Comments Add Comment

प्रेस काउन्सिलको काबा अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

बुढाथोकी बने नयाँ कार्यबाहक अध्यक्ष

९ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालमा आफ्नो कार्यकाल सकिने पूर्वसन्ध्यामा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार बुझाएको राजीनामा काउन्सिल बोर्डले स्वीकृत गरेको छ भने वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष चयन गरेको छ ।

काउन्सिलमा श्रेष्ठको कार्यकाल असोज १३ गते सकिँदैछ । चार दिनअघि कार्यबाहक अध्यक्षबाट राजीनामा दिएका उनी अब चार दिन सदस्यका रुपमा रहनेछन् । काउन्सिलमा सरकारको ठाडो हस्तक्षेप रोक्न आफूले राजीनामा दिएको श्रेष्ठले बताए ।

सरकारले केही एक महिनाअघि दुर्गा भण्डारी पौडेललाई कार्यबाहक अध्यक्ष नियुक्त गरेको थियो । त्यसविरुद्ध काउन्सिल बोर्ड सर्वोच्च अदालत गएको थियो ।

अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि श्रेष्ठ आफ्नो पदमा यथावत रहेका थिए ।

तर श्रेष्ठसँगै काउन्सिलका सदस्य खिलबहादुर भण्डारीको पदावधि १३ असोजमा सकिँदैछ । त्यो ठाउँमा सरकारले २ जनालाई नियुक्त गर्नेछ । हालै मात्र दुई जना नियुक्त गरिसकेको छ भने काउन्सिलका दुई सदस्य अहिले पनि श्रेष्ठ–बुढाथोकी खेमाको विपक्षमा छन् ।

उनीहरु मिलेर कार्यवाहक अध्यक्षमा बुढाथोकीलाई रोक्नसक्ने देखेपछि श्रेष्ठले कार्यकाल सकिनु चार दिनअघि नै कार्यबाहकबाट राजीनामा दिएर बुढाथोकीलाई नेतृत्वमा स्थापित गरेका हुन् ।

सरकारले दुई वर्षअघि काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्‍न उठेपछि अदालतमा मुद्दा पर्‍यो, जुन मुद्दा अहिले पनि विचाराधीन छ । सो मुद्दा नटुंगेसम्म कार्यवाहक अध्यक्षले काउन्सिलको नेतृत्व गर्नेछन्, जो काउन्सिल बोर्डले तोक्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment