Comments Add Comment

‘प्रेसको मुख थुन्ने सरकारले आम मान्छेलाई के गर्ला ?’

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा संविधानसभा भवन अगाडि जनमत लिइरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको धरपकडको व्यापक विरोध भएको छ ।

लेखक खग्रेन्द्र संग्रौलाले प्रेसको मुख थुन्न खोजेर सरकार फासीवादको मतियार बनेको उल्लेख गरेका छन् ।

‘नयाँ बानेश्वरमा प्रहरीले संसारले देख्ने गरी पत्रकारद्वय चन्द्रबहादुर आले र रोयल आचार्यलाई दुर्व्यवहार गरेछ’ संग्रौलाले सामाजिक सञ्जाल टि्वटरमा लेखका छन्, ‘आम मान्छेका हकको आवाज सञ्चार गर्ने पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरीले आम मान्छेलाई के गर्ला ? प्रेसको मुख थुन्न खोज्ने यो सरकार त फासीवादको मतियार पो भो लौ !’

नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले पनि प्रहरी दमनको विरोध र दोषीमाथि कडा कानूनी कारवाहीको माग गरेका छन् ।

प्रधानमन्त्रीज्यू, दमनले आवाज बन्द गर्ने हतियार भुत्ते भइसक्यो : गगन थापा

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले पनि प्रहरी दमनको निन्दा गरेका छन् । उनले टि्वटरमा लेखेका छन्, ‘यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन, विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर थापाले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू स्मरण होस् दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो ।’ नेपाल प्रहरीलाई नेता थापाको सुझाव छ, आदेश पालन गर्ने नाममा संयम नगुमाउनुहोस् ।’

प्रहरीले शुक्रबार मास्क लगाएर, सामाजिक दुरी कायम समेत कायम गरेर जनमत लिइरहेका अनलाइनखबरकर्मी रोयल आचार्य र चन्द्रबहादुर आलेमाथि नयाँ बानेश्वरमा हातपात गरेका थिए । पत्रकार मात्रै होइन गभर्वती श्रीमतीको अस्पतालमा परीक्षण गराएर फर्केका बसन्त पौडेललाई समेत लखेटी लखेटी कुटेका थिए ।

बानेश्वरमा मात्रै होइन, हिजै बबरमहलमा सिराहाका बब्लु गुप्ता र माइतीघरमा अनामनगरका मनिष श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी गम्भिर घाइते हुने गरी कुटपिट गरेको छ । उनीहरू दुबैको अस्पताल उपचार चलिरहेको छ ।

पत्रकार र नागिरकमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा सामाजिक सञ्जालमा आक्रोश पोखिन थालेको छ ।

पत्रकार दीपक घिमिरेले लेखेका छन् ‘बोल्नै नदिने अनि जनताले झण्डा फहराइदिनुपर्ने ? जनतालाई अपिल गर्नुपर्ने ? घिमिरे भन्छन्, ‘खुशी र हर्ष त जनताले आफैंले अनुभूत गरेको हुनुपर्छ । ‘जनताको संविधान दिवस हो भने जनता आफैंले हर्षोल्लासले मनाइहाल्छन्, निर्देशन दिनुपर्दैन । यो त जबरजस्त लादेको भैगो नि !’

यो पनि पढ्नुहोस संविधान दिवसबारे बोल्दा प्रहरीले लखेटी लखेटी कुट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment