Comments Add Comment

कविता : भविष्यवाणी

यसरी परिवर्तन हुनेछ कि समय
घरभित्रै बस्नेछन् सबै मानिस
सबै काम गर्नेछ रोबोर्टले फटाफट
युट्युब, फेसबुक, भाइबर र ट्वीटरमा
व्यस्त हुनेछन् मान्छे घरभित्रै

पृथ्वी यसरी तातिनेछ कि
आगैको भुंग्रोमा बसेझैं हुनेछ
‘एसी’ जडान हुनेछ हरेकको शरीरमा
मान्छेको उचाइ घटेर
हुनेछ दुई इञ्चभन्दा कम
पृथ्वीकै सबैभन्दा मोटो मानिसको
पच्चीस किलोभन्दा तलै हुनेछ तौल

टिकट काटेर गर्नुपर्ने छैन जहाजमा यात्रा
सबका सब मान्छे हुनेछन् इमेल
गाउँ–गाउँमा राखिनेछन् मान्छे इमेल गर्ने मेसिन !

सन्तान जन्माउन दम्पत्ति हुनुपर्ने छैन सँगै
पृथ्वीको वल्लोछेउ र पल्लोछेउका दम्पत्तिबीच
अत्याधुनिक एपबाटै हुनेछ सम्भोग
चोक र गल्लीमा राखिएका एटीएमबाटै
बटम थिचेकै भरमा निकालिनेछन् सन्तान

समयको जहाजमा चडेर यस्तो युग आउनेछ कि
समुद्र बौलाउनेछ
र वर्षौं पुराना बस्तीहरूको गर्नेछ नरसंहार
हिमालहरू हिँडेर झर्नेछन् समुद्रतिर बसाइँ
पहाडका टाउकामा विस्फोट हुनेछ ज्वालामुखी
अनि जलेर क्षणभरमै खरानी हुनेछ पहाड

युगले यसरी कोल्टो फेर्नेछ कि एकाएक
मौसम आउन पाउने छैन आफूखुसी
मान्छेको इच्छाविपरीत पानीले पाउने छैन पर्न
घामले हिंड्न पाउने छैन निस्फिक्री
आकाशको कुर्सीमा बसेर
जूनले पाउने छैन मुस्काउन
ताराहरूले बिर्सिनेछन् आँखा झिम्क्याउन

कोरोनाभन्दा खतरनाक भाइरस फैलिनेछ विश्वभर
बतासले स्पर्श गर्नेबित्तिकै
ढल्नेछन् मान्छेहरू भटाभट
त्यसपछि बादलको रूखमा झुण्डिएर
गर्नेछ विज्ञानले आत्महत्या

युगसँगै यस्तो बाढी आउनेछ कि
बगाइदिनेछ विश्वका सबै सीमा
यस्तो आँधी आउनेछ कि
विश्वका शक्तिशाली शासकको उडाइदिनेछ सत्ता
हेर्दाहेर्दै यस्तो युग आउनेछ कि
मेसिनले नै गर्नेछ विश्वमा शासन

समय न हो बगिरहन्छ निरन्तर
जसरी युगौंदेखि बगिरहेछ नाइल
बग्दैबग्दै यस्तो युग आउनेछ
सम्भ्रान्त वर्गले आकाशमै बनाउनेछन् महल
महलभित्रै हुनेछ फोर–डी, स्वीमिङपुल, जिमखाना
र फाइभस्टार होटलका सारा सुविधा
अन्तरीक्षमा बसाइँ सर्ने हतारोमा
हुनेछन् शरणार्थी परिवार
चन्द्रमा र मंगलग्रहमा हनिमुन मनाउन
जानेहरूको लाग्नेछ लर्को

स्कुल, कलेज र विश्वविद्यालय सबै हुनेछन् बन्द
विद्यार्थीका हातहातमा हुनेछ
मेमोरीकार्ड, गुगोल ड्राइभ र अत्याधुनिक एप्सहरू
जसबाटै विद्यार्थीले गर्नेछन् विद्यावारिधि

ठाउँ–ठाउँमा खुल्नेछन्
मुटु, कलेजो र फोक्सो उत्पादन गर्ने उद्योगहरू
सबैको शरीरमा हुनेछ कृतिम मुटु र कलेजो
त्यसपछि विश्वबाट सकिनेछ
अलिअलि भएको संवेदना

समयसँगै मान्छेको मन यसरी हुनेछ परिवर्तन
गीता, महाभारत, त्रिपिटक, कुरान र बाइबललाई सल्काएर
मन्दिर, गुम्बा, चर्च र मस्जिदमा लगाउनेछन् आगो
अनि, ब्रम्हा–विष्णु–महेश्वरसँगै भाग्दै गरेका
बुद्ध, अल्लाह र जिससलाई समाउनेछन्
र, झुण्ड्याएर दिनेछन् मृत्युदण्ड ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment