
२ असोज, वीरगञ्ज । पर्सामा असन्तुष्ट पक्षले नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ ।
जिल्ला कमिटीको अध्यक्षमा प्रभु हजारा मनोनित भएको एक बर्ष बितिसक्दा पनि कमिटीको बैठक बस्न नसकेको भन्दै ५१ सदस्यले लिखित रुपमै बैठक बोलाउन माग गरेका हुन् ।
कोरोना हटस्पट बनेको पर्सा जिल्लामा जनताको जीवन रक्षाको निम्ति पार्टीले केही काम गर्न नसकेको भन्दै यसले पार्टीको जीवनन्ततामाथि प्रश्न उठेको असन्तुष्ट पक्षको पत्रमा उल्लेख गरिएको छ ।
पर्सामा जिल्ला कमिटिले पूर्णता पाई सपथ ग्रहण भएको एक वर्ष वितिसक्दा जिल्ला कमिटिको एउटा पनि बैठक बस्न सकेको छैन ।
सचिवालय गठन हुन नसकेको, जिल्ला कमिटी सदस्यको कार्य विभाजन नभएको, जिल्लामा रहेका अधिकांश पालिका कमिटीहरुले पूर्णता नपाएको, पाइसकेकाहरुको पनि सपथ हुन नसकेको तथ्यले पार्टीको जिल्ला नेतृत्व पार्टी संचालनमा गैर जिम्मेवार र असक्षम रहेको ठहर आफूहरुले गरेको उनीहरुको तर्क छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २/२ महिनामा बस्नुपर्ने व्यवस्था छ । विधानकै धारा ५९ कै (क) को ४ बमोजिम २५ प्रतिशत जिल्ला कमिटी सदस्यहरुले जिल्ला कमिटिको बैठक बोलाउन माग गर्न सक्ने व्यवस्था छ । पर्सामा १ सय ६५ सदस्यीय जिल्ला कमिटि छ ।
३२ प्रतिशत सदस्यहरुले लिखित रुपमै जिल्ला कमिटी बैठक बोलाउन माग गरेको जिल्ला कमिटि सदस्य राघव साहले जानकारी दिए । मागलाई बेवस्ता गरिए अन्तरिम विधानमा भएको व्यवस्था अनुसार अन्य कठोर कदम चाल्न बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।
जिल्ला अध्यक्ष प्रभु हजराले भने पार्टी कै निर्देशन अनुसार बैठक नराखिएको बताएका छन् ।
‘तत्कालिन एकीकृत नेकपा माओवादीबाट सचिव दिनै ढिला गरे, त्यतिखेर बैठक गरौं भन्दा सचिव नआई हुँदैन भने । चैतदेखि कोरोना महामारी नै चलिरहेको छ’ अध्यक्ष हजराले भने ‘केन्द्रीय कार्यालयले नै भिडभाड नगर्न भनेको छ । १ सय ६५ जनाको त कमिटि नै छ । कसरी बैठक राख्ने ?’
पार्टीले महाधिवेशनको तयारी गरिरहेको समयमा केही नेताहरुले गुटबन्दी गर्न खोजेको अध्यक्ष हजाराले आरोप लगाए ।
प्रतिक्रिया 4