Comments Add Comment

यस्तो रहेछ बोत्स्वानामा सयौं हात्ती मर्नुका कारण…

५ असोज, काठमाडौं । बोत्स्वानाका अधिकारीहरुले पछिल्लो केही महिनायता सयौं हात्तीको मर्नुको कारण पानीमा पाइने साइनोक्याक्टेरिया रहेको निष्कर्ष निकालेका छन् । पछिल्लो समय बोत्स्वानामा भटाभट हत्तीहरु मर्न थालेपछि हात्तीको संरक्षणप्रति चिन्ता उत्पन्न भएको थियो । साथै हात्तीहरु किन मरे भन्ने पनि रहस्यको विषय बनेको थियो ।

गत जुलाई महिनामा अफ्रिकाको भूपरिवेष्ठित मुलुक बोत्स्वानाले हात्तीहरु मर्नुको रहस्यबारे अनुसन्धान सुरु गरेको बताएको थियो । त्यसका लागि नमुनाहरु संकलन गर्ने, सुरक्षाकर्मी परिचालन गर्ने र हवाई गस्ती गर्नेलगायतका काम गरिएको थियो ।

‘हाम्रो पछिल्लो परीक्षणले मृत्युको कारण साइनोब्याक्टेरियल न्युरोटोक्सिन रहेको पत्ता लगाएको छ । यी ब्याक्टेरिया पानीमा पाइन्छ’, बोत्स्वानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका प्रमुख भेटेरिनरी अधिकारी एममाडी रेउबेनले भने, ‘यद्यपि अझै पनि किन त्यही क्षेत्रमा र किन हात्तीहरु मात्र मरे ? भन्नेजस्ता धेरै प्रश्नको उत्तर पत्ता लाग्न भने बाँकी छ ।’

रेउबेनले अहिले पनि मृत्युबारे भइरहेको धेरै किसिमको अनुमानबारे अनुसन्धान भइरहेको बताए । विभागका उपमहानिर्देशक सिरिल ताओलोले मर्ने हात्तीको संख्या ३३० पुगेको जानकारी दिए । गत जुलाई महिनामा सार्वजनिक गरिएको तथ्यांकमा २८१ हात्तीहरु मरेको उल्लेख थियो ।

बोत्स्वाना विश्वको सबैभन्दा धेरै हात्ती भएको मुलुक हो । यो मुलुकमा एक लाख ३० हजार हात्ती रहेको अनुमान छ । यसअघि सेप्टेम्बरको सुरुमा जिम्बाबेले पनि मुलुकको सबैभन्दा ठूलो गेम पार्कनजिकै २० ओटा हात्तीको कंकाल भेटिएको बताएको थियो । यी हात्तीहरुको मृत्यु पनि ब्याटेरियाको संक्रमणको कारण भएको हुन सक्ने जिम्बाबेका अधिकारीहरुको आशंका थियो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment