Comments Add Comment

पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग

१० असोज, काठमाडौं । विप्लवनिकट अखिल (क्रान्तिकारी) को पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितीले पोखरा विश्वविद्यालयका रिक्त उपकुलपति र रजिस्ट्रार तत्काल नियुक्त गर्न माग गरेको छ ।

क्रान्तिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिक्त सबै पदहरूमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरोकारवाला पक्षसँग माग गरेको हो ।

‘हाम्रो संगठन तत्काल खुल्ला, स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न सम्बद्ध सरोकारवाला पक्षसँग माग गर्दछ,’ अखिल क्रान्तिकारीको पोखरा विश्वविद्यालय, क्षेत्रीय समन्वय समितिका संयोजक ललित वि.कद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति, रजिस्ट्रारलगायतका रिक्त पद नियुक्त नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि क्रान्तिकारीले दिएको छ ।

पोखरा विश्वविद्यालयमा करिब १ वर्षदेखि उपकुलपति र रजिस्ट्रार रिक्त छन् । ०७७ वैशाखदेखि त ३ वटै संकायमा डिन, परीक्षा नियन्त्रक, विभिन्न केन्द्रका निर्देशक एवं स्कुल निर्देशसमेत रिक्त छन् । यसले पठनपाठन, परीक्षा, परीक्षाफल प्रकाशनसँगै प्रशासनिक काम–कारबाही प्रभावित हुन पुगेको विप्लवनिकट विद्यार्थी संगठनको भनाइ छ ।

क्रान्तिकारीले कोभिड–१९ का कारण अवरुद्ध पठनपाठन र परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न पनि माग गरेको छ । प्रशासनिक काम कारबाहीहरू पनि प्रभावित भएकाले त्यसलाई पनि पूर्ववत् सञ्चालन गर्नुपर्ने उसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment