Comments Add Comment

तोडफोड र गालीगलौजको नर्सिङ संघद्वारा विरोध

९ असोज, काठमाडौं । नेपाल नर्सिङ संघले आफ्नो कार्यालयमा केही नर्सहरुले तोडफोड गरेको र पदाधिकारीलाई गाली गरेको भन्दै विरोध जनाएको छ ।

अस्पतालको कामबाट निकालिएका नर्सहरुले संस्थाका प्रतिनिधिलाई गाली गलौज,  हातपात र संस्थाको पधाधिकारीमाथि चरित्र हत्या हुने किसिमको लाञ्छना लगाएको संघले जनाएको छ । संघले पीडित नर्सहरुसँग वार्तामा बसेर माग पूरा गर्न पहल गर्ने भन्दाभन्दै कार्यालय तोडफोड गरेको भन्दै विरोध जनाएको छ ।

‘नर्सिङ संघले समस्या समाधान गर्ने होइन्, पहल गर्ने मात्र हो’  संघकी अध्यक्ष मनकुमारी राईले भनिन्, ‘ हामीले पटक पटक पहल गरिरहँदा पनि सरोकारवालाबाट काम नभएको हो, तर उहाँहरुले हामीलाई लाञ्छना लगाउनुभयो ।’

संघका अनुसार ती नर्सहरुसँग संघले नर्सिङ समस्याको विषयमा छलफल समेत गरेको थियो । उक्त छलफलमा ती नर्सहरुले ६५ बुँदे ध्यानाकर्षण पत्र बुझाएर ७ दिनको अल्टिमेटमसमेत दिएका थिए । अध्यक्ष राईले भने, ‘उहाँहरुले राख्नु भएको माग संघले वर्षौदेखि सरोकारवालासँग राखिरहेको थियो, तर उहाँहरुले हामीले नै रातरात माग पूरा गर्नेगरी हामीमाथि खनिनुभयो ।’

पदाधिकारीलाई फेरि धम्की आएमा कानुनी उपचार खोज्नेसमेत अध्यक्ष राईले बताइन् । उनले भनिन्, ‘हाम्रो पधाधिकारीलाई केही नर्सहरुले हातपातसमेत गरेकाले नेपाल सरकारसँग सुरक्षाको माग गर्दछौ।’

ट्रमा सेन्टरको घटनामा ध्यानाकर्षण

नर्सिङ संघमा धर्ना दिएर तोडफोडमा उत्रिएकी नर्सिङ काउन्सिलकी सदस्य जिता बराल र नर्सिङ संघको चुनावमा पराजित ज्योति रानाभाटले असोज ६ गते ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा गरेको भिडियो सार्वजनिक भएको थियो । नर्सिङ संघको आचारसंहिता विपरीत काम गरेको भन्दै संघले  ध्यानाकर्षण भएको जनाएको छ ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइएपछि उनको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी बरालले ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने,  तथानाम गाली गर्ने र सरसामान फ्याँकेर फुटाउने काम गरेको भिडियो सार्वजानिक भएको थियो ।

संघले उक्त घटनाको छानविन गर्ने समेत बताएको छ। संघकी अध्यक्ष राईले भनिन्, ‘नर्सिङ पेसालाई नै बदनाम गर्ने किसिमको व्यवहार गर्ने र चुनावको प्रतिशोध साँध्नको लागि पधाधिकारीको चरित्रहत्या हुने गरि अनाआवश्यक प्रचार गर्नु दुखद हो , यसले हाम्रो समग्र पेशालाई बदनाम गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment