Comments Add Comment

कोरोना संक्रमित कैदीको मृत्युमा परिवारको आशंका

अस्पताल भन्छ– शव -संरक्षण गर्न नसक्दा सड्यो

६ असोज, काठमाडौं । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन विताइरहेका रामलखन जैसवाललाई शनिबार राति ९ः४५ बजे एक्कासी श्वास फेर्न समस्या भयो ।

नाइकेले खबर गरेपछि प्रशासनले वीर अस्पताल पुर्‍यायो । पार्किन्सन (शरीर काम्ने नसासम्बन्धी एक प्रकारको रोग) बाट लामो समयदेखि ग्रसित जैसवाललाई चिकित्सकले मृत घोषित गरे ।

कारागारमा ठूलो संख्यामा कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण देखिएकाले अस्पतालले पिसीआर परीक्षण पनि गर्‍यो । परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटा बताउँछन् ।

त्यसपछि प्रशासनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको परिवारलाई खबर गर्‍यो ।

भैरहवाबाट जैसवालकी पत्नी, छोरी वीर अस्पताल आइपुगे । तर जैसवाललाई कोरोना पुष्टि भइसकेकाले अस्पताल प्रशासनले परिवारका सदस्यहरुलाई शव हेर्न दिएन । छोरी जबरजस्ती शव गृहमा प्रवेश गर्दा शवमा फोकाहरु देखिए, आँखा छेऊ रगत पनि देखियो । यसलाई परिवारले शंकास्पद मानेको छ ।

मृतकका दाजु गोपालले अनलाइनखबरसँग भनेका छन्, ‘शव हेर्न समेत नदिन खोजिएको थियो तर, छोरीले कसोकसो गरेर शव हेर्दा अपत्यारिलो घटना देखियो ।’

मृतककी छोरीले शवको दृश्य मोबाइलमा पनि कैदी गरेकी छन् । परिवारले अहिले पोष्टमार्टम नगरी शव उठाउन नदिने अडान लिएको गोपाल बताउँछन् ।

शव गलेर त्यस्तो देखिएको हो : अस्पताल

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने जैसवालको शव धेरै दिन राखिएकाले गलेर त्यस्तो देखिएको बताउँछन् । ‘अस्पतालमा ल्याउँदै मृत्यु भइसकेको घटना हो, यहाँ घोषणा गरिएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘तीन दिन भइसकेकाले शरीर डिकम्पोज हुन सुरु भएको हो । छोपेर मात्र राखेकाले रगत आउने भएको हो ।’

उनका अनुसार शवलाई प्रिजर्भ (संरक्षण गरेर) राख्ने ठाउँ नभएकाले त्यत्तिकै छोपेर राखिएको थियो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेल पनि घटनामा शंका गर्नुपर्ने आधार नभएको बताउँछन् । ‘उहाँको उपचारमा अहिलेसम्म ५ लाख रुपैयाँभन्दा बढी सरकारी रकम खर्च भइसकेको छ’, पोखरेलले अनलाइनखबरसँग भने, ‘पछिल्लो पटक पनि उहाँलाई समस्या देखिएपछि तत्काल अस्पताल लगिएको देखिन्छ ।’

यद्यपि परिवारलाई चित्त नबुझे थप छानविनको बाटो समेत रहेको उनले बताए ।

पूर्ववडाध्यक्ष समेत रहेका जैसवाल २९ वैशाख २०६९ सालदेखि कैद जीवन विताइरहेका छन् । अझै ११ वर्ष सजाय भुक्तान गर्न बाँकी रहेको बाँस्कोटा बताउँछन् ।

केन्द्रीय कारागारका जेलर बाँस्कोटाका अनुसार जैसवाल पहिले भैरहवा कारागारमा थिए । उपचारका लागि समस्या भएपछि केन्द्रीय कारागारमा सरुवा गरिएका थिए । केन्द्रीय कारागारमा कैदीबन्दीको उपचारका लागि छुट्टै अस्पताल छ । त्यहाँ उपचार सम्भव नभए अन्य सरकारी अस्पताल पनि लैजाने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment