Comments Add Comment

क्रिकेट खेलाडी ग्रेडिङको कथा : ललित राजवंशी किन परेनन् ?

७ असोज काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को केन्द्रीय सम्झौतामा पर्ने खेलाडीहरुको सूची सार्वजनिक गर्दा ललित नारायण राजवंशी कुनै पनि ग्रेडमा अटाएनन् । सोमपाल कामी भने बी ग्रेडमा झरेका छन् ।

कोरोना महामारीका कारण पछिल्लो ६ महिना अरु जस्तै क्रिकेटका कुनै खेल भएको छैन । वर्ष २०२० मा नेपालले २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो, फेब्रुअरीमा नेपालमा भएको टी–२० विश्वकप त्रिकोणात्मक श्रृङ्खला र मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिता ।

क्यानको २०७६ माघ २७ मा बसेको बोर्ड बैठकले पुरुषतर्फ २४ र महिलातर्फ १८ खेलाडीसँग केन्द्रीय सम्झौता गर्ने निर्णय गर्दै ग्रेडिङ गर्न कोषाध्यक्ष रोशन सिंहको नेतृत्वमा दुर्गाराज पाठक र अमितवीर पाण्डे रहेको समिति बनाएको थियो ।

तर कोरोना महामारीका कारण खेल गतिविधि हुन सकेन र लामो समय बोर्ड बैठक पनि बस्न सकेन । अहिले केन्द्रीय सम्झौता गर्ने खेलाडीहरुको सूचीलाई २४ बाट १८ मा झारिएको छ र ललित राजवंशी ग्रेडिङबाट बाहिरिँदा भने सोमपाल बी मा परे ।

व्यक्तिगत कारणले सोमपालले २०२० मा ट्राई सिरिज र इस्टर्न रिजन दुवै प्रतियोगिता खेलेनन् भने ललितले ट्राई सिरिजमा अमेरिकाविरुद्ध टिममा परेर पनि बलिङ गर्न पाएनन् । अरु खेलमा अबसर नपाएका उनी इस्र्टन रिजनमा टिममा थिएनन् ।

ट्राई सिरिजमा कुशल मल्ल, अभिनाश बोहरा र कमल सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियागिता (ओडीआई) मा डेब्यु गरेका थिए ।

तर २०१९ मा दुबै राष्ट्रिय टिमको नियमित सदस्य थिए । उनी ग्रेडिङमा नपर्दा अर्थपूर्ण मानिएको छ । क्यानले पनि ग्रेडिङको आधार सार्वजनिक गरेको छैन ।

यसबारे सोधिएको प्रश्नमा क्यान स्रोतले भन्यो, ‘ग्रेडिङको काम पहिल्यै भइसकेको थियो, अहिले बोर्डले अनुमोदन मात्र गरेको हो । सुरुकै निर्णय अनुसार २४ जना खेलाडी केन्द्रीय सम्झौता गरेको भए राष्ट्रिय टिमका लगभग सबै पर्थे ।’

त्यसबेला क्यानले खेलाडीहरुलाई चार ग्रेडमा राख्न चाहेको थियो । सिनियर र राम्रो प्रदर्शन गर्नेलाई ए प्लसमा राख्ने र राष्ट्रिय प्रतियोगिता खेलेका उदीयमान खेलाडलाई सी ग्रेडमा मौका दिने तयारीअनुसार काम भएको थियो ।

तर त्यसअनुसार काम हुन नपाएकाले पनि यसो भएको हुनसक्ने स्रोतको दाबी छ । साथै यो ग्रेडिङ २०२० का लागि मात्र रहेको क्यानले जनाएको छ । अब यो २०२० को डिसेम्बरसम्म मात्र लागू हुन्छ । २०२१ मा नयाँ सम्झौता हुनेछ ।

२०२० को ग्रेडिङमा बी र सी ग्रेडमा धेरै फेरबदल भएको छ । आईसीसीले २०१९ को तलब दिँदा बी मा झरेको बसन्त रेग्मी नयाँ ग्रेडिङमा ए ग्रेडमै फर्किएका छन् । एमा रहेका सोमपाल कामी बीमा झरेका छन् । आरिफ शेख, सुशन भारी र पवन सरार्फ बी ग्रेडमा यथावत छन् । यसअघि बी मा रहेका अभिनाश बोहरा र रोहितकुमार पौडेल सी ग्रेडमा झरेका छन् । यस्तै सुवास खकुरेल पुनरागमन गर्दै सी ग्रेडमा पर्दा कमल सिंह ऐरीले यो समूहमा इन्ट्री मारेका छन् । यस्तै रासिद खान र कुशल मल्ल सी ग्रेडमै यथावत छन् ।

२०१९ मा आईसीसीले उपलब्ध गराएको तलब अनुसार वर्गीकरणमा रहेका २२ मध्ये ललित राजवंशीसहित ६ खेलाडी अहिले बाहिरिएका छन् । त्यसमा बी मा रहेका ललित राजवंशी र सन्दीप जोरासंगै सी मा रहेका राजु रिजाल, प्रदीप ऐरी, इशान पाण्डे र कुशल भुर्तेल नयाँ ग्रेडिङमा अटाएका छैनन् ।

एउटै ग्रेडमा रहिरहने पारस, ज्ञानेन्द्र र शरद मात्र

सन् २०१५ मा पहिलो पटक क्यानले क्रिकेट खेलाडीहरुको ग्रेडिङ गरेको थियो र, चार ग्रेडमा २२ खेलाडी समावेश थियो । त्यसयता धेरै फेरबदल भइसेको छ । तर पारस खड्का ज्ञानेन्द्र मल्ल र शरद भेषावकर भने सधैं ए ग्रेडमा रहिरहेका छन् ।

यस्तै बसन्त रेग्मी एक पटक बी मा झर्नुबाहेक एमै छन् । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी पनि पनि ग्रेडिङमा परेपछि लगातार ए मै छन् । २०१५ मा सबैभन्दा तल डी ग्रेडमा रहेका करण केसीले भने फड्को मारेका छन् । उनी डीबाट बी हुँदै ए मा पुगेका हुन् ।

यस्तै पहिलो पटक ग्रेडिङ हुँदा ए मा रहेका सुवास खकुरेल दोस्रोमा सी मा घटुवा हँदा तेस्रो पटक ग्रेडिङमा परेनन् । अहिले फेरि सीबाट पुनरागमन गरेका छन् । पहिलो पटक सी ग्रेडमा परेका आरिफ त्यसयता बी मा छन् । यस्तै पहिलो पटक बी मा परेका सोमपाल दोस्रो र तेस्रो पटक ग्रेडिङमा ए थिए अहिले बी मा झरेका छन् ।

पहिलो पटक ए ग्रेडमा रहेका शक्ति गौचन दोस्रो पटक बी ग्रेडमा घटुवा भएका थिए । त्यसपछि उनले सन्यास लिइसकेका छन् । पहिलो पटक बी मा परेका विनोद भण्डारी दोस्रो पटक सी मा झरेका थिए । त्यसपछि पुनरागमन गर्दै लगातार ए मा छन् ।

अहिलेसम्म भएका ग्रेडिङ र त्यसमा परेका खेलाडीहरुको सूचीः

२०१५ मा ग्रेडिङमा पर्ने २२ खेलाडीहरु

ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सुवास खकुरेल ।

ग्रेड बी : सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, अमृत भट्टराई, विनोद भण्डारी, भुवन कार्की ।

ग्रेड सी : महबुब आलम, जितेन्द्र मुखिया, अनिल मण्डल, आरिफ शेख, राहुल विक, प्रदीप ऐरी ।

ग्रेड डी : करण केसी, राजेश पुलामी, रामनरेश गिरी, राजु रिजाल

२०१७–१८ को ग्रेडिङमा रहेका २१ खेलाडीहरु

ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी

ग्रेड बी : शक्ति गौचन, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी ।

ग्रेड सी : सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी ।

२०१९ को ग्रेडिङमा रहेका २२ खेलाडी

ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

ग्रेड बी : अभिनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, पवन सराफ, सन्दिप जोरा, सुशन भारी

ग्रेड सी : राजु रिजाल, प्रदीप ऐरी, रसिद खान, इशान पाण्डे, कुशल मल्ल, कुशल भुर्तेल

२०२० को ग्रेडिङमा परेका १८ खेलाडी

ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी

ग्रेड बी : आरिफ शेख, सोमपाल कामी, पवन सराफ, सुशन भारी

ग्रेड सी : अभिनाश बोहोरा, रोहित पौडेल, कुशल मल्ल, कमल सिंह ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment