+
+

सप्तकोसीका बहुपक्षीय धारहरू

अजयकुमार झा अजयकुमार झा
२०७७ असोज ११ गते १९:०७

हजारौं वर्षदेखि सप्तकोसी नदीको धार निरन्तर परिवर्तनशील रही आएको छ । यसको विध्वंसकारी धारले तटवर्ती जीवनको विरासतलाई निल्ने गरेको छ । कोसी विध्वंशले नष्ट गरेको नालन्दा र विक्रमशिला विश्वविद्यालयजस्ता (११९७ ई.) ज्ञान र साहित्यिक विरासतहरू पुनः अंकुरित हुन सकेनन् ।

हिमालयबाट निस्कने तीन ठूला नदीअन्तर्गत ब्रह्मपुत्र, सिन्धु तथा कोसी पर्दछन् । सनातन ग्रन्थादिमा कोसीलाई कौशिकी नामले उदृत गरिएको छ । भनिन्छ, विश्वामित्रले यसै नदीको किनारमा ऋषिको दर्जा प्राप्त गरेका थिए । उनी कुशिक ऋषिका शिष्य थिए र उनलाई ऋग्वेदमा कौशिक पनि भनिएको छ । सातवटा धारा मिलेर सप्तकोसी नदी बनेको छ, जसलाई कोसी भनिन्छ । महाभारतमा पनि यसको चर्चा छ । कौशिकी नदीको रूपमा सदैव तीर्थस्थल रही आएको छ ।

सप्तकोसीका घटक नदीहरू सगरमाथाको चारैतिरबाट आएर त्रिवेणीमा मिलेको छ । सप्तकोसी हिम नदीहरूको समूह हो र यसले विश्वको सर्वाधिक उचाइमा स्थित ग्लेसियर (हिमनदी) को जल प्राप्त गर्दछ ।

काठमाडौंबाट सगरमाथा आरोहणका लागि जाने बाटोमा कोसीमा चारवटा सहायक नदीहरू मिलेको भेटिन्छन् । तिब्बतको सीमासँग टाँसिएको नाम्चेबजार कोसी पहाड़ी मार्गको आकर्षक पर्यटकीय स्थल हो । अरुण, सुनकोसी, तमोर, दूधकोसी, तामाकोसी, लिखु र इन्द्रावती यी सातवटा नदीको समूह नै सप्तकोसी हो । अरुण तिब्बत र नेपाल दुवैतर्फ बगेको छ ।

तिब्बतीले अरुणलाई फुङग चू वा बम–चू नामले पुकार्छन् । सुनकोसी तिब्बतबाटै नेपाल पसेको हो । दूधकोसी, भोटेकोसी, तामाकोसी, लिखु र इन्द्रावती सुनकोसीका सहायक नदीहरू हुन् । तमोर भने कञ्चनजंगा क्षेत्रबाट सुरु भएको छ ।

सुनकोसी सप्तकोसीको पश्चिमेली नदी हो । सुनकोसीमा पूर्वबाट क्रमशः इन्द्रावती, तामाकोसी, लिखु र भोटेकोसी मिसिएका छन् । अरुण मध्यवर्ती नदी हो भने तमोर पुर्वेली नदी हो । हरकपुरमा कोसीका दुई सहायक नदीहरू सुनकोसी तथा दूधकोसी मिल्दछ ।

सुनकोसी, अरुण र तमोर यी तीनवटै मुख्य नदी त्रिवेणीमा मिलेपछि सप्तकोसीको स्वरूप निर्मित हुन्छ । बराहक्षेत्रमा आएर तराई क्षेत्रमा प्रवेश गरेपछि कोसी भनिन्छ । बराहक्षेत्रको केही तल महाभारत पहाडबाट निस्केको त्रियुगा नदी पनि पश्चिमबाट आएर सप्तकोसीमा मिल्दछ ।

कोसी, जहाँ हिमालयको मुख्य श्रृंखलाको आठ हजार मिटरको उचाइबाट प्रारम्भ हुन्छ, त्यहीँ यो १५० किलोमिटर दक्षिण आएर ६५ मिटर उचाइमा भारतमा प्रवेश गर्दछ । सप्तकोसी त्यस्तो नदी हो, जसले चीन, नेपाल र भारत गरी तीनवटै देशको राजनैतिक सीमालाई छोएको छ ।

भरौलदेखि ब्यारेजसम्मको पूर्वी तटबन्ध तथा ब्यारेजदेखि डलवासम्मको पश्चिमी तटबन्ध नेपाली भूभाग भएकाले यी तटबन्धहरूको रेखदेख र रिपोर्टिंगको प्रत्यक्ष जिम्मेवारी नेपाली प्रशासनले नै लिनुपर्ने हो । सप्तकोसीलाई अभिशाप भन्ने वा बरदान ? जिम्मेवारी हामी नेपालीकै हो ।

कोसी नेपालको सप्तरी–सुनसरी जिल्लाको सीमा बन्दै भीमनगर निकट भारतमा प्रवेश गरी २६० किलोमिटर भूमि छिचोल्दै कटिहारको कुर्सेलानजिक गंगा नदीमा विलीन हुन्छ । कोसीको यात्रा ७ सय २० किलोमिटर लामो हुन्छ र यसले तिब्बत, नेपाल र बिहारको गरी ७४ हजार पाँच सय वर्गकिलोमिटर क्षेत्र आफूभित्र समेटेको छ ।

सप्तकोसी नदी चीनको ह्वाङ हो नदीपछि तीव्र गतिमा बग्ने, बढी वालुवा बोक्ने विश्वको दोस्रो ठूलो नदी हो । कोसीमा आउने कूल बालुवामध्ये ५० प्रतिशत सुनकोसीले ल्याउँछ भने बाँकी पच्चीस–पच्चीस प्रतिशत बालुवा अरुण र तमोर नदीले ल्याउँछ ।

नदी विशेषज्ञ एफए सिलिङ्गले ‘कोसीको धार परिवर्तन हुने कामलाई स्वतन्त्र रुपमा छाडिदने हो भने यो नदी पूर्वमा ब्रह्मपुत्र र पश्चिममा गण्डकीसम्म जान सक्छ’ भनेका छन् ।

विगतमा, कतिपय लेखकले कोसी दुई सय वर्षयता पूर्वदेखि १३३ किलोमिटर पश्चिम सरेको दाबी गरेका छन् । तर रिसर्चगेटको साइटका अनुसार सन् १७६० देखि १९६० सम्मको २८ वटा ऐतिहासिक नक्साहरूको अध्ययनबाट लामो समयको अनियमित अन्तरालहरूमा कोसीको धार आंशिकमात्र पूर्वतर्फ सरेको दाबी गर्दछ । निश्चय पनि भौगोलिक इतिहासप्रतिको यो विरोधाभाष चाखलाग्दो छ ।

कुनै समय प्रशासनिक एवं व्यापारिक केन्द्रको रूपमा प्रसिद्ध नरहाबजार कोसीको चपेटामा परेपछि त्यो बजार हनुमाननगर सर्यो । पछि हनुमाननगरलाई पनि कोसीले छुन थालेपछि त्यसको एउटा हिस्सा नयाँ नगर निर्माण गर्दै राजविराज सर्यो । यस अर्थमा नरहाबजारलाई हनुमाननगर र राजविराजको जननी मान्नु पर्दछ । भारदहको कंकालिनी र राजविराजको गणेश, महादेव, चण्डी, राम, कृष्ण मंदिरमा स्थापित प्रतिमाहरू नरहाबाटै सारिएका हुन् ।

कोसी भन्नासाथै बाढी प्रकोपको ख्याल आउँछ । हरेक वर्षामा कोसीको जलस्तर माथि उठेर तटवर्ती जनजीवनमाथि आघात पुर्याउँछ । सप्तरी र सुनसरी जिल्लाको तटवर्ती क्षेत्र कोसी प्रभावित क्षेत्र हुन् । तर, धेरै बढी क्षति बिहारलाई पुर्याउँछ । कोसीको बाढीले नेपालका सुनसरी र सप्तरी जिल्ला तथा भारतको बिहार प्रान्तमा तटवर्ती इलाकामा तबाही मचाउँछ ।

यसले हजारौं गाउँ र सांस्कृतिक धरोहरहरूलाई निलिसकेको छ । भारतमा त यसलाई ‘बिहारको शोक’ नै पनि भन्ने गरिन्छ । कोसीले रिस उठे उर्वर भूमिलाई बालुबुर्ज र खुसी भए बाँझो जमिनलाई उर्वर बनाइदिँदो रहेछ ।

नेपाल र भारत दुबै देशमा कोसीमा बाँध र तटबन्धहरू बनेका छन् । ब्रिटिश शासन कोसीमा बाँध बनाउने पक्षमा थिएन । प्राकृतिक बहावले बाँधलाई भत्काउने र ठूलो क्षति पुर्याउने उसको चिन्ता थियो । भारतको स्वतन्त्रतापछि २५ अप्रिल १९५४ मा नेपाल र भारतबीच ‘कोसी सम्झौता’ भयो । यसमा नेपाल सरकारका तर्फबाट योजना, विकास, कृषि, खाद्य, उद्योग र वाणिज्यमन्त्री महावीरसमशेर जबरा तथा भारत सरकारका तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका थिए ।

कोसी सम्झौतापछि बाँधहरूले आकार लिन थाले । यसरी हालसम्म नेपाल र भारतमा दुईदुई स्थानमा बाँध र तटबन्धहरू निर्माण गरिएका छन् । नेपालमा कोसी ब्यारेजदेखि उत्तर भरौलसम्म पूर्वी तटबन्ध र ब्यारेजदेखि दक्षिण डलबासम्म पश्चिमी तटबन्ध बनाइएका छन् । बाँध बन्दै गर्दादेखि नै पर्यावरणविद्हरूले यसबाट उत्पन्न हुने परिणाम र क्षतिबारे सचेत गराउँदै आएका छन् ।

सन् १९५८–६२ मा नेपाल–भारत सीमामा नेपालतर्फ कोसी ब्यारेजको निर्माण भयो । यसमा बहावको नियन्त्रणका लागि ५६ वटा द्वार बनाइएका छन् । ब्यारेजको लम्बाई ११४९ मिटर छ । ब्यारेजको प्राविधिक नियन्त्रण, रेखदेख, मर्मतसम्भार आदि भारत सरकारको जिम्मेवारीमा छ । कोसी ब्यारेजले बालूको निक्षेपण गर्दा नदीको जलस्तर बढ्दै बाँध भत्किने खतरा उत्पन्न गर्दछ । बाँध निर्माणका बेला इन्जिनियरहरूले बाँधले नौ लाख क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव थेग्न सक्ने र बाँधको आयु २५ वर्ष हुने आँकलन गरेका थिए ।

कोशी ब्यारेज निर्माण भएयता बाँध र तटबन्धहरू सात पटक भत्किएका छन् । बाँध पहिलो पटक सन् १९६३ मा भत्कियो । त्यसपछि सन् १९६८ मा ६ स्थानमा भत्कियो । त्यस समय नदीमा पानीको बहाव ९ लाख १३ हजार क्यूसेक मापन गरिएको थियो । सन् १९९१ मा नेपालको जोगिनिया तथा सन् २००८ मा नेपालकै कुसहानामक स्थानमा तटबन्ध भत्कियो । सन् २००८ मा जब यो भत्कियो तब यसमा बहाव प्रति सेकेण्ड १ लाख २२ हजार क्यूसेक मात्र थियो ।

कोसी ब्यारेज निर्माणको विषयलाई लिएर नेपालको राजनीतिक तहमा एक अन्त्यहीन विवाद चल्दै आएको छ । यो विवाद राजनीतिक मात्र हो अथवा कूटनीतिक पनि हो भन्ने कुरा नेपाली जनताले अहिलेसम्म बुझ्न सकेका छैनन् । चतरामा उच्च बाँध बनाउने कि नबनाउने भन्ने विषय अहिले माात्र होइन उतिबेला पनि विवादास्पद नै थियो । उति बेला पनि चतरा र बेलकाको अध्ययन गरिएको थियो । तर, नेपाल र भारतको सीमामा नै नेपालपट्टि ब्यारेज निर्माण गर्ने सम्झौता हुन सक्यो ।

सप्तरीको तल्लो भागको निमित्त सानो नहर र मोरङमा सिँचाइ निम्ति ३ करोड भारतले दिएको छ, जो, आवश्यकता र लाभको दृष्टिले हामीले त्रिशूली योजनामा खर्च गर्ने भएका छौं । बाँध प्रवेशमा हाम्रो पूर्ण अधिकार रहनेछ र हामीले चाहेमा कोसीको पानी पनि लिन सक्छौं ।’तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले कोसी सम्झौतापछि १६ जुन १९५४ को दिन सल्लाहकार सभाको बैठकमा भनेका थिए ‘चतरा र बेलकाको भूमि बाँधका निमित्त उपयुक्त नठहरिएकाले नै हनुमाननगरमा बाँध बाध्न रुचाएको हो । हामीले ठाउँ नदिएको भए भारतले आफ्नो सीमाभित्र टेढीबजारमा बाँध बनाउन आँटेको थियो । मानवीय हितको दृष्टिकोणले पनि कोसीको विनाशकारितालाई रोक्ने प्रयत्न गर्नु पर्दथ्यो । किन्तु यसबाट त नेपाललाई पूर्ण लाभ र हितैहित छ । उत्पादित आधा बिजुली हामी पाउँछौं र आधाको रोयल्टी पनि मिल्नेछ ।

त्यसबखत नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारले लेखेको थियो कि हनुमाननगर होइन, चतरानिर बनाएको भए हाम्रो देशको जमिन पनि धेरै सिँचाइ हुने थियो । तर, हनुमाननगरनिर बाँध बन्नाले कुनै फाइदा छैन । त्यसबखत सरकारमा राष्ट्रिय प्रजा पार्टीका अध्यक्ष मातृकाप्रसाद कोइराला प्रधानमन्त्री, नेपाल प्रजा परिषदका अध्यक्ष टंकप्रसाद आचार्य गृहमन्त्री, नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष डिल्लीरमण रेग्मी परराष्ट्र मन्त्री र नेपाली जनकांग्रेसका अध्यक्ष भद्रकाली मिश्र, निर्माण, सञ्चार, कानुन र संसदीय प्रबन्ध मन्त्री थिए ।

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी तथा भरत शमसेरको राष्ट्रिय गोर्खा परिषदले पनि विरोध गरेको थियो । तर, नेपाललाई फाइदा नै हुन्छ भन्दै राजा महेन्द्रले १३ अप्रिल १९५९ को दिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको उपस्थितिमा कोशी बाँधको शिलान्यास गरेका थिए ।

कोसी सम्झौताको सर्तअनुसार कोसी व्यारेजको निर्माण भई भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको उपस्थितिमा राजा महेन्द्रले २४ अप्रिल १९६५ को दिन समुद्घाटन गरेका थिए । नेपालमा कोसी सम्झौतामाथि सवाल उठाउने कारण जे जुन भए पनि वर्षामा तटवर्ती क्षेत्रहरू जलमग्न भए भने सुख्खामा किसानले नहरको पानी पाएनन् भनेर हरेक साल बर्खा र हिउँदमा चर्चामा आउने गर्दछ ।

यससँगै एउटा समस्या कोसी बाँध निर्माणसँगै आइरहेको छ । कोसी सम्झौता अनुसार जनताले पाउनुपर्ने मुआब्जा अहिलेसम्म पाउन सकेको छैन । सप्तरी, सुनसरी र उदयपुरका कोसीपीडितहरू वर्षौंदेखि मुआब्जाका लागि संघर्षरत छन् । संघर्षरत पक्षले कोसी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले क्षति पारेको जग्गा र बालीमा पुर्याइएको क्षतिको मुआब्जा र क्षतिपूर्ति माग गर्दै आएका छन् ।

कोसीको यो विशालता र भयानकताको बीच कोसीको गर्भमा एउटा छुट्टै जीवन–जगतको अस्तित्व पनि छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कोसी पेटमा बसेको त्यही छुट्टै संसार हो । सन् १९७६ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष उदयपुर, सुनसरी र सप्तरी जिल्लाका १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । आरक्ष सन् १९८७ मा रामसार सूचीमा सूचीकृत गरियो । यस आरक्षमा विभिन्न सयौं प्रजातिका चरा, दुर्लभ अर्ना र दुर्लभ डल्फीनसमेत पाइन्छ । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साईवेरियादेखि घुमन्ते चराहरू आवतजावत गर्ने गर्दछन् । यो आरक्ष दुर्लभ गिद्धको उपस्थितिका लागि पनि प्रसिद्ध छ । यहाँ हरेक वर्ष विश्व सिमसार दिवस तथा राष्ट्रिय चरा महोत्सव आयोजना गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयको ‘डिपार्टमेन्ट अफ जुओलोजी’द्वारा सन् १९९७–९८ मा गरिएको एक अध्ययनअनुसार संरक्षण क्षेत्र नजिकै बस्ने बासिन्दा र संरक्षित वन्यजीवबीच जबरजस्त लडाइँ छ ।

स्थानीय बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको सिकार बन्नु परिरहेको छ । त्यस्तै आरक्ष पनि अवैध शिकार र अन्य अवाञ्छित गतिविधिहरूको सिकार बनेको छ । आरक्ष अपेक्षितरूपमा पर्यटनको आधार बन्न नसक्नु यहाँको अर्को मुख्य समस्या हो ।

नेपालमा जलविद्युत् विकासको ठूलो सम्भावना छ । सम्भाव्यताको साधारण अनुमान अनुसार ८३ हजार मेगावाट भन्दा बढी छ । सन् २०१८ को रिपोर्टअनुसार हालसम्म स्थापित आयोजनाहरूको उत्पादन हाइड्रो क्षमता एक हजार मेगावाट भन्दा कम छ ।

नेपालको तीन करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्याको बिजुलीमा पहुँच हुन सकेको छैन । उनीहरू अझै पनि प्रकाशको आदिम विधिहरूमा निर्भर गर्दछन् । यो आशा जहिले पनि भएको छ कि ऊर्जा सुरक्षा र देशको आर्थिक समृद्धि जलविद्युत् विकासमा निर्भर गर्दछ ।

नेपालले भारतसँग हालै पावर ट्रेड एग्रीमेन्ट गर्नुका साथै भारतका लगानीकर्ताहरूसँग ९०० मेगावाट क्षमताको अरुण तृतीय लगायत आयोजनाको सम्झौता पनि गरेको छ । यी आयोजनाहरूले भारतमा विद्युत् निर्यात गरी फाइदा लिनेछ ।

नेपालको आठ हजार मिटरमाथि उचाइमा हिमालय पहाडबाट सुरू भएर पहाड र दक्षिणी मैदान हुँदै भारततर्फ बग्ने कोसीलगायतका नदीहरूको पानीको स्रोत हिउँ पग्लिनु, हिमनदी र वर्षा हो । यसले उच्च नदी प्रवाहका कारण प्रशस्त जलविद्युत क्षमता प्रदान गर्दछ । यसमा कोसी नदीको जलग्रहण क्षेत्र ५७ हजार सात सय वर्ग किलोमीटर र विद्युतीय क्षमता २२ हजार ३५० मेगावाट रहेको छ ।

सप्तकोशी उत्तर–दक्षिण बसोवास गर्ने अनेक संस्कृतिको संरक्षक पनि हो भने अर्कोतिर यो जनजीवनको एकखाले चुनौती पनि हो । जहाँ कोसीसँग गाँजिएका अनेक समस्याहरू छन् । यहीँ कोसी विकासको सर्वाधिक शक्तिशाली स्रोतको खजाना पनि हो । तर विडम्बना के छ भने, कोसीको विषय उठ्नासाथ एउटा पक्ष नकारात्मकता प्रदर्शन गर्न थाल्छ र अर्को पक्ष अज्ञात भयबाट काम्न थाल्छ र कोसीसँग जोडिएका जनताका समस्याको समाधान हुँदैनन् ।

यो पनि गलत हो कि तटबन्ध सुरक्षाको जिम्मेवारी अरूलाई नै दिएका छौं र सुरक्षाको चिन्ता गरिरहन्छांै । केही बिग्रियो भने उसैलाई गाली दिएर चित्त बुझाउँछौं र आफ्नो दायित्वको निर्वहन भएको ठान्छौं । खासमा हुनुपर्ने के हो भने भरौलदेखि ब्यारेजसम्मको पूर्वी तटबन्ध तथा ब्यारेजदेखि डलवासम्मको पश्चिमी तटबन्ध नेपाली भूभाग भएकाले यी तटबन्धहरूको सुरक्षाको प्राविधिक तथा आर्थिक जिम्मेवारी भारतको भए पनि त्यसको रेखदेख र रिपोर्टिंगको प्रत्यक्ष जिम्मेवारी नेपाली प्रशासनले नै लिनुपर्ने हो ।

सप्तकोसीका बहुपक्षीय धार (सवाल) हरू छन् । कोसी धेरै स्थानीय तह, धेरै जिल्ला र दुईवटा प्रदेशको पनि प्राकृतिक स्रोत र साधन हो । तर, यिनीहरूले दहतर–बहतर तथा माछा झिक्नेहरूबाट शुल्क असुल्नुबाहेक अरु केही सोच्न सकेका छैनन् । सप्तकोसीलाई अभिशाप भन्ने वा वरदान भन्ने जिम्मेवारी हामी नेपालीकै हो ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?