Comments Add Comment

कोरोनाले बढायो विद्युतीय कारोबार, कुन माध्यमबाट कति ?

१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछाडि विद्युतीय कारोबारमा आकर्षण बढेको छ । कोरोनाका कारण बैंकसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठेरो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको हो ।

पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरणमा सर्वसाधारण अभ्यस्त हुनुको कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

विद्युतीय कारोबार सहज भए पनि प्रविधिमा सर्वसाधारण अभ्यस्त नहुँदा यसको कारोबार राम्रो हुन सकेको थिएन । कोभिडपछि भने बाध्यात्मक अवस्था भएका कारण पनि विद्युतीय कारोबार बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । पछिल्लो समय सर्वसाधारणहरुमा प्रविधिको प्रयोग बढ्दै गएको उनले बताए ।

पछिल्लो तथ्यांकले प्रविधिका सबै प्लाटफर्महरुमा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको देखाउँछ । राष्ट्र बैंकका अनुसार साउन महिनामा एटिएमबाटमात्रै ४७ लाख ६९ हजार ३ सय ४० वटा कारोबार भएका छन् । जसबाट ३८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा डेबिट कार्डबाट पनि राम्रै कारोबार भएको छ ।

साउन महिनामा मात्रै डेबिट कार्डबाट ५४ लाख २६ हजार ३ सय ६८ वटा कारोबार मार्फत ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना असारमा भने डेबिट कार्डबाट ३३ लाख १६ हजार ५ सय ५४ कारोबारमार्फत २५ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो ।

यसैगरी क्रेडिट कार्डबाट हुने कारोबारमा पनि राम्रै वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा क्रेडिटकार्डमार्फत ७० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । असार महिनामा क्रेडिट कार्डबाट ५८ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस्तो छ साउन महिनाको कारोबार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment