पराजित गर्यो । त्यसपछि घरेलु भूमीमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाल दुई खेल हार्दै समूह चरणबाटै बाहिरियो ।

सन् १९७६ बाट अन्तर्राष्ट्रिय प्रतियोगिताको यात्रा सुरु गरेको नेपालले पहिलो जितका लागि सात पर्खिनु परेको थियो । जापानको टोकियोमा भएको तेस्रो एसियन मेन्स भलिबल च्याम्पियनसीपमा त्यो ऐतिहासिक जित प्राप्त भएको हो । आज हामी त्यही जितको चर्चा गर्न गइरहेका छौं ।

हुन त १९७७ मा नेपालले चीन भ्रमण गर्दा त्यहाँको प्रान्तीय टिमलाई पराजित गरेको थियो । तर त्यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त अफिसियल म्याच थिएन । त्यसअघि नेपालले सन् १९७६ मा थाइल्याण्डको बैंककमा भएको आठौं एसियन गेम्स खेल्दै आधकारिक अन्तर्राष्ट्रिय भलिबल यात्रा सुरुवात गरेको हो । त्यहाँ समूह चरणका चारवटै खेलमा नेपाल पराजित भएको थियो ।

सन् १९७८, १९८२ र १९८६ को एसियन गेम्समा नेपालले कुनै पनि खेल जित्न सकेन । यस्तै १९८९ को एसियन च्याम्पियनसिपमा पनि नेपाल जितविहीन नै रह्यो । ३२ वर्षपछि एसियन गेम्समा पुनरागमन गरेको नेपालले सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्स खेलेको थियो

टोकियोमा भएको तेस्रो एसियन च्याम्पियनसीपमा नेपालले हङकङलाई ३–२ को सेटमा पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो । यो नेपालको आधिकारिक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित थियो । प्रतिस्पर्धात्मक खेल नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको सम्झिन्छन् तत्कालीन कप्तान दीपक सापकोटा ।

सापकोटाले सम्झेअनुसार उक्त खेलको स्कोर १५–१७, १५–८, ११–१५, १५–६, १५–१० थियो । दुईपटक पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै हङकङलाई पराजित गरेको थियो ।

‘पहिलो खेल जित्दा नेपाली टिममा ठूलो खुशियाली छायो,’ दीपक भन्छन्, ‘त्यतिबेला हाम्रो पुरानो विदेशी प्रशिक्षक इतो पनि आउनुभएको थियो । उहाँले पहिलो खेल पूरै हेरेर हामीलाई बधाई दिएर जानुभयो,’ दीपकले बताए ।

नेपालले न्यूजिल्याण्डसँग पनि राम्रो खेलेको थियो तर तीनवटै सेटमा पराजित भयो । न्यूजिल्याण्डसँग नेपाल १५–१०, १५–२, १५–१२ ले पराजित भएको दीपकको स्मृतिमा छ ।

नेपाल रहेको समूहमा दक्षिण कोरिया, चीन, कुवेतजस्ता बलिया राष्ट्रसमेत थिए । ती टिमसँग पनि नेपाल सोझो सेटमा पराजित भयो । ६ टोली रहेको समूहमा नेपाल एक खेल जित्दै पाँचौ स्थानमा थियो । चार खेलमा भने नेपाल पराजित भएको थियो ।

अर्को समूहमा पाँच टिम थिए । दुवै समूहको शीर्ष चार चार टिम अघिल्लो चरणमा पुगे । त्यसैले शीर्ष आठमा पर्न नसकेका नेपाल, हङकङ र इन्डोनेसियाबीच नवौंदेखि ११औं स्थानसम्मको लागि प्रतिस्पर्धा भयो । त्यसमा इन्डोनेसियाले दुवै खेल जित्दा नेपालले भने दुवै खेलमा हार बेहोर्यो । यसपटक हङकङ विजयी भयो र नेपाल अन्तिममा धकेलियो ।

त्यतिबेला नेपाल एसियन लेभलमा नियमित जस्तो खेल्थ्यो । नेपालले एसियाका बलिया राष्ट्रहरुसँग पनि खेल्न पायो । यसबाट खेलाडीले धेरै सिक्ने अवसर पाएको पनि दिपक बताउँछन् । उनी भन्छन्, ‘हामीले ठूलै टिमसँग खेल्न पायौँ । हाम्रो लागि राम्रो अनुभव भयो । उनीहरुको टेक्निक सिक्ने मौका पायौँ । हाम्रै समूहमा रहेका टिमहरु दोस्रो र तेस्रो भएका थिए ।’

१९८३ को एसियन च्याम्पियनसिप खेलेपछि नेपालले थप एकपटक एसियन च्याम्पियनसिप र दुई पटक एसियन गेम्समा सहभागिता जनायो । यस्तै दक्षिण एसियाली खेलकुद सागको १३ संस्करणमध्ये ११ संस्करणमा प्रतिस्पर्धा  गर्‍यो । त्यसपछि नेपालले २०१५ देखि सुरु भएको एभिसी सेन्ट्रल जोनमा ५ वटै संस्करण खेलेको छ ।

सन् १९७८, १९८२ र १९८६ को एसियन गेम्समा नेपालले कुनै पनि खेल जित्न सकेन । यस्तै १९८९ को एसियन च्याम्पियनसिपमा पनि नेपाल जितविहीन नै रह्यो । ३२ वर्षपछि एसियन गेम्समा पुनरागमन गरेको नेपालले सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्स खेलेको थियो । तर समूह चरणमै दक्षिण कोरिया र चाइनिज ताईपेई जस्ता बलिया टिमसँग परेको नेपालले समूह चरणमा कुनै खेल जित्न सकेन ।

त्यसपछि प्लेअफ खेलमा नेपालले मंगोलियालाई हरायो भने श्रीलंकासँग पराजित भयो । १५औं स्थानको लागि भएको खेलमा कीर्गिस्थानले वाकओभर दिँदा नेपाल १५औं भएको थियो । एसियन लेभलमा नेपालले एसियन गेम्स र एसियन च्याम्पियनसिप गरी समग्रमा ६ वटा प्रतियोगितामा भाग लिएको छ । जसमा अहिलेसम्म ३ (कीर्गिस्तानसँगको खेलसहित) खेल मात्र जित्न सफल भएको हो ।

एसियाली स्तरमा नेपाल

नेपालले अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको दुई वर्षपछि नै एसियन गेम्स खेलेको थियो । सन् १९७६ मा पाकिस्तानमा काइदे अजाम भलिबल प्रतियोगिता खेलेको नेपालले १९७८ मा थाइल्याण्ड एसियन गेम्स खेलेको हो ।

त्यो बेला विदेशी प्रशिक्षकले सिकाउथे । नेपालले पनि विदेशमा प्रशिक्षण र भ्रमणको अवसर पाउँथ्यो । एक दशकमै ५ एसियन लेभलको प्रतियोगिता खेलेको नेपालले त्यसपछि भने एसियन गेम्स खेल्न ३२ वर्ष कुर्नुपर्‍यो। पछिल्लोपटक नेपालले सन् २०१८ मा इन्डनेसियामा भएको एसियन गेम्स खेलेको हो ।

एसियन गेम्स : ४ पटक

सन् १९७८– आठौं एसियन गेम्स थाइल्याण्ड, बैंकक

सन् १९८२– नवौं एसियन गेम्स भारत, नयाँ दिल्ली

सन् १९८६– दशौँ एसियन गेम्स दक्षिण कोरिया, सिउल

सन् २०१८– १८औं एसियन गेम्स इन्डोनेसिया, जाकार्ता र पालेम्बोङ

एसियन च्याम्पियनसिप : २ पटक

सन् १९८३– तेस्रो एसियन मेन्स भलिबल च्याम्पियन्सिप, जापान

सन् १९८९– पाँचौ एसियन मेन्स भलिबल च्याम्पियनसिप, दक्षिण कोरिया

सन् १९८३ मा एसियन भलिबल च्याम्पियनसिप खेल्न गएको नेपाली टिम

दिपक सापकोटा (कप्तान), जय नारायण चौधरी, प्रकाश थपलिया, देवी सुवेदी, केशव श्रेष्ठ, राजेश मास्के, मिनध्वज खड्का, हरी प्रसाद पराजुली, राम कुमार विष्ट, प्रज्वलमान सिंह, दुर्ज कुमार राई, बलराम खत्री

नेपाली टिम लिडर : बासुदेव प्रधान

अफिसियलहरु : बिरभद्रविक्रम शाह, नीरशंकर श्रेष्ठ, ध्रुवविक्रम पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment