Comments Add Comment

डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?

नेपाली टेलिभिजनमा भित्रिएको कान्छो रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा साँझ आठ बजे यसको ग्राण्ड प्रिमियर हुनेछ ।

उदियमान कमेडियनका रुपमा परिचित सुमन कार्कीले यो रियालिटी शोमा आफूलाई होस्टको रुपमा प्रस्तुत गर्दैछन् । कमेडी च्याम्पियनमा टप ५ सम्म पुगेका कार्कीलाई सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठको साथ रहनेछ । होस्टहरुको यो जोडीसमेत दर्शकका लागि रोचक विषय बनेको छ । सुमनबाट भरपुर कमेडी र सदीक्षाबाट भरपुर ग्ल्यामरको आशा दर्शकले गरेका छन् ।

आफ्नो कम्फर्ट जोनबाट बाहिर आएर नयाँ जिम्मेवारी लिएकाले उनी अलिकति नर्भस पनि छन् । यो कमेडी शो नभए पनि दर्शकले आफूबाट कमिक टाइमिङ र पञ्चलाइन खोज्नेछन् भन्ने उनलाई थाहा छ । त्यसका निम्ति तयारी पनि गरेका छन्।

सुमन भन्छन्, ‘लामो समयदेखि रेडियोमा काम गर्दै आएकोले मलाई बोल्न त गाह्रो छैन । तर टेलिभिजन रियालिटी शोमा होस्ट गरेको अनुभवचाहिँ पहिलोपटक भएकाले अलिकति अप्ठेरो महसुस पनि भइरहेको छ ।’

को-होस्टसित तालमेल मिलाउनुपर्ने थप चुनौती पनि छ उनलाई । दुवैजना फरक-फरक विधाबाट आएको हुनाले उनीहरु आआफ्नै ढर्रामा बग्न सक्ने रिस्क पनि छ । तर, अहिले रिहर्सलहरुमा आफूहरुले यस विषयमा निकै वर्कआउट गरिसकेको सुमनले बताए । काम गर्दै जाँदा सबै कुराहरु सहज बन्दै जाने उनले विश्वास राखेका छन् ।
‘सुरुका एपिसोडहरुमा केही गाह्रो पनि होला, तर बिस्तारै हामी सहज लयमा आउने छौं,’ उनले भने ।

कमेडियनले रियालिटी शो, अवार्ड फङ्सनहरु होस्ट गर्ने प्रचलन अन्य देशहरुमा पनि छ । उनीहरुको संवाद र प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास आयोजकलाई हुन्छ । भारतका चर्चित कमेडियन कपिल शर्मा धेरै फङ्सनहरुमा होस्टको भूमिकामा देखिएका छन् र सफल पनि भएका छन् ।

सम्भवतः यस्तै अपेक्षाका साथ आफूलाई पनि यो रियालिटी शो होस्ट गर्ने अफर आएको बताउँछन् सुमन ।

‘सुरुमा त म अलिकति अलमलमा पनि परेँ, गरौं कि नगरौं भन्ने दोधार भयो,’ उनी भन्छन्, ‘तर, जिन्दगीमा च्यालेन्ज त स्वीकार्नैपर्छ, नत्र अघि बढिँदैन भन्ने सोचका साथ मैले यो प्रस्ताव स्वीकारेको हुँ ।’

कमेडी च्याम्पियनको उपाधि जित्न नसके पनि सुमनले धेरै दर्शकहरुको मन जितेका थिए । उनी राजनीतिक-सामाजिक सबै विषयहरुमा व्यंग्य गर्न सक्छन् । राम्रो क्यारिकेचर गर्ने खुबी पनि छ । पछिल्लो समय ऋषि धमलाको हुबहु क्यारिकेचर गरेर उनले दर्शक हँसाएका छन् । गएको गाइजात्रामा वरिष्ठ कमेडियन मनोज गजुरेलसित सुमनले गरेको प्रहसन हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment