Comments Add Comment

रिस अर्थात आफैलाई जलाउने भष्मासुर 

रिस स्वभाविक प्रक्रिया हो । प्राकृतिक रुपले उत्पन्न हुने भावनात्मक क्रिया हो । हाम्रा भावनाहरुले विभिन्न समयमा विभिन्न बिषयमा क्रिया गर्ने र क्रियाको प्रतिक्रिया जनाइराखेका हुन्छन् । हाम्रा यस्ता भावनाहरुलाई दिमागले संचालन गरिराखेको हुन्छ ।  यस्तै विभिन्न प्रकृतिको भावनात्मक संवेग मध्ये  रिस एउटा हो । यो हाम्रो भावनात्मक मानसिक संवेदनामा आघात पुग्दा तथा भावनामा चोट पुग्दा देखिने गर्दछ ।

प्रायः स–साना कुरामा झर्किने, रिसाउने स्वभाव मानिसमा हुन्छ नै । प्राकृतिक कारणले उत्पन्न  हुने भएकाले सामान्य खाले रिस हरकोहीमा देखिन्छ । कुनै–कुनै अवस्थामा रिस उठ्नु स्वभाविक पनि हो ।

तर रिसले आक्रोशित हुनु, बेस्सरी रिसाउनु, उग्र हुनुलाई मानसिक समस्या मानिन्छ । एकदम छिटो–छिटो रिसाउने, साना–साना कुरामा रिसाउने बानीले हृदय रोग र रक्तसंचार प्रणालीमा निकै खतरा सृजना गरेको हुन्छ । जति रिसले उग्र रुप लिदै जान्छ त्यति नै मानसिक रुपमा असर थपिदै जान्छ। यसले मानिसको निर्णय क्षमता र विवेकमा प्रश्नचिन्ह खडा गर्छ । रिस उठिरहेको बेलामा हामी के सोंचिरहेका छौं, के बोलिरहेका छौं भन्ने कुराको स्मरणमा क्षय भैदिन्छ । मान्छेको स्वभाव र विवेक दृढ नहुँदा पारिवारिक सम्बन्ध देखि प्रोफेस्नल क्षेत्र र आफ्नो सामाजिक हैसियतमा समेत नकारात्मक असर पुगिराखेको हुन्छ ।

शारदा बन्जाडे

अनुसन्धानकर्ताहरुका अनुसार हृदयघात र पक्षघातसँग रिसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । छटो–छिटो रिसाउनु र स–सानो कुरामा आक्रोशित भईहाल्नुलाई  मानसिक समस्याको कारण हुने बताइएको छ, जसलाई चिकित्सकशास्त्रीहरु  ’इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर’ भन्ने गर्दछन् । रिसले शारीरिक, मानसिक र भावनात्मक संबेदनशिलताको कार्यलाई बिक्षिप्त बनाइदिने काम गर्दछ ।  बारम्बार रिसाउनाले आफुसँग एकदम नजिक भएको मान्छे टाढा हुन्छ पुग्छ । एक असल मित्र, श्रीमान, श्रीमती,परिवार, समाज, कार्यक्षेत्र वरिपरि रहेका सहकर्मी, सहपाठी सबै बिच मतभेद उत्पन्न हुन सक्छ ।

साच्चै कत्तिको ख्याल गर्नुभएको छ हामीहरु कति साना–साना कुरामा रिसाउछौं त भनेर । ल हेनुस्, मोबाइल ह्याङ हुँदा, राम्ररी ईन्टरनेट नचल्दा, आफ्नो कुरामा हो मा हो नमिलाइदिँदा (त्यो सहि छ वा गलत स्वयं परिक्षणको बानीको अभावले), कसैले फोन नठाइदिदा, बच्चाबच्चीले होमवर्क नगर्दा ।

त्यस्तै बच्चाहरुमा भने मोबाइल चलाउन नपाउदा, गेम खेल्न नपाउदा, पढ्नु पर्दा यस्तै धेरै स–साना कारणले सबै रिसाइराखेका हुन्छौं । रिसले शरीर कमजोर बनाउने, खान मन नलाग्ने, टाउको दुख्ने, निद्रा नलाग्ने, दिमागमा एउटै कुरा बारम्बार दोहोरीरहने, खानाको समय नमिल्दा पाचन प्राणाली र रोग प्रतिरोधात्मक क्षमतामा समेत असर पुगेको हुन्छ । र यसै पनि बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को निरोधात्मक उपाय भनेको नै शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनु हो। ल हेर्नुस् त ! रिसले कहाँसम्म असर पुर्याउन सक्छ ।

पक्कै पनि आफुलाई चित्त नबुझ्ने काम कुरा बाट रिस उठिरहेको हुन्छ ।  तर यसले बोली व्यबहार, कामको क्षमता, विवेक प्रदर्शन लगायतका क्षेत्रको स्तर भने कमजोर बनाइराखेको हुन्छ । यसले आत्मविश्वासमा समेत असर पुर्याइरहेको हुन्छ । डिप्रेसनका कारण पनि मानिस बढी रिसाउने गरेको पाइन्छ। बिरामी अवस्थामा विभिन्न किसिमका हर्मोनहरुको घटबढका कारण पनि मानिसमा बढी रिस उठेको देखिन्छ । यसरी रिसको कारणले  आत्मघाती कुनै काम गर्ने, आफुलाई चोट पुर्याउने, लागू पदार्थको सेवनमा समेत सामेल हुन जान्छन् । विभिन्न अनुसन्धानकर्ताका अनुसार बाल्यकालमा धेरै कुटाइ खाएका, झैझगडाको वातावरणमा हुर्किएका बच्चाबच्ची रिसालु स्वभावका हुने कुरा उल्लेख छ। यस्को समाधान परिवार पनि रहेछ । रिसको जरो त पारिवारिक वातावरणबाट पनि उन्मूलन गर्न सकिदो रहेछ नि !

रिस आफै उत्पन्न हुने भएकोले यसको नियन्त्रण गर्न पनि आफै अवश्य सकिन्छ । रिस उठेको बेलामा हामिले गरेको कामले कुनै पश्चतापनहोस भनेर सकेसम्म हामी सबैले रिसलाई कन्ट्रोल गर्नसक्नु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार ‘मानिसले आफ्नो जीवनमा उत्पन्न हुने भावना अर्थातइमोसनलाई कन्ट्रोल गर्न सक्दैन भने त्यो मानसिक समस्या हो, स्वस्थ मानिसले मात्र आफूलाई कन्ट्रोलमा राख्न सक्छ।’

रिस ब्यबस्थापनको लागि रिस कहाँबाट, के कुराले झट्ट उठ्छ त ? सम्झीराख्नु, जानिराख्नु आवश्यक हुन्छ । रिस उठेको बेलामा मलाई रिस उठेको छ भनेर याद गर्ने र ५–(६ पटक सम्म लामो स्वास लिंदै छोड्दै गर्यो भने रिस कम हुने गर्दछ । तर आफुलाई रिस उठिराखेको छ भनेर चिन्तन गर्नतर्फ दिमाग लाग्दैन र पो !  अनि बिस्तारै आफुलाई रिस उठेको कुरा सम्झिन लाग्दा, सोंच्दै जाँदा यसको बानी किन नपर्ला र? परिहाल्छ नि ! यस्तो बानीले आफूलाई पनि हानी गर्दैन र अरुलाई पनि । एक अनुसन्धानकर्ताका अनुसार डायरी लेखेर रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका बताइएको छ । के कुराले आक्रोशित बनाएको छ त ? त्यसलाई एउटा डायरीमा टिपोट गर्ने र रिसको कारण पत्ता लगाई आफ्नो सोंच र भावनालाई डायरिमा लेख्न सकिन्छ । यस्तो बानीले रिसाएर उत्तेजित हुनुको कारण बुझी यसको नकारात्मक आवेगलाई समेत समाधान गर्न सहयोग पुर्याउँछ ।

त्यस्तै, छिटो–छिटो रिसाउने र लामो समयसम्म रिसाइराख्ने बानी भएका मानिसहरूले एरोविक व्यायाम गर्दा उक्त बानी सुधार्न मद्दत पुग्दछ । भनिन्छ, एरोविक कसरतले सेरोटोनिन (खुशी बनाउने हर्मोन) उत्पादन गर्न सहयोग गर्दछ । दिनहुँ यस्तो व्यायाम गर्दा हृदय रोगमा साथै अन्य धेरै रोगबाट बच्न सकिन्छ ।

के हो त एरोबिक व्यायाम (कसरत)?

यो एउटा शारीरिक गतिविधि हो । जसले शरीरका प्रत्येक अंगलाई चलायमान बनाउने,  धेरै मांसपेशीहरुलाई सक्रिय बनाउनुको साथै श्वाशप्रश्वास प्रणालीको गतिमा सहजता प्रदान गर्दछ ।  यसमा बिहान साँझ हिंड्नु (अझ लम्किदै हिंड्नु), दगुर्नु, उफ्रिनु, पौडी खेल्नु, गीत सुन्नु र नाच्नु, ध्यान गर्नु, साइक्लिङ गर्नु, सिंढी चढ्नु, उठबस गर्नु लगायतका कुरा एरोविक व्यायाम अन्तर्गत पर्दछ्न् । यसले हृदय रोग, ब्लड प्रेसर कम गर्नुका साथै मानिसलाई तनाब मुक्त गराउन पनि फाइदा गर्ने गर्दछ ।

अतः रिस नियन्त्रणको लागि कसैले भनेको कुरा मनमा (इख) नलिने, चित्त नबुझ्ने कुराको छलफल प्रती ध्यान नदिने, रिस उठेको कुरा थाहा पाई लामो–लामो श्वास लिने छोड्ने, आफूले गरिराखेको काममा के गरिराखेको छु भनेर चिन्तन गर्ने, व्यायाम गर्ने, सोंचेर जवाफ फर्काउने तथा बहस गर्ने, आरोप प्रत्यारोपण गर्ने बानी हटाउने, म किन रिसाए त ? नरिसाई यो समाधान हुँदैन र? भनेर सेल्फ टक गर्ने बानिको विकास गर्न सकेमा रिस नियन्त्रण गर्न सकिन्छ ।

उसो त म पनि बेलाबखत रिसाउने मान्छे। रिसले आफुलाई खान्छ। अब रिसालु बानी सुधारौं है !

(लेखिका भुमिकास्थान न.पा.,अर्घाखाँचीमा कायर्रत छिन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment