Comments Add Comment

इन्भर्टर र जेनेरेटरको ब्यापार बढ्दा व्यवसायी चकित

९ असोज, काठमाडौं । खुमलटारस्थित ललितपुर ऊर्जा विकास प्रालिका सञ्चालक राजन न्यौपाने पछिल्ला दुई साता इन्भर्टर र ब्याट्रीको ब्यापार देखेर चकित छन् ।

नहुन् पनि किन ? पछिल्ला केही वर्षहरुमा संस्थागत कार्यालयहरुमा टेन्डर हालेर व्यापार गर्दै आएको कम्पनीमा आजभोलि काउन्टरबाटै बिजनेस हुन थालेको छ । न्यौपानको अनुभवमा इन्भर्टर र ब्याट्रीको ब्यापार विगतको तुलनामा दोब्बर बढेको छ ।

‘हामी पहिला सोलारको ब्यापार बढी गर्थ्यौं । लोडसेडिङ हटेपछि त्यसको ब्यापार सुक्यो । कार्यालयहरुलाई इन्भर्टर र ब्याट्री बेच्न बढी केन्द्रित भयौं’ उनी भन्छन्, आजभोलि फेरि घरायसी ग्राहक पनि इन्भर्टर खोज्न आउन थाल्नुभएको छ ।’

यसले काउन्टरबाटै हुने व्यापार बढेको छ, जुन महिनाको एकदेखि दुई लाख रुपैयाँसम्मको हुने उनको अनुमान छ ।

बजारमा इन्भर्टर मात्रै होइन, जेनेरेटरको ब्यापार पनि विगतको तुलनामा दोब्बर भएको छ ।

टेकुको मनकामना मेसिनरीका सञ्चालक सुन्दर थापा पनि जेनेरेटर ब्यापार दुई हप्तायता चल्मलाएको बताउँछन् ।

लाइन आउने जाने क्रम बढेपछि दिनमा २–३ वटासम्म जेनेरेटर बिक्री हुन थालेको छ । ‘लोडसेडिङको समयमा दिनको १०–१२ वटासम्म बेच्थ्यौं, बीचमा यो ब्यापार ठप्प थियो,’ उनी भन्छन् ‘अहिले फेरि व्यापार बढ्न थालेको छ ।’

व्यवसायी सुन्दर थापा

डिल्लीबजारमा जेनेरेटर कारोबार गर्ने ‘सिभ्मन’ कम्पनीका सञ्चालक अमन पोद्धार जेनेरेटरको ब्यापार बढेको सहजै स्वीकार गर्छन् ।

पछिल्ला १० दिनयता जेनेरेटरको ब्यापार चलायमान भएको उनको अनुभव छ । ‘बितेको ३ वर्ष यो बिजनेसमा कुनै उत्साह थिएन, जसोतसो चलेको थियो,’ उनले भने, ‘अहिले सबै ब्यापार बढेको सुनेको छु, मेरोमा पनि शतप्रतिशत बढेको छ । ’

ब्यापार बढेर मौज्दातमा रहेका जेनेरेटर बिक्री हुन थालेपछि पोद्धारले अनलाइन विज्ञापन नै गरेका छन् ।

बानेश्वरमा ब्याट्रीको ब्यापार गर्दै आएका धिरज न्यौपानेको अनुभव पनि त्यस्तै छ । विगत केही हप्तायता ब्याट्रीको ब्यापार ५० प्रतिशत बढेको उनको भनाइ छ । धिरजका दाजु राजकुमार पछिल्ला दिनमा घर तथा अफिसमा इन्भर्टर जोडेने र ब्याट्री फेर्ने ग्राहक विगतको तुलनामा निकै बढेको बताउँछन् ।

व्यवसायी राजकुमार न्याैपाने

टेकुमा ४० वर्षदेखि ब्याट्री ब्यापार गर्दै आएका सत्य मामा ब्याट्री ट्रेड वर्क्सका सञ्चालक सत्य तण्डुकार पनि इन्भर्टर तथा ब्याट्रीको ब्यापारको सुस्तता समाप्त भएको बताउँछन् । ‘कारोबार बढेको छ, पुरानो लयमा त हैन’ उनी भन्छन्, ‘एक डेढ हप्ताका ग्राहक हेर्दा उपभोक्ता आत्तिएको हो जस्तो देखिन्छ ।’

किन बढ्यो ब्यापार ?

व्यापारीहरुका अनुसार इन्भर्टरको ब्यापार बढ्नुमा सबैभन्दा ठूलो कारण अनियमित लाइन काटिने क्रम बढ्नु हो । पछिल्ला तीन हप्तामा लाइन काटिने क्रम ह्वात्तै बढेकाले उपभोक्ताहरुले फेरि इन्भर्टर र जेनेरेटर खोज्न थालेको उनीहरुको अनुभव छ ।

‘नेपाल विद्युत प्राधिकरणमा जतिबेला नेतृत्व परिर्वनत भयो, त्यहीबेला चार वर्षमा खासै नकाटिने बिजुली कुनै ठाउँमा त दिनको २–३ घण्टा नै काटिन थालेको छ,’ पोद्धार भन्छन्, ‘त्यसले पनि ग्राहकलाई मनोवैज्ञानिक रुपमा त्रासमा पारेको हुनसक्छ ।’

उनकाअनुसार कतिपय स्वास्थ्य संस्थामा कोभिड–१९को कारण संवेदनशील इक्वीपमेन्टहरुको जडान भएकाले त्यस्तो ठाउँमा पनि जेनेरेटरको माग देखिएको छ ।

ब्यापारी राजन न्यौपानेले इन्भर्टरको ब्यापार चुलिनुको अर्को कारण सुनाए, अनलाइन कक्षा । विगतमा बालबच्चाहरु दिनभर विद्यालय हुने भएकाले लाइन आउँदा–जाँदा खासै फरक पर्दैनथ्यो । तर अहिले ५ मिनेट मात्रै झ्याप्प बिजुली गयो भने अनलाइन कक्षा अवरुद्ध हुन भएकाले विकल्पको खोजी भयो ।

‘अनलाइन कक्षा बीचमै डिस्कनेक्ट भएपछि कक्षा चलाउन शिक्षकलाई पनि अप्ठ्यारो, विद्यार्थीलाई अप्ठ्यारो हुनेभयो,’ उनले भने, ‘त्यसमाथि आजभोलि लाइन जाने क्रम बढ्यो । त्यसैले अभिभावकहरु फेरि इन्भर्टर खोज्दै आउनुहुन्छ ।’

उनका अनुसार प्राधिकरणमा भएको नेतृत्व परिवर्तनपछि लाइन जाने क्रम चुलिएपछि डराएर ग्राहकहरु पुरानो इन्भर्टरको ब्याट्री फेर्न बढी आउन थालेका छन् । ‘राख्दा राख्दै फेर्नुपर्ने अवस्थामा पुगेका कतिपय ब्याट्री लकडाउनका कारण फेर्न नपाएकाले पनि केही प्रतिशत ग्राहक बढेका हुनसक्छ,’ उनी भन्छन्,‘ विगतमा २–५ मिनेट लाइन जाँदा थेगिरहेको ब्याट्रीले अहिले २ घण्टा जाँदा नथेगेको देखेपछि पनि फेर्न आउनेहरु बढेका हुन् ।’

इन्भर्टर ब्यापारी सत्य तण्डुकार पनि लाइन गइरहँदा अनलाइन कक्षा प्रभावित भएपछि धेरै अभिभावक इन्भर्टर किन्न र नयाँ ब्याट्री किन्न आइरहेको बताउँछन् । ‘कतिले यसलाई कुलमान घिसिङ प्राधिकरणबाट गएपछिको अवस्थासँग जोडेका छन्,’ तण्डुकार भन्छन्,‘ उहाँ गएपछि ब्यापार बढ्यो भनेर हामी खुसी छैनौं, उहाँ त देशको लागि चाहिने मान्छे हुनुहुन्थ्यो ।’

व्यवसायी सत्य तन्डुकार

अर्का इन्भर्टर ब्यापारी बिजेन कोइराला इन्भर्टर बढ्नुमा मनोवैज्ञानिक कारण बढी देख्छन् । ‘प्राधिकरणको नेतृत्व परिवर्तनपछि अनलाइन र सामाजिक सञ्जालहरुमा इन्भर्टर, ब्याट्री, जेनेरटरको विज्ञापन बढेका छन्,’ उनी भन्छन्, ‘त्यो देखेर पनि उपभोक्तालाई पनि मनोवैज्ञानिक रुपमा प्रभाव परेको हो ।’

उनकाअनुसार जाडो सुरु हुनुअघि विगतमा पनि ब्याट्रीको माग केही बढ्ने गरेको थिया, तर यसपटक बढी लाइन जान थालेपछि उपभोक्तामा त्रास पनि बढेको छ ।

यो तर्कमा अर्का व्यवसायी धिरज न्यौपाने पनि सहमत छन् । ‘म उपभोक्ता पनि हुँ, बिहान–बेलुका दैनिक १५–२० मिनेट लाइन गइरहेको छ । फेरि लोडसेडिङ हुँदैन भन्नेमा जनता आश्वस्त हुन सकेका छैनन्’ उनले भने, ‘यस्तो मनोविज्ञानले पसलमा ब्याट्रीबारे सोधखोज गर्न र किन्न आउनेहरु ५० प्रतिशत बढेका छन् ।’

जेनेरेटर ब्यवसायी सन्दर थापा झ्याप्प–झ्याप्प लाइन जाने र समयमै विद्युत नआउने समस्या समाधान नभए अझै ब्यापार उकालो लाग्ने बताउँछन् । ‘मान्छेलाई कुलमान घिसिङ नभएपछि विद्युत आउँदैन भन्ने डर छ, झन् यही बेला एकपटक गएको लाइन लामो सयमसम्म नआएपछि विकल्पमा मान्छे गइहाल्छ,’ उनले भने,‘ यसमा सरकारले नै सोच्नुपर्ने हो ।’

प्राधिकरण भन्छ : समस्या आउँदैन

नेपाल विद्युत प्राधिकरणले भने प्रणालीमा इन्भर्टर थपिएको कुनै संकेत नआएको बताउँछ । अहिले २४ घण्टा नै बिजुली निरन्तर वितरण भइरहेकाले प्रणलीमा इन्भर्टर थपिएर पनि कुनै समस्या नआउने प्राधिकरण बताउँछ ।

प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई एकपटक चार्ज भएको इन्भर्टरको ब्याट्रीबाट बिजुली खपत नभएसम्म थप लोड नलिने भएकाले सिस्टमलाई इन्भर्टरले समस्या नगर्ने बताउँछन् ।

‘इन्भर्टर जोड्नुपर्ने अवस्था नै छैन । कसैले जोड्नु भएको छ भने त्यसले हाम्रो प्रणालीलाई असर गर्नसक्ने अवस्था पनि छैन,’ उनी भन्छन्, ‘बरु हामीलाई पर्याप्त खपत नभएर समस्या भइरहेको छ । माग बढ्यो भने त्यसअनुसार बिजुली दिनसक्छौं ।’

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment