+
+
Shares

एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १३:१७

१३ असोज, काठमाडौं । अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्दछ ।’

एसईईका लागि ४ लाख ८२ हजार ९८६ विद्यार्थीले जनही ५०० रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए । यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार रुपैयाँ उठाएको देखिन्छ ।

परीक्षा सुरु हुनु भन्दा एक दिन पहिले ५ चैतमा सरकारले परीक्षा स्थगित गरेको थियो । २८ जेठमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिको आधारमा परीक्षार्थीको मूल्यांकन गरियो । महासंघका अध्यक्ष भण्डारी भन्छन्, ‘विद्यार्थीले परीक्षा दिन्नौं भनेको होइन सरकारले स्थगित गरेको हो ।’

एकातिर विद्यार्थीसँग दिँदै नदिएको परीक्षाको शुल्क लिएको सरकारले विद्यार्थीसँग एसईई प्रमाणपत्रको जनही २५० रुपैयाँ लिनु जायज नभएको भण्डारी बताउँछन् । उनी भन्छन्, ‘यदि, वा, तर भन्ने कुरै छैन परीक्षा शुल्क अबिलम्ब फिर्ता हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?