Comments Add Comment

८४ करोडको रेल आइपुग्यो, सञ्चालनको टुंगो छैन !

गुरु भट्टराई भन्छन् : एक डेढ महिनामा सञ्चालनमा ल्याउँछौं

२ असोज, जनकपुरधाम । शुक्रबार बिहान ठूलो भिड जम्मा भइसकेको थियो । रेलको हर्न बजेको आवाज सुन्नासाथ सबै रमाउन थाले । मोबाइल निकालेर अगाडि तेस्र्याए । भीड यति ठूलो थियो कि रेल आउँदा लिकमा जम्मा भएकाहरुलाई हटाउन प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

जब रेल आयो, सबैले हुटिङ गरे । रेलमा लेखिएको छ, ‘नेपाल रेल्वे ।’

नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी -सरकार टू सरकार)मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा किनिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार १६०० एचपी डेमु रेल २ वटा नेपाल आइपुगेका हुन् । रेलको अगाडि र पछाडि दुईवटा इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।

एउटा ट्रेन सेटले एकपटकमा करीब १३ सय यात्रु बोक्छ भने प्रतिघण्टा ११० किलोमिटर कुद्छ ।

रेल प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आइपुगेसँगै कोकन रेल्वे कर्पोरेसन लिमिटेडका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेको पत्र बुझाएका छन् ।

रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र शनिबार भारतको जयनगर पठाउने योजना छ । दुबै रेललाई सञ्चालनमा नल्याउँदासम्म जयनगरको नेपाल प्लेटर्फममा पार्किङ्ग गरी राखिने छ ।

सञ्चालनको टुंगो छैन

यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म सञ्चालन गर्न किनिएको हो । तर, हाल जनकपुरदेखि जयनगरसम्म मात्र लिक निर्माण भएको छ ।

अन्य भागको काम भइरहेको छ । त्यसैले पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुनेछ । पूर्ण गतिमा चलाउने हो भने यो १९ मिनेटको दूरी हो । तर, यात्रुबाहक भएकाले यो रेल विभिन्न स्टेसनमा रोकिँदै ढिलो चल्ने छ ।

रेल त झण्डै एक अर्ब लगानी गरेर किनियो, तर कहिलेबाट चल्छ त ? यसको टुंगो लागिसकेको छैन । रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईले अनलाइनखबरसँग भने, कोभिडले समस्या भएन भने एक-डेढ महिनामा सञ्चालनमा ल्याउँछौं ।’

भट्टराईका अनुसार नियमित सञ्चालनका लागि प्राविधिक जनशक्ति छैन । यो उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरिएको छ । भारत सरकारसँग केही सम्झौता हुन बाँकी छ ।

महाप्रबन्धक भट्टराईले भने, ‘हामी अन्तिम चरणको छलफलमा छौं । कुन मोडालिटीमा चलाउने, कति कर्मचारी दिने, खर्च कसरी व्यवस्थापन गर्ने भनेर उहाँहरुको प्र्रस्ताव केही दिनमा आउँछ ।’

त्यसो त रेल्वे सञ्चालनका लागि कानून पनि छैन । तत्काल कानुन बनाउन संघीय संसद पनि छैन । तर, ऐन पास नहुँदासम्म कुर्न नसक्ने भएकाले अध्यादेश ल्याएर भए पनि चाँडै रेल चलाउने योजना रहेको रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले जानकारी दिए ।

प्रदेश सरकारलाई खबर नै भएन

रेल हस्तान्तरण कार्यक्रममा रेल्वे विभागका महाप्रबन्धकदेखि महानिर्देशक, निर्देशकहरु जनकपुरमा उपस्थित भए । प्रमुख अतिथि थिए- धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई । तर, कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधिहरु देखिएनन् ।

प्रदेशको राजधानीमै रेल आएर पनि प्रदेश सरकारलाई कुनै जानकारी नदिइएको प्रदेश सरकारले बताएको छ । प्रदेश सरकारले यसलाई संघीयताबिरोधी क्रियाकलापको संज्ञा दिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अनलाइनखबरसँग भने, ‘यही जनकपुरधामभित्रै प्रदेशको राजधानी पनि छ । यहाँ प्रदेशका मुख्यमन्त्री छन्, मन्त्रीहरु छन् । तर, कसैलाई जानकारी दिइएन । यो संघीयताबिरोधी मानसिकताबाहेक केही पनि होइन ।’

सिंहदरबारले प्रदेशमा पनि सरकार छ भन्ने बुझ्न जरुरी रहेको मुख्यमन्त्री राउतले बताएका छन् । संघीय सरकारले प्रदेशसँग समन्वय गर्न नचाहेको यसबाट पुष्टि भएको उनले बताए । ‘प्रदेश सरकारको अस्तित्वलाई स्वीकार नगर्ने जुन मानसिकता छ, त्यही मानसिकताले हामीसँग समन्वय र सहकार्य गरिरहेका छैनन्’ राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment