
६ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।
उनका अनुसार चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६ महिनादेखि सीमामा अलपत्र परेका छन् ।
लामो समयदेखि सीमामै रोकिँदा सामान बिग्रिने र नेपाली व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपर्ने डा. भट्टराईको भनाइ छ । तर पनि सरकार कानमा तेल हालेर बसेको उनले बताएका छन् ।
छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ।व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन्!सरकार किन कानमा तेल हालेर बसेको हो? pic.twitter.com/I2v5EBDLcZ
— Baburam Bhattarai (@brb1954) September 22, 2020
उनले आज विहान ट्वीटरमा लेखेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’
चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी हाल बन्द छन् । रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको छ ।
यस्तै तातोपानी नाकाभन्दा करिब ३५ किलोमिटर माथि चीनतर्फ पर्ने एक ताल बिष्फोटको जोखिम रहेको भन्दै चिनियाँ पक्षले सो नाका पनि बन्द गरेको छ । नाका बन्द हुँदा चीनबाट आयात गरिएका सामान लोड गरिएका कन्टेनरहरु नेपाल प्रवेश गर्न पाएका छैनन् ।
यसअघि २०७२ सालको भूकम्प र भारतले गरेको नाकाबन्दीको बेलामा पनि चीनले नेपालसँग जोडिएका ब्यापारिक नाका बन्द गर्दा नेपालीहरु मर्कामा परेका थिए ।
प्रतिक्रिया 4