Comments Add Comment

सरकारलाई यातायात व्यवसायीको पत्र-आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याइयोस्

१२ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन लिखित माग पेस गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्था हटाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले हस्ताक्षर गरेको पत्रमा कोभिड-१९को महामारीले थलिएको सार्वजनिक यातायात क्षेत्रलाई थप पीडित बनाउने निर्णयहरु खारेज गर्न माग गरिएको छ । व्यवसायीले यातायातधनी र यात्रुलाई अन्याय हुने गरी आधा सिट मात्रै यात्रु राख्ने र ५० प्रतिशत बढी भाडा लिने निर्णय गरिएको भन्दै तुरुन्तै साविककै व्यवस्था लागू गर्न माग गरेका छन् ।

महासंघका महासचिव सरोज सिटौलाका अनुसार दशैंमा यात्रुको आवागमन सुरु अघि यस्तो व्यवस्था खारेज गर्न सरकारलाई भनिएको हो । ‘आधा सिटमा मात्रै यात्रु राख्ने व्यवस्थाले लामो दुरीका सार्वजनिक सवारीले सञ्चालन खर्च पनि उठाउन सक्दैनन्,’ उनले भने, ‘अहिले त हामी ६ महिना थन्किएका बसलाई चुस्त बनाउन घाटा सहेरै भएपनि चलाइरहेका छौं, सबैं यसरी सकिँदैन ।’

यातायात व्यवस्था विभागले अगि्रम टिकट बुकिङ खुलाउनेबारे आइतबार गरेको छलफलमा पनि व्यवसायीले पहिला आधा सिटमा मात्रै यात्रु राख्ने निर्णय सच्याउन माग गरेका छन् । आफूहरु दशैंमा यात्रुलाई सहज र सुरक्षित सेवा दिन तयार भए पनि घाटा सहेर सेवा दिन सक्ने अवस्था नभएको तर्क व्यवसायीले गरेका छन् ।

आधा सिटमा ५० प्रतिशत मात्रै भाडा बढी लिएर लामोसमयसम्म यात्रु ओसार्न नसकिने भएकाले सरकारले नयाँ निर्णय लिएर दशैंमा सेवा दिने वातावरण बनाउनुपर्ने माग उनीहरुको छ ।

व्यवसायीहरुले यस्तो माग अघि सार्नुको कारण हो, सरकारले वायुसेवा र सार्वजनिक यातायातमा लिएको दोहोरो नीति । आन्तरिक वायुसेवा दिने विमानहरुलाई सरकारले सिटभरि यात्रु बोक्न छुट दिएको छ । बसहरुले मात्रै आधा सिटमा यात्रु बोक्नुपर्ने नियम विरोधाभाषपूर्ण भएको व्यवसायीको ठहर छ ।

महासंघका महासचिव सिटौला आन्तरिक वायुसेवा र बसमा पूर्ण क्षमतामा यात्रु चढाउनुबीच कुनै अन्तर नभएको तर्क गर्छन् । ‘आन्तरिक हवाई उडानमा यात्रुबीच दूरी समस्या होइन भने बसमा मात्रै किन त्यो नियम लगाउने ?’ सिटौला भन्छन्,’हामी विमानका यात्रु र वायुसेवा सञ्चालकले जे-जे मापदण्ड पुरा गर्छन्, त्यो पालना गर्न हामी पनि तयार छँदैछौं ।’

सरकारले बीच बाटोमा यात्रु हाल्न नपाउने नियम बनाउनुपर्ने र त्यसमा कडाइ गर्नुपर्ने माग व्यवसायीको छ । सरकारले विमानमा पनि पीसीआर गरेर चढ्ने नियम बनाएको छैन । त्यसैकारण भौतिक दूरी पालना बसमा मात्रै लागू हुनुपर्ने सरकारी निर्णय अब्यवहारिक र तर्कसंगत नभएको सिटौला बताउँछन् ।

दशैंमा यात्रुको चाप बढ्नसक्ने भएकाले सरकारले लगाएको नियम पालना गर्न कठिन हुने अवस्था आउने तर्क व्यवसायीको छ । विगतमा पनि दशैंका बेला यात्रुले कोचाकोच गरेर यात्रा गरेको र अहिले आधा मात्रै सिट क्षमता यात्रु बोकेर सेवा दिन बसको संख्या नै पर्याप्त नहुने तर्क उनीहरुको छ ।

सरकारी नीतिले यात्रु पनि मर्कामा पर्ने भन्दै व्यवसायीले दशैंअघि नै सरकारले यो मुद्दालाई सल्ट्याउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment