Comments Add Comment
प्रहरी हिरासतमा यातना :

एसपीलाई विभागीय कारबाही र यातना दिनेलाई ज्यान मुद्दा !

प्रहरीले यातना दिएको सरकारी समितिको निष्कर्ष

८ असोज, काठमाडौं । सरकारी छानविन समितिले रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको निष्कर्ष निकालेको छ ।

समितिले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविराज खड्का, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसअनुसार विभागीय कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने यसबारे गृहको पत्र आइनसकेको अनलाइनखबरलाई बताए ।

गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा प्रहरीले ३२ साउनमा १९ वर्षीय विजय रामलाई पक्राउ गरेको थियो । हिरासतमा रहेकै बेला स्वास्थ्य विग्रिएको भन्दै प्रहरीले वीरगञ्ज लगेको थियो र नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

तर, विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटबाट मृत्यु भएको दाबी गरे । मृत्युअघि अस्पतालमा विजयले आफूलाई प्रहरीले हत्या अभियोग स्वीकार गर्न यातना दिएको बयान दिएको भिडियो समेत सार्वजनिक भएपछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप-सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

२ नं. प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एसपी सदस्य रहेको समितिले गृह सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ ।

यो पनि पढ्नुहोस प्रहरीका कारण उजाडिएको एउटा परिवार

समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा हिरासतमा विजयलाई यातना दिएको निष्कर्ष निकालिएको छ । जिल्लाको नेतृत्व तहमा रहेका अधिकारीले पनि पदीय जिम्मेवारी कुशलतापूर्वक पूरा नगरेको भन्दै विभागीय कारबाही सिफारिस गरिएको छ ।

हिरासतमा गएर यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको पनि उनले बताए । तीनै जनालाई प्रदेश नं. २ प्रहरी कार्यालयले १६ भदौमै निलम्बन गरिसकेको छ ।

मृतकका बुबा पनिलाल रामले पनि छानविन समितिकै सिफारिस जस्तै नयाँ जाहेरी पनि प्रहरीलाई दिएका छन् । उनले २५ भदौमा तत्कालीन एसपी खड्का, डीएसपी महतो, सई यादवसहित ६ जनालाई प्रतिवादी बनाएर यातना तथा ज्यानसम्बन्धी कसूरमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत किटानी जाहेरी दर्ता गराएका थिए ।

तीन दिनपछि हुलाकमार्फत यातना दिने कार्यमा संलग्न भनिएका तीन जनालाई मात्र प्रतिवादी बनाएर जाहेरी दिइएको रौतहटका एसपी सिद्धिविक्रम शाहले अनलाइनखबरलाई बताए । ‘पहिले भिडले भनेअनुसार जाहेरी दिएको थिएँ भन्दै सच्चाउन चाहेको बताउनुभएको थियो’, शाहले भने, ‘दुवै जाहेरी दर्ता छन्, अब सरकारी वकिलको निर्णय अनुसार कुन जाहेरी अघि बढ्ने भन्ने तय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment