Comments Add Comment

भारत पुर्‍याइएकी किशोरी गिरोहबाट यसरी फुत्किइन्

बलि दिन लगिएको आशंका

७ असोज, विराटनगर । सुनसरीकी १७ वर्षीया मञ्जु (नाम परिवर्तन) र मोरङकी २२ वर्षीया मनिका ढकालबीच निकै घनिष्ठता थियो । मञ्जुको कल्पनामा पनि थिएन, दिदीसरह विश्वास गरेकी मनिकाले आफूमाथि यति ठूलो षडयन्त्रको जाल बुन्लिन्।

रामधुनी नगरपालिका-५ झुम्का बस्ने मञ्जु कक्षा १० मा अध्ययनरत छिन् । लकडाउनका कारण विद्यालय बन्द हुँदा उनी लामो समयदेखि घरमै थिइन् । मोरङको लेटाङ नगरपालिका-३ घर भई झुम्कामा दिदीसँग पसल सञ्चालन गर्दै आएकी मनिकासँग उनको दिदीबहिनी जस्तो सम्बन्ध थियो । एकअर्काको घर र डेरामा बाक्लै आउजाउ भइरहन्थ्यो । मनिकाले मञ्जुकी आमाबुबालाई मामा-माइजू नाताले सम्बोधन गर्थिन् ।

सप्तरी विष्णुपुर गाउँपालिका- ५ घर भएका २८ वर्षीय सुमितकुमार मण्डलसँग मनिकाको चिनजान थियो । तीनचार वर्षदेखि फेसबुकमार्फत जोडिएका उनीहरुबीच निरन्तर कुराकानी भइरहन्थ्यो । मनिकाले पैसा आवश्यक पर्दा सुमितसँग सापटी माग्थिन् । पछिल्लोपटक सुमितले पूजाका लागि एउटी कुमारी केटी खोजेर ल्याइदिएमा टन्नै पैसा दिने प्रस्ताव गरे ।

केटी ५ फुट २ इञ्च उचाइ भएकी, किशोरी र महिनावारी नभएको हुनुपर्ने सर्त थियो । मनिकाले झट्ट मञ्जुलाई सम्झिइन् । घरमै पुगेर उनले मञ्जुको उचाइ नापिन् । उचाई ठ्याक्कै पाँच फुट २ इञ्च थियो । विराटनगर पूजामा गएमा पाँच हजार रुपैयाँ पाइने र आफूले मोबाइल किनिदिने भन्दै किशोरीलाई फकाइन् । किशोरीकी आमालाई पनि फकाइन् । सुरुमा नमाने पनि दुई घन्टामा नै फर्किने बताएपछि आमाले पनि अनुमति दिइन् ।

मनिका र मञ्जु झुम्काबाट गाडी चढेर विराटनगर आए । विराटनगरमा पर्खिएर बसेका थिए सुमित र सप्तरीकै तिलाठीकैलारी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डल । मनिकाले गाडीमा आउँदै गर्दा तस्वीर खिचेर पनि पठाएकी थिइन् ।

यो पनि पढ्नुहोस ‘बलि चढाउन’ भारत लगिएकी किशोरीको उद्धार, ३ जना पक्राउ

विराटनगर आएपछि मनिकाले पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने बताइन् । आफू सँगै हुने मानिकाले बताएपछि मञ्जु राजी भइन् । चोरबाटोबाट उनलाई जोगवनी पुर्‍याइयो । जोगवनीबाट फारबिसगञ्जसम्म अटोमा र फारबिसगञ्जबाट सिमराहीसम्म गाडी चढाइयो । सिमराही विराटनगरबाट ६३ किलोमटर दक्षिण पर्छ । फारविसगञ्जबाट सिमराहीको दुरी ४८ किलोमिटर पर्छ ।

मनिकाको भरमा अपरिचित युवकसँग सिमराही पुगेकी किशोरी त्यतीबेला छाँगाबाट खसेजस्तो भइन्, जतिबेला उनलाई लिन अरु नै मान्छे आउने भनियो । सिमराहीमा आफूले मान्छे ल्याए पनि रिसिभ गर्ने मान्छे आइनपुगेको भन्दै कुरा गरेको सुनेपछि उनले आफू बेचिन लागेको थाहा पाइन् ।

तीनजना रिसिभ गर्न आउने मान्छेको प्रतिक्षामा बसिरहँदा उनी फुत्किएर फारबिसगञ्ज आउने बसमा चढिन् । उनलाई लखेट्दै तीनैजना सोही बसमा चढे । उनीहरुले मञ्जुलाई फारविसगञ्जसम्म सम्झाउने प्रयास गरे । तर फारविसगञ्जमा उत्रिएर उनी तुरुन्तै जोगवनीका लागि अटोमा चढिन् । मनिका, सुमित र प्रदीप अर्काे टेम्पोमा पछि-पछि लखेट्दै आए । तर, भेट्न सकेनन् ।

विराटनगर आइपुग्दा झमक्क साँझ परेको थियो । विराटनगर महानगरपालिका- १७ इस्लामपुरबाट युवतीको उद्दार गरी तीनजनालाई पक्राउ गरियो । घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बलि दिन भारत लगिएको अनुमान छ । तर प्रहरीले भने बेचबिखनका लागि लगेको बताएको छ ।

१२ लाखमा डिल

मनिकाले मञ्जुलाई पाँच हजार दिने र आफूले एउटा मोबाइल किनिदिने आश्वासन किशोरीलाई दिएकी थिइन् । उनी स्वयंचाहिँ किशोरीलाई विराटनगर पुर्‍याएवापत सुमितबाट पाँच लाख पाउने आशमा रहिछन् । सुमितको भिनाजु पर्नेले पूजाका लागि कन्या केटी मगाएका थिए ।

‘कन्या (कुमारी) केटीलाई पूजामा राखेर टीका लगाउँदा पाँच हजार दिने आश्वासन दिइएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘मनिकाले मोबाइलसमेत किनिदिन्छु भन्दै प्रलोभन देखाएको खुलेको छ ।’

प्रहरी स्रोतका अनुसार सुमितका भिनाजु रन्दीर मण्डलले भारतको सहर्सा जिल्लामा बसेर निर्माणसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका छन् । उनले नै युवती खोजिदिएकम १२ लाख रुपैयाँ दिने सुमितलाई आश्वासन दिएका थिए । सुमितले युवती खोज्न मनिकालाई प्रयोग गरे । मनिकाले आफ्नै नजिकको साथीलाई लिएर आइन् ।

‘पैसा पाउने आशमा मनिकाले छिमेकी किशोरीलाई ल्याएको देखिन्छ,’ स्रोत भन्छ, ‘१२ लाखमध्ये मनिकालाई चार/पाँच लाख दिएर अरु पैसा सुमित र प्रदीपले बाँड्ने योजनामा थिए ।’

किशोरीको उद्दारमा खटिएको साना हातहरु नामक संस्थाका विराटनगर प्रमुख विवस श्रेष्ठले किशोरीलाई बलि चढाउनका लागि लगिएको दाबी गर्छन् । श्रेष्ठका अनुसार उद्धार गरिएका बेला किशोरी निकै डराएकी थिइन् ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनामा संलग्नमाथि अनुसन्धान सुरु गरिएको बताए । पूजाको बहानामा बिक्री गर्न लगेको हुनसक्ने उनको भनाइ छ । बलि चढाउन लगिएको भने खुल्न नसकेको उनले बताए ।

‘किशोरीको उद्धार गर्दै उनलाई भारत लैजानेलाई पक्राउ गरिएको छ,’ खड्काले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।’

पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन-२०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

यो पनि पढ्नुहोस प्रहरीलाई समयमै खबर गर्दा ‘बलि’ बाट जोगिइन्

झुम्काकी किशोरीको घटनाजस्तै गत ८ पुसमा काठमाडौं बस्दै आएकी एक मोडललाई प्रभावमा पारेर भारत पुर्‍याइएको थियो । एउटा गिरोहले विशेष समारोहमा सहभागी भए ५० हजार रुपैयाँ र प्लेन टिकटको आश्वासन दिएर काठमाडौंबाट विराटनगर ल्याएको थियो ।

ती मोडलले समयमा नै प्रहरीलाई जानकारी गराएका कारण काठमाडौं प्रहरी परिसर टेकुले जोगवनीबाट उद्दार गर्न सफल भयो । सो घटनामा प्रहरीले ‘कोभर्ट’ अप्रेसन चलाएर ६ जनालाई विराटनगर र एकजनालाई काठमाडौंबाट पकाउ गरेको थियो । नेपाल र भारतमा सुटिङ हुने भन्दै काठमाडौंबाट ल्याइएकी मोडलाई विराटनगरको काली धर्मशालामा राखेर जोगवनी पुर्‍याइएको थियो ।

उनलाई बलि दिन भारत लैजाने गिरोहका सदस्य सप्तरी घर भएका उमेश साह, सुनसरी घर भएका रञ्जितकुमार चौधी, मोरङका दीलिप पोद्दार दाङकी दिलकुमारी बुढा, नवलपरासीका कृष्ण तामाङ, सितापाइलाकी प्रेममाया तामाङ पक्राउ परेका थिए ।

कोठीले महंगोमा किन्दैन युवती !

भारतमा यौन व्यवसायका लागि नेपाली युवतीलाई झुक्याएर लैजाने घटना नयाँ होइन । वर्षौयता युवतीलाई विभिन्न बहानामा भारततर्फ लगेर बिक्री गर्ने गिरोह सक्रिय छ । यसरी बिक्री गर्दा अधिकत मूल्य तीन लाखसम्म दिने गरिएको बताइन्छ।

डेढ बर्षअघि बिक्रीका लागि बिराटनगरको रानीबाट भारततर्फ लैजानै लाग्दा माइती नेपालले मोरङ रंगेलीबाट एक किशोरीलाई उद्दार गरेको थियो । सो घटनामा किशोरीलाई कोठीमा पुर्‍याउने गिरोहेले साढे तीन लाख रुपैयाँको प्रलोभन दिएको माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेल बताउँछन् ।

‘सबैभन्दा ठूलो डिल डेढ वर्षअघि साढे तीन लाखको देखिएको थियो,’ उनी भन्छन्, ‘त्यसअघि भने एकदेखि डेढ लाखसम्मको डिल भएको घटनामा उद्दार गरेका थियौं ।’

झुम्काकी किशोरीलाई महंगोमा बिक्री गर्ने डिल गरेको विषय बाहिर आएकाले घटना शङ्कास्पद भएको उनी बताउँछन् ।

नेपाली किशोरीलाई केही वर्ष अघिसम्म सर्कसमा विक्री गर्नका लागि भन्दै भारत लगिन्थ्यो । तर पछिल्लो समय सर्कसका लागि हुने ओसारपोसार भएको पाइएको छैन । नेपाली चेलीलाई विदेश पठाउने बहानामा कोठीमा विक्री गर्ने गिरोह पनि ठूलो रहेको पोखरेल बताउँछन् । बलि चढाउने विषय भने नयाँ भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment