Comments Add Comment

हेटौंडामा संक्रमणको दर तीब्र, के गर्दैछ प्रदेश सरकार ?

१ असोज, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ ।

साउन मध्यसम्म औसतमा दैनिक ३ जनामा कोरोना संक्रमण देखिएकामा हिजोआज बढेर औसतमा दैनिक ५० जनासम्म पुगेको छ ।

साउन २० देखि कोरोना संक्रमण दर बढ्न सुरु भएदेखि अपवादबाहेक संक्रमितको दैनिक संख्या नघटेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा आइसोलेसन इन्चार्ज भोला चौंलागाइँले बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता वरिष्ठ जनजस्वास्थ्य अधिकृत डा.पुरुषोत्तम सेढाईका अनुसार हेटौंडामा भदौ २५ गते ६५ जनामा कोरोना संक्रमण देखियो । त्यस्तै २६ गते ६२ जना, २७ गते ५१ जना, २८ गते ५१ जना र २९ गते ९५ जनामा संक्रमण देखिएको छ । भदौ ३१ गते भने ६२ जना संक्रमित भेटिए ।

११ सय संक्रमित, १० जनाको मृत्यु

जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय पुगेको छ भने बुधबार साँझसम्म सक्रिय संक्रमितको संख्या ४७४ पुगेको छ । कोरोना संक्रमणकै कारण १० जनाको मृत्यु भइसकेको छ ।

२ जनाको हटौंडामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने ८ जनाको चितवन र काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुरमा हालसम्म ५ सय ८७ जनाले कोरोनामुक्त भएर घर फर्किएका छन् भने २ सय ५० जना होटल तथा होम आइसोलेसनमा र १ सय ३५ जना संस्थागत आइसोलेसनमा छन् ।

नियन्त्रणको प्रयास गर्दै छौं : सरकार

राजधानीमै कोरोना संक्रमण तीब्र रुपमा बढिरहे पनि बागमती सरकार मुकदर्शक बनेको छ । प्रदेश सरकारले कोरोना संक्रमितको तथ्यांक राख्नेबाहेक अरु उल्लेख्य काम गर्न सकेको छैन ।

सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले नियन्त्रण र सचेतनाको काममा अथक प्रयास गरिरहेको बताए । उनल लकडाउन निषेधाज्ञालाई निरन्तरता दिन नसक्दो संक्रमण फैलिएको जिकिर गरे ।

‘यो विषय सरकारको सफलता असफलता भन्दा पनि दैनिक जनजीवनले पारेको असर हो । हामीले प्रदेशको नाका पूर्ण रुपमा थुन्न पनि सकेनौं, लकडाउनलाई निरन्तरता दिँदा जनजीवनमा प्रतिकुल असर पर्ने देखिएकोले खुकुलो बनाउँदा संक्रमितको संख्या ह्वात्तै बढेको हो’ उनले भने ।

मन्त्री दुलालले भारतबाट दैनिक उपभोग्य सामान ल्याउँदासम्म संक्रमण नरोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment