Comments Add Comment

मन्त्री र संवैधानिक अंगको नियुक्तिमा नेकपा सचिवालयको चासो

वामदेवले भने - संविधानको गलत व्याख्या गर्न पाइँदैन !

Photo Credit : फाइल तस्वीर

६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेर र संवैधानिक अंगका नियुक्तिका विषयमा चासो राखेका छन् ।

मंगलबार बसेको सचिवालय बैठकले चाँडो संवैधानिक परिषदको बैठक राखेर विभिन्न संवैधानिक अंगहरुमा पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । बैठकले चाँडै आयोगहरुलाई पूर्णता दिन प्रधानमन्त्रीलाई भनेको छ ।

मंगलबारको बैठकले संवैधानिक परिषदको बैठक राख्न र पदपूर्ति प्रक्रिया अगाडि बढाउन आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताए ।

हाल अख्तियार दुरूपयोग अनुसन्धान  आयोग लगायतका विभिन्न संवैधानिक अंगहरुमा ४० भन्दा बढी पदाधिकारीहरु रिक्त छन् । महिला आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग लगायत संविधानले परिकल्पना गरेका विभिन्न आयोगहरु खाली छन् । मुस्लिम आयोग, वित्त आयोग लगायतका आयोगले पूर्णता पाउन सकेका छैनन् । अख्तियारमा प्रमुखसहित तीन पदाधिकारी रिक्त छन् ।

जननिर्वाचित सरकार गठन भएको अढाइ वर्ष पुग्दा पनि संवैधानिक अंगले पूर्णता नपाएको भन्दै सरकारको आलोचना भइरहेका बेला मंगलबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई चाँडो संवैधानिक परिषदको बैठक राख्न भनेको हो ।

विपक्षी दलको नेतासमेत सदस्य रहने संवैधानिक परिषदको सिफारिसका आधारमा आयोगका पदाधिकारीहरु चयन हुने संवैधानिक प्रावधान छ ।

विभिन्न आयोगमा रिक्त रहेका ४२ भन्दा बढी पदाधिकारीमध्ये कुन आयोगमा के कस्तो रिक्तता छ भन्नेबारे सूची बनाएर आयोगहरुलाई पूर्णता दिने प्रक्रिया अघि बढाउनुपर्ने बैठकको निश्कर्ष रहेको एक नेताले बताए । तर, संवैधानिक अंगमा कसलाई नियुक्त गर्ने भनेर व्यक्तिका बारेमा नेकपा सचिवालयले कुनै छलफल नगरेको ती नेताले बताए ।

मन्त्रीहरु हेरफेर र संबैधानिक अंगका नियुक्तिहरुबारे पार्टीको बैठकमा छलफल हुँदा प्रधानमन्त्रीय पद्दतिमाथि दलीय हस्तक्षेप ठहरिने भन्दै कतिपयले आलोचना गर्न थालेका छन् । तर, नेकपा नेताहरु भने पार्टीको बैठकमा व्यक्तिका विषयमा छलफल नभएको दाबी गर्छन् ।

मन्त्रीबारे अपूरो छलफल

आइतबार पेरिस डाडाँमा बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिहरु हेरफेर गर्ने सैद्धान्तिक सहमति जनाएको स्रोतले अनलाइनखबरलाई बतायो ।

मन्त्रीहरु हेरफेर गर्ने पार्टीको बैठकमा भएको निर्णयले ओली सरकारका प्रायः सबै मन्त्रीहरु अघोषित रुपमा कामचलाऊ जस्तै परिणात भएका छन् । कतिपय मन्त्रीले त दशैंअघि नै सरकारी निवास छाड्नुपर्ने सम्भावना रहेको भन्दै आफ्नो निजी आवासको मर्मत समेत थालिसकेका छन् ।

नेकपा सचिवालयका नेताहरु दशैंअघि नै मन्त्रीहरु हेरफेर हुन सक्ने बताउँछन् । यद्यपि आइतबार पेरिसडाँडामा भएको छलफल अपूरो रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

कुन मन्त्रीलाई हटाउने र कसलाई राख्ने भन्ने व्यक्तिका विषयमा छलफल भएको छैन’, एक सचिवालय सदस्यले भने, कसरी फेरबदल गर्ने भन्नेबारे सैद्धान्तिक छलफल मात्र भएको हो र यसमा प्रधानमन्त्रीले सुझावहरु माग्नुभएको हो ।

सचिवालय बैठकमा नेता वामदेव गौतमले आफूलाई मन्त्री बनाउने/नबनाउनेबारे पार्टीले नै निर्णय गरोस् भनेका छन् । तर, संविधानको गलत व्याख्या गर्न नपाइने आइतबार पेरिसडाँडामा बसेको बैठकमा नेता गौतमले बताएका थिए ।

१० दिनमा एकताको काम टुंग्याइने

यसैवीच, मंगलबार बालुवाटारमा बसेको बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको छ ।

त्यसपछि सचिवालय बैठकमा अध्यक्ष र महासचिवले ल्याएको प्रस्तावमाथि छलफल हुनेछ । तर, अन्य विषयमा छलफल गर्न केही दिनभित्रै अर्को बैठक बस्ने नेकपा नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment